असारे गीत र धान दिवस एक पर्व

केपी सुवेदी

नेपालमा २०६१ सालदेखि हरेक वर्ष असार–१५ लाई धानदिवस भनेर मनाउने गरिएको छ । आज २२औँ राष्ट्रिय धान दिवस वा रोपाई दिवस् मनाइँदै छ ।

धान दिवसलाई महा उत्सवको रुपमा मनाउन कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गत कृषि विभाग, बाली विकास, संरक्षण तथा प्रवद्र्धन विभागको आयोजनामा धान दिवस मनाउन समिति गठन भएको भनिएको छ ।

हरेक वर्ष यसरी नै दिवस मनाइरहँदा त्यसले दिएको उपलब्धी थप हासिल भएको जानकारी गराइएको थाहा छैन । पहिले–पहिले नेपालमा कृषि कर्ममा निर्भर गर्ने जनसंख्या ८१–प्रतिशत रहेको अनुमान गरिन्थ्यो ।

त्यस्तो अनुमानित तथ्याङ्क जनगणनामा लिएको तथ्याङ्क अनुसार हो भने पनि हिजोको या आजको जहिलेको पनि होस् अनुमानकै आधार हो । आजभोलि कृषिमा आधारित जनसंख्या केवल ६७% भन्न थालिएको छ ।

विभिन्न नारा प्रत्येक वर्ष धान उत्पादन वृद्धि गर्ने प्रतिबद्धता गर्ने गरिएको भए तापनि बाली उत्पादनमा प्रभाव पार्ने धेरै तत्वहरु छन् र ती धेरैजसो मानिसको प्रयासले सुधार गर्न असम्भव पनि छन् तर सम्भावित जो छन् त्यसैका लागि आउन सक्ने चुनौतीको सामना गर्दै व्यवस्थापन गर्न यो वर्षको लागि ‘जलवायु अनुकूलित प्रविधि धान उत्पादनमा वृद्धि’ भन्ने छ ।

नेपालको खेतीयोग्य जमिनको कृषि उत्पादनमा सरकारी नीति योजनाविहीन चलिरहेको छ । माटो, हावा, पानीको उपयुक्त मात्रामा उपलब्धता आदि प्राकृतिक भएर पनि व्यवस्थापन मानिसको हातमा छ । यस बाहेक उन्नत बिउबिजन, आधुनिक कृषिऔजार, मलखादको समयमै सहजरुपमा उपलब्धताले कृषि उत्पादनमा अर्थपूर्ण महत्व राख्छ ।

सरकारले कृषि उत्पादन वृद्धि गर्न योजनाहरु ल्याए पनि वास्तविक किसानले पाउनेभन्दा पहुँचवालाले सजिलै पाउने गर्दा लक्षित वर्ग समुदाय कृषि अनुदान पहुँचवाला र विचौलियाहरुको नियन्त्रणमा रहने हुँदा सरकारको लक्ष्य हासिल हुन्न । कस्तो विरोधाभाष रहेको छ भने सरकारसँग बस्ती विकासको योजना छैन । खेतीयोग्य जमिन कि बाँझो छ कि घर घडेरीमा खण्डित गरिएको छ ।

यसलाई रोक्न सरकारले प्रयास गरेर पनि सफल भएन । बढ्दो सहरीकरणले उब्जाउ जमिनको क्षयीकरण भइरहेको छ । गाउँबाट जमिन बाँझो छोडेर सहर पस्ने जनसंख्या बढ्दै गएको छ । पहाडमा जमिनको उत्पादकत्व कमजोर छ, प्रविधिमैत्री भूगोल छैन, कृषि श्रमिकको अभाव पनि बढिरहेको छ । किनभने युवाहरु सहरबाटभन्दा गाउँबाट विदेश जाने धेरै छन् । यस्तै यस्तै कारणले धान, मकै, गहँु आदि अन्नबालीको उत्पादन घटिरहेको छ ।

पहाडमा उत्पादन हुने मकै, गहुँ, जौं, कोदो, फापर, उवा जस्ता अन्नबाली खाद्यान्नका स्रोत हुन् तर अहिले पहाडमा पनि यातायातको सुविधा बढेपछि चामलको प्रयोग धेरै हुन थालेको छ । त्यहाँको स्थानीय उत्पादन बजारतिर विकृत गर्ने गर्न थालिएपछि खानाको परिकारहरु फेरिएका छन् ।

त्यसैले आजभोलि गाउँको खाना भात बढी पाक्छ तर सहरतिर अरु खानाको चलन बढेको छ । चामलकै प्रयोग धेरै भएर हो, आजभोलि सुगरका बिरामी सहरमा जस्तै गाउँमा पनि बढ्न थालेको पाइएको छ । हुन त सुगर अन्नको परिकारभन्दा बढी गुलियो स्वादका अन्य पदार्थबाट हुने अनुसन्धानले देखाएका छन् ।

उदाहरणको लागि चीनी लगायतका खाद्य पदार्थ सुगर जसलाई चीनी रोग पनि भनिन्छ । केही उदाहरणबाट लिन सकिन्छ कि पहिले जो मानिस धनी,चीनी र भात प्रशस्तै खान पाउने परिवारमा चीनी रोग लाग्थ्यो । त्यो वर्ग समुदायले अहिले त्यस्ता खाद्य पदार्थ खान कम गरिसके र अनुसन्धानबाट पनि चीनी र भात धेरै खानु स्वास्थ्यको लागि वेफाइदाजनक भन्ने थाहा भएको छ ।

परीक्षणको अभावले पहिले थाहा नभएको हो या चामलको प्रयोग धेरै भएर हो, पहाडमा चीनी रोगका बिरामी बढेको पाइएको छ । रोटी, भात, चिउरा, भुजा लगायतका धेरै परिकार बनाएर खाइने मुख्य खानाको स्रोत धान हाम्रो प्रमुख खाद्य बाली हो । सबै नेपालीको घरमा दिनमा एकप्रहर भात पाक्ने हुँदा माग बढेको छ तर त्यसअनुसार उत्पादन बढेको छैन ।

सरकारको तथ्याङ्कले भनेअनुसार हाम्रो उत्पादनले नपुगेर हामीले भारत लगायतका मुलुकहरुबाट दश लाख मेट्रिक्टन धान बराबरको चामलको आयात गर्न परेको र त्यसवापत वार्षिक उन्चालिस अर्ब रुपैयाँ विदेशी मुद्दा भूक्तानी गर्नु परेका छ । त्यसैले यस वर्ष ‘धान बालीमा सघनता खाद्य सुरक्षा र उत्पादनमा आत्मनिर्भरता’ भन्ने नारा सहित केही पुराना धानका प्रजातिको प्रवद्र्धन गर्ने योजना लुम्बिनी प्रदेश सरकारले अगाडि सारेको छ ।

असारे गीत गाउँदै धान रोपाई गर्दै गरेका श्रव्यदृष्यहरु दुर्लभ हुँदै गए । रोपाई गर्दै गर्दा भोक लागेपछि खाजा खाने चलन छ । खाजामा धानबाट बनाइएको परिकार चिउरा दहीमा मुछेर खाने एक स्वादिष्ट खाजा हो । असार १५ को दिनलाई दही चिउरा खाने दिन भनेर यसै कारणले भनिएको होला । अन्य खाद्यबाली यति धेरै महत्व नदिइएकोबाट के बुझिन्छ भने धान हाम्रो प्रमुख खाद्य बाली हो असार महिना धान रोप्ने महिना भएकोले असार १५ लाई धान दिवस मनाउन उपयुक्त ठानिएको हो ।

यसरी महत्वपूर्ण मानिएको धान रोपेर उत्सव मनाउने समयसम्म रासायनिक मलको सहज उपलब्धता हुन सकेको छैन । मलको अभाव हुन दिइने छैन भनियो । अहिले अभाव छैन भन्ने पनि दो¥याइएको छ तर भनेअनुसार सबैले सजिलै मल पाउन सकेका छैनन् ।

परिवारको सबै सदस्यहरुको नागरिकता बोकेर रासायनिक मलको लागि ठाउँ–ठाउँमा चाहारेर पु¥याउनु पर्ने बाध्यताको अन्त्य स्थानीय सरकारले गर्नुपर्छ । धान दिवसको सबैलाई शुभकामना ।