प्रेरणाको विन्दु : दुःखको स्वाद

तुफानबाबु श्रेष्ठ

एकपटक एकजना बादशाह आफ्नो कुकुरको साथमा डुंगामा यात्रा गरिरहेका थिए । डुंगामा अन्य यात्रीको साथमा एकजना दार्शनिक पनि थिए । कुकुले कहिल्यै पनि डुंगामा यात्रा गरेको थिएन त्यसैले उसले केही असहज महसुस गरिरहेको थियो ।

ऊ कहिले उफ्रिने, कहिले बस्ने गरिरहेको थियो र कसैलाई पनि आरामले बस्न दिइरहेको थिएन । डुंगा चालक उसको व्यवहार देखेर हैरान थियो । किनकि यस्तो स्थितिमा यात्रुको हडबडाहतले डुंगा डुब्न सक्थ्यो । ऊ आफू पनि डुब्नेछ र अरूलाई पनि डुबाउनेछ । तर, कुकुर आफ्नो स्वभावको कारण उफ्रिरहेको थियो ।

कुकुरको यस्तो चाला देखेर बादशाह पनि रिसाइरहेका थिए तर कुकुरलाई सुधार्ने कुनै पनि उपाय उनको दिमागमा आइरहेको थिएन । डुंगामा बसिरहेका दार्शनिकलाई यो कुरा सैह्य भएन उनी बादशाह कहाँ पुगेर भने– ‘सरकार यदि तपाई अनुमति दिनुहुन्छ भने म यो कुकुरलाई रुझेको बिरालो बनाइदिन सक्छु ।’

बादशाहले तुरुन्तै अनुमति दिए । तब दार्शनिकले दुईजना यात्रुको सहारा लिएर त्यो कुकुरलाई डुंगाबाट उठाएर नदीमा फ्याकिदिए । कुकुर तैरिरहेको थियो र डुंगाको खुट्टा समाउन खोज्थ्यो । अब उसलाई आफ्नो ज्यान प्यारो लागिरहेको थियो । केही समय पछि दार्शनिकले उसलाई नदीबाट तानेर डुंगामा बसाए ।

कुकुर चुप लागेर गयो र डुंगाको एउटा कुनामा बस्यो । डुंगामा सवार अन्य यात्री सरह बादशाह पनि त्यो कुकुरको बदलिएको व्यवहार देखेर ठुलो आश्चर्यमा परे । बादशाहले दार्शनिकलाई सोधे– ‘यो कुकुर त पहिला उफ्रिएर अनावश्यक हर्कत गरिरहेको थियो अब हेर त यो कसरी पाल्तु जनावर जस्तै बसिरहेको छ ?’

तब दार्शनिकले भने– ‘स्वयम् दुःखको स्वाद नचाख्दासम्म उसलाई विपत्तिको ख्याल आउँदैन । यो कुकुरलाई जब मैले पानीमा फ्याके तब यसले पानीको ताकत र डुंगाको उपयोगिता सम्झिन सक्यो ।’