रेशम खड्का
तुलसीपुर, २३ बैशाख । लकडाउनलाई थप प्रभावकारी बनाउने सन्दर्भमा संघीय सरकार, स्थानीय सरकार र प्र्रदेश सरकार लागिरहेको अवस्थामा दाङका बैंकहरुमा भीडभाड बढ्दो छ । खासगरी पेन्सन लिने र राज्यले सामाजिक सुरक्षाअन्तर्गत बितरण गर्ने भत्ता लिनका लागि बृद्धबृद्धा र एकल महिलाहरुको बंैक अगाडि अत्यधिक भीड देखिएको छ । दैनिकरुपमा छोटो अवधिमा मात्र सेवा प्रबाह गर्ने भएका कारण अन्य सेवाग्राहीहरुसमेत एकै पटक थपिने भएका कारण पनि भीड बढ्दो छ ।
पानी परिरहेको अवस्थामा बैंकमा लाइन लाग्दा सामाजिक दूरी कायम गर्न सम्भवै थिएन । सधै सकसको अवस्था छ, जोखिममा रहेका बृद्धबृद्धाहरुलाई । तुलसीपुर बजारमा अहिलेको तनाव भनेको सामाजिक सुरक्षा भत्ता वितरण ।
नातिहरुलाई समेत लिएर उनीहरु बैंकको लाइनमा छन्, स्थानीय वडा सरकारले बसको व्यवस्थापन पनि गरेको छ, तर उनीहरुबाटै भाडा लिनेगरी । जसका कारण सामाजिक सुरक्षा भत्ता लिनेहरुले नै संक्रमणको जोखिम फैलाउने हुन् कि भन्ने आम बजारबासीहरुमा जिज्ञासा शुरु भएको छ । स्थानीय सरकारलाई विकास निर्माणको चटारो छैन, चाहिनेभन्दा बढी कर्मचारी राखिएको छ । धेरै कर्मचारीहरुलाई वडा सरकारले विदा दिएको छ । तर पनि बुढाबूढीहरुलाई सामाजिक सुरक्षा भत्ताले असुरक्षा मात्रै बढाएको छ । यो सन्दर्भमा निजी क्षेत्रका बैंकहरु समेत तनावमा छन् । किनकि उनीहरु पनि लकडाउनको अवस्थामा साताभरी चलायमान छैनन् । सिद्धार्थ बैंकमा मंगलवार अत्यधिक भीड देखिएको थियो, सँगैको एभरेष्ट बैंकमा पनि त्यस्तै । तुलसीपुरकै साइन रेसुंगा बैंक र ग्लोवल बैंकमा पनि त्यस्तै अवस्था थियो । बैंकमा देखिएको भीडले घरबेटीहरु पनि घरबाहिर निस्कन समस्यामा परेका छन् । घरभाडा असुलीभन्दा पनि कोरोनाको उच्च जोखिममा छन्, घरबेटीहरु ।
तुलसीपुर उपमहानगरपालिकाले सबै सामाजिक सुरक्षा भत्ता सम्बन्धित व्यक्तिको बैंक खातामा पठाइसकिएको जनाएको छ । वडापिच्छे सामाजिक सुरक्षा भत्ता लिनेहरुको व्यक्तिगत खातामा पैसा राखिएको छ । तत्कालै पैसा नलिएको अवस्थामा सामाजिक सुरक्षा भत्ताको व्याज पनि आउँछ तर पनि बैंकमा किन भीडभाड ? ‘सहजीकरण र समन्वयका सवालमा केही समस्या देखिएको हो, स्थानीय सरकारले अशक्त र असहायहरुलाई घरमै लगेर भत्ता बुझाउने व्यवस्थापन मिलाउने अभ्यास समेत शुरु भएको छ’, तुलसीपुर उपमहानगरपालिकाका कार्यवाहक प्रमुख नवराज लामिछानेले भने ।
तुलसीपुरका बैंकहरुमा सामाजिक सुरक्षा भत्ता लिनेहरुको भीड नियन्त्रणमा तुलसीपुर रोटरी क्लव, उद्योग वाणिज्य संघ तथा अन्य सामाजिक संघसस्थाहरुसमेत खटिएका थिए । यसमा निजी क्षेत्रका बैंक व्यवस्थापनको समेत कमजोरी देखिएको छ । निजी बैंकहरुले आफूहरु सञ्चालन हुने मिति समेत सार्वजनिक गर्न सकिरहेका छैनन् ।
भीडभाड नगर्न प्रशासनको आग्रह
यसैबीच स्थानीय प्रशासनले शारीरिक दूरी कायम गरी स्थानीय सरोकारवाला निकायहरुलाई आग्रह गरेको छ । बैंक, वित्तीय संस्था, स्वास्थ्य संस्था तथा अन्य दैनिक उपभोग्य संस्थाहरुमा दैनिक सेवाका नाममा भीडभाड बढिरहेको भन्दै यसमा गम्भीर हुन पनि स्थानीय प्रशासनले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले मंगलवार जारी गरेको प्रेस विज्ञप्तिमा सामाजिक दूरी कायम गरी कोरोनाको संक्रमणबाट जोगिन उच्च सतर्कता अपनाउन आम जिल्लाबासीहरुलाई समेत आग्रह गरेको छ ।