नेपालगञ्जमा नयाँ ढंगबाट कन्ट्याक्ट ट्रेसिङ गरिदै

प्रियास्मृति ढकाल
नेपालगञ्ज २४ बैशाख । नेपालगञ्जको एउटै वस्तिका २३ जनामा कोरोना संक्रमण देखिएपछि नेपालगन्ज आएको विश्व स्वास्थ्य संगठनसहितको स्वास्थ्यकर्मीको टोलीले आज बुधबार विहानदेखि पुनः कन्ट्याक्ट ट्रेसिङमा जुटेको छ ।

संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्दा हिंजो ५६ जनाको थ्रोट स्वाव संकलन गरिएको थियो । उक्त टोली आज विहानैदेखि कन्टयाक्ट ट्रेसिङमा जुटेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार टोलीले मध्यान्ह १२ बजेसम्म कन्टयाक्ट ट्रेसिङगरी त्यसको लिस्टिङ गर्ने र दिउँसोदेखि पुनः थ्रोट स्वाव संकलन गर्नेछ । शुक्रबार ६० बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि उनैलाई पछ्याउनेक्रममा ९४ जनाको स्वाव परीक्षणमा २२ जनामा कोरोना पोजेटिभ देखिएको थियो । तर ति ६० बर्षीय पुरुषको परिवारका कुनैपनि सदस्यमा कोरोना पोजेटिभ नदेखिएपछि विश्व स्वास्थ्य संगठनको विज्ञ टोलीले थप नयाँ ढंगबाट कन्टयाक्ट ट्रेसिङ गरिरहेको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ का ६० बर्षीय पुरुष वडा नं. ८ जोलहनपुरुवामा रहेको मस्जिदमा नमाज पढ्न जाने र त्यही ठाउँमा रहेको मदरसामा पढाउन जाने गरेको तथ्यका आधारमा उनले नै संक्रमण फैलाएको आंशका गरिएको थियो । तर उनको परिवारका सबै ६ सदस्यमा कोरोना नेगेटिभ देखिएपछि पहिलो संक्रमित अरु नै थिए कि ? भन्ने आंशकामा अनुसन्धान सुरु भएको हो । कोरोना रोकथाम तथा नियन्त्रण, संक्रमितको कन्टयाक्ट ट्रेसिङ र स्वाव संकलनलाई प्रभावकारी गराउन स्थानीय प्रशासनले तीन दिनका लागि हिंजोदेखि नै नेपालगन्जलाई निषेधित क्षेत्र लागू गरिसकेको छ ।