यम रेग्मी
गिरिराज खनाल शिक्षाको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेको नाम हो । जीवनको ३५ वर्ष लामो शैक्षिक जीवनबाट सेवा अवकाशपछि साहित्यमा ‘पहिलो किरण’ कवितासंग्रहमार्फत् उनको प्रवेश भएको छ । साहित्य जस्तो पवित्र कर्ममा प्रवेश गरेकोमा सर्वप्रथम म कविलाई खुल्ला हृदयले स्वागत गर्दछु ।
‘पहिलो किरण’ कविता संग्रह भ्याउरे तथा वर्णमात्रिक छन्दमा लेखिएका कविताहरुको संग्रह हो । जसमा विभिन्न विषयवस्तुका ५२ वटा कविता रहेका छन् ।
सबै कविता छ श्लोकमा संरचित छन् । यस कविता संग्रहमा एकातिर धेरै कविताहरु झ्याउरे छन्दमा छन् भने अर्कोतिर धेरै मात्रामा वर्णमात्रिक छन्दहरुको प्रयोग पनि भएको पाइन्छ । कविता संग्रहमा समसामयिक विषयवस्तुहरु समेटिएका छन् । केही जल्लाबल्दा ’समसायिक विषयमा लेखिएका कविताका पंक्ति हेरौं ।
समयको गति चिनेर सधैं जो मान्छे चल्दछ
वृक्षमा फल लागेझै मान्छे सुन्दर फल्दछ ।

‘समयको महत्व’ समयको कति महत्व छ भन्ने कुरा कविको माथिको दुई पंक्तिले पुष्टि गर्छ। समय सबैभन्दा वलबान् चिज हो । समयलाई चिनेको मानिसले जीवनमा कहिले पनि दुःख पान्न भन्ने कविको मान्यता छ ।
राष्ट्रका लागि आफ्नो प्राणको आहुती दिने सहिदहरुप्रति कविको उच्च सम्मान छ । यो देशको निर्माता नै सहिद हुन् भने कविको मान्यता रहेको छ । जाली फटाहाहरुले केही समय चमत्कार गरेजस्तो गर्लान् । तर अन्त्यमा सत्यको नै जीत हुन्छ ।
असल मान्छेको ने पूजा हुन्छ भन्ने मान्यतामा कवि ढुक्क छन् । जुन कुरा कविका यी चार पक्तिले पुष्टि गर्छ।
देशको भूमि नै जोगायो
वीरता साहसी देखायो
वीरको मान त्यो लेखियो
स्वर्णरूपी लिपि भेटियो ।
‘सहिद’
आफूले मतदान दिएर पठाएको नेताले आफूले भनेको जस्तो काम नगरेपछि कविमा आकोश छ । असल र खराब नेतालाई हामीले चिन्नुपर्छ । अब हामी झोले बनेर काम छैन । खराब नेतासँग सम्बन्ध टोड्ने कुरा कविताका यी दुई पंक्तिले पुष्टि गार्छन् । स्वदेश लुट्ने दलाल नेता सजाय गरौं न को को छन् त्यस्ता सल्लाह गरी सम्बन्ध तोडौं न ।
‘नेता कस्ता ?’
खनाल मानवतावादी कवि पनि हुन् । उनका कवितामा मानतावादी स्वर प्रशस्त पाइन्छ । समानतावादी दृष्टि पाइन्छ । ‘पृथ्वी साझा घर’ शीर्षकको कवितामा कविका मानवतावादी स्वरहरु यसरी मुखरित हुन्छन्, खाँचो नै सबको रहेछ जगमा
बाँचु मिलेरै यहाँ
यस्तो दिव्य कला अपारहरुमा पाइन्छ होला कहाँ ?
कविको आमाप्रति अथाह श्रद्धा छ । ईश्वरको अर्को रूप आमा हो भन्नेमा कवि ढुक्क छन् । आमाको दुःख कवि यसरी संस्मरण गर्छन्,
तपाईं काम गर्नु नै हुन्थ्यो मलाई सुताई
आउनुहुन्थ्यो पधेराबाट सुनेर रुवाई ।
‘आमा’
कविलाई पिता गुमाउनु परेकोमा अथाह पीडा छ । पिताको भौतिक शरीर आफूमाझ छैन तर पनि स्वर्गीय पिता कविको मनबाट हट्न सकेका छैन । उनी स्वर्गीय बाबुलाई यसरी सम्झिन्छन्,
ए बाबा अहिले तपाईं हुनुभयो आकाशको जून नै
मैलाई किन हो सताउँछ यहाँ सम्झन्छु रोइ अझै ।
‘स्वर्गीय बाबुलाई पत्र’
यसरी हेर्दा के देखिन्छ भने कविका हरेक कविता सामाजिक सरोकारका विषयवस्तुहरु बनेका छन् । समाजमा देखिएका सामाजिक, राजनीतिक, सांस्कृतिक, आर्थिक विषमताले समाजमा उब्जाएका समस्याहरुलाई कविले स्पष्ट
रूपमा सरल तरिकाले प्रस्तुत गरेका छन् । कविमा जीवनवादी दृष्टिकोण छ । मानवतावादी सोच छ । सबै कविता उज्यालोको पक्षमा उभिएका छन् । जाली फटाहा बेमानीहरुलाई खबदारी गरेका छन् । कलिला नानीबाबुहरुका लागि मार्ग दर्शन बनेका छन् ।
ज्येष्ठ नागरिकका लागि आशाका किरण बनेका छन् । युवायुवतीहरुका लागि भरोसा दिने खालका छन् । विपन्न परिवारहरुका पीडा बोलेका छन् । मानिस भएर जन्मनुको अर्थ प्रस्तुत गरेका छन् । धनभन्दा मन ठूलो हो भन्ने कविको मान्यता छ ।
अन्त्यमा, जीवनको उत्तरार्धमा आएर छन्दमा कविता लेख्न सक्नु अत्यन्त प्रशंसनीय कार्य हो । उपदेशात्मकता, अभिधा अर्थ र कतैकतै छन्दको जबरजस्ती प्रयोग भएको देखिन्छ । पहिलो कवितासङ्ग्रह भएकाले यसलाई सामान्य रूपमा लिन सकिन्छ । आगामी दिनहरुमा यो भन्दा पनि अझ उत्कृष्ट कविको कृति आओस् । नेपाली छन्दकविताको क्षेत्रमा कविलाई खुल्ला हृदयले स्वागत गर्दछु ।