दाङ पूर्णखोपयुक्त जिल्ला घोषणा

अमरराज आचार्य
दाङ, १५ असार । दाङलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्लाका रूपमा घोषणा गरिएको छ । हरेक वर्ष जस्तै यो वर्ष पूर्ण खोप जिल्ला घोषणा गरिएको हो । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता जिल्ला हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित दाङलाई पूर्णखोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।

लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्री खेमबहादुर सारु मगरले खोप सुनिश्चितता घोषणा गरेका हुन् । जिल्लाका १० वटा पालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरेपछि जिल्लालाई नै पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो । जिल्लालाई प्रदेश खोप समन्वय समितिले दाङ जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र प्रदान गरेको छ ।

दाङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा सभामालाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्री खेमबहादुर सारु मगरले खोप सुनिश्चिततामा उत्कृष्ट उपलब्धी हासिल गरेको बताए । पूर्णखोप सुनिश्चितता तथा दिगोपना स्वास्थ्य लागि एउटा महत्वपूर्ण आयम भएको उनको भनाई छ । सबै मानिसहरु स्वस्थ भए मात्र देशमा समृद्धि हुने भएकोले लुम्बिनी प्रदेश सरकारले सम्पूर्ण नागरिकमा स्वास्थ्य पहुँच पु¥याउन लागि परेको बताए ।

मन्त्री मगरले मानिसको सबैभन्दा ठुलो सम्पत्ति स्वास्थ्य नै भएको हुँदा यो क्षेत्रमा विभिन्न कार्यक्रम थपिँदै लगेको बताए । आम नागरिक स्वस्थ भए मात्र देशको समृद्धि र विकास हुने भएकाले लुम्बिनी प्रदेश सरकारले सबै नागरिकमा सर्वसुलभ रूपमा स्वास्थ्यको पहुँच पु¥याउनका लागि पहल गरिरहेको उनको भनाई छ ।

पछिल्लो समय हरेक पालिकामा आधारभूत स्वास्थ्यको पहुँच विस्तार भएको हुँदा यसको गुणस्तरिता र दिगोपनालाई ध्यान दिन आवश्यक रहेको बताए । त्यस अवसरमा उजले क्यान्सर बिरामीका लागि दुई लाखसम्मको निःशुल्क उपचारको सुनिश्चितता गरेको समेत जानकारी दिए । तर, रकम दिन सकेमत सरकारलाई समस्या पर्ने थालेको उनले बताए ।

हरेक वर्ष बिरामी बढ्दै जाँदा समस्या हुँदै जाने उनको भनाई छ । नसर्ने रोग बढ्दै गएको भन्दै स्वास्थ्यप्रति सचेत हुनु पर्ने समेत मन्त्री मगरले बताए । यसले ठुलो समस्या ल्याउन सक्नु उनले बताए । ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी अभियानका साथ अगाडि बढ्नु पर्दछ’ मन्त्री मगरले भने । आफ्नो स्वास्थ्यको बारेमा ख्याल गर्न नसक्दा ठुलो समस्या हुने गरेको उनले बताए ।

प्रदेशमा मातृ मृत्युदर, शिशु मृत्युदर, कुपोषणको समस्या रहेको बताए । यसलाई घटाउनको लागि सरकारले काम गरिरहेको उनको भनाई रहेको थियो । मातृ मृत्युदर कुषोण घटाउने सरकारले योजना बनाएर अगाडि बढेको समेत उनले बताए । यसमा सबैको सहयोग रहने समेत बताए । समुदाय र धार्मिक आस्थाको कारणले पनि यसमा प्रभाव परेको उनको भनाई छ ।

अहिले एउटा व्यक्ति एक सय रुपैयाँमा ५६ रुपैयाँ उपचारका लागि खर्च भइरहेको त्यसलाई न्यूनीकरण गर्न सबै लाग्नु पर्ने बताए । नागरिक रोग लाग्नुभन्दा रोग नलाग्न आफ्नो स्वास्थ्य ध्यान दिनु पर्ने मन्त्री मगरको भनाइ छ । यसका लागि खानपिन तथा आफूले गर्ने क्रियाकलापमा समेत सुधार गर्नु पर्ने बताए ।

त्यस्तै मन्त्री मगरले दाङलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना बनाउने लाग्ने सम्पूर्ण जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयंसेविकालाई बधाई एवम् कृतज्ञता व्यक्त गरे । लुम्बिनी प्रदेशका स्वास्थ्य निर्देशक रोशनलाल चौधरीले सरकारले लिएको लक्ष्यअनुसार बालबालिकाले खोप पाउनु पर्ने बताए । यसका लागि सबैले सहयोग गर्नु पर्ने बताए । जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोरकुमार आचार्यको सबैको सहयोगले दाङ जिल्लालाई पूर्णखोप सुनिश्चित गराउन सफल भएको बताए । यसलाइ निरन्तरता दिनु पर्ने उनको भनाइ छ ।

कार्यक्रम खोप समन्वय समिति दाङको संयोजक एवम् जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको अध्यक्षता एवम् लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्री खेम सारु मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा सम्पूर्ण जनप्रतिनिधिको तर्फबाट लमही नगरपालिकाको नगरप्रमुख जोगराज चौधरी, स्वास्थ्य महाशाखाकोतर्फबाट घोराही उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाको प्रमुख राधा पौडेल, सम्मानित व्यक्ति खड्गबहादुर केसी, नेपाल पत्रकार महासंघ दाङ शाखाको अध्यक्ष सन्तोष सुवेदी, महिला स्वास्थ्य स्वयंसेविकाको तर्फबाट महिला स्वयंसेविका बिना खनाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा दाङको दशवटै स्थानीय तहको जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सरोकारवालाको सहभागीता रहेको थियो । कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका खोप फोकल पर्सन भानु ज्योती ओलीले विषयबस्तुका बारेमा जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालय दाङका प्रशासन प्रमुख अधिकृत शरद घिमिरेले गरेका थिए ।
दश स्वास्थ्यकर्मीलाई सम्मान

पूर्ण खोपयुक्त घोषणा सभामा दशजना स्वास्थ्यकर्मीलाई सम्मान गरिएको छ । पूर्णखोप अभियानमा उत्कृष्ट खोप प्रदान गरेको भन्दै स्वास्थ्यकर्मीलाई नगद सहित प्रमाणपत्रले सम्मान गरिएको हो ।

सम्मानित हुनेमा घोराही उपमहानगपालिका वडा नं. ५ धर्ना स्वास्थ्य चौकीका सि.अ.न.मी शान्ता केसी, तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ उरहरी स्वास्थ्य चौकीका सि.अ.हे.व. अधिकृत खड्गबहादुर बस्नेत, लमही नगरपालिका वडा नं. ८ सतवरिया स्वास्थ्य चौकीका सि.अ.न.मि नुमा सुवेदी, राप्ती गाउँपालिका वडा नं. ५ राप्ती आधारभूत अस्पतालका अ.हे.व कन्याकुमारी चौधरी, राजपुर गाउँपालिका वडा नं. ३ बेला स्वास्थ्य चौकीका सि.अ.न.मि निरीक्षक नारायणी जिसी रहेका छन् ।

त्यसैगरेर गढवा गाउँपालिका वडा नं. ५ गंगापरस्पुर स्वास्थ्यचौकीका सि.अ.न.मि निरीक्षक देवा चौधरी, दंशीशरण गाउँपालिका वडा नं ६ दंगीशरण आधारभूत अस्पताका सि.अ.हे.व अधिकृत सीता गौतम, शान्तिनगर गाउँपालिका वडा नं. ४ शान्तिनगर स्वास्थ्यचौकीका सि.अ.हे.व अधिकृत दुर्गाबहादुर केसी, बबई गाउँपालिका वडा नं. ४ हापुरे प्राथमिक अस्पताल अ.हे.व खिमकुमारी पुन, बंगलाचुली गाउँपालिका वडा नं. ४ डावर आधारभूत स्वास्थ्य केन्द्रका अ.न.मी विष्णा नेपालीलाई सम्मान गरिएको हो ।