पत्र साहित्य चिठी

खगराज न्यौपाने
भाइ रमेश,
शुभाषिश

यहाँ हामी सबै सन्चै छौँ । त्यहाँ अमेरिकामा अध्ययनार्थ गएका तिमी र तिम्रा साथीहरु सबैको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछु । यस पटक तिमीले पठाएको पत्र समय मै प्राप्त भयो । विदेशमा बसेर पनि देशमा के–के गतिविधि भइरहेको छ भनि जिज्ञाशा राखेकामा तिमीलाई धन्यवाद भन्न चाहन्छु । भाइ रमेश, यतिखेर हाम्रो देश कठिन अवस्थाबाट गुज्रिरहेको छ ।

देशको अवस्थालाई देखेर विशेषज्ञहरु चिन्तित देखिन्छन् । विभिन्न अपराधका घटनाहरु देशमा घटिरहेका छन् । देशमा परिवर्तन त आयो तर जनताहरुले के पाए ? केही न केही । हात्ती आयो, हात्ती आयो फुस्सा भने झै भयो । देशमा गणतन्त्र त आयो तर केवल ठुला–ठुला पार्टीका नेताहरुलाई मात्र आयो । आज ती नेताहरुका राजधानीमा आलिसान दरबार छन् । उनीहरुको हैसियत हेर्दा २००७ सालभन्दा पहिलेका राणाजी जस्ता छन् । अर्कोतिर नेपाली जनताको स्तर झन् पछि झन् खस्कदो छ के यही हो गणतन्त्र ।

कदापि होइन । यी नेताहरुले गरेका कुकर्महरुले गर्दा, यीनै नेताहरुले गरेका अपराधिक प्रवृत्तिले गर्दा जनताहरु पीडित भएका छन् । दलीय व्यवस्थाप्रति नै असन्तुष्टि व्यक्त गरेका छन् । त्यति मात्र होइन जनताहरु राजालाई सम्झन बाध्य भएका छन् । सबै पार्टीका ठुला नेताहरु निश्चय नै दण्डका भागीदार बनेका छन् । यिनै नेताहरुले गर्दा जनताहरुको दलीय व्यवस्थाप्रति नै वितृष्णा वढेको छ ।

भाइ रमेश, नेपालमा उद्योग कलकारखाना छैनन् भएका उद्योगहरु जो सत्तामा पुगे उनैले बेचेर खाए भन्ने जन धारण रहेको छ । अब यहाँ कृषि मात्र जीवन निर्वाहको एक मात्र आधार हुन गएको छ तर हाम्रो नेपालमा पहिले धान धेरै फल्ने गथ्र्यो । नेपालका जनतालाई पुगेर बढी भएको धान विदेश निर्यात गरेर आम्दानी बढाउने काम हुन्थ्यो तर अब आएर नेपालमा उत्पादन भएको धानले यहाँका जनतालाई नपुगेर बाहिरबाट आयात गर्नु परेको तथ्य सबैका सामु प्रष्ट नै छ ।

यस्तो अवस्थामा पनि सरकारले मल र बिउ समयमा किसानलाई उपलब्ध गराउन सकेको छैन । हरेक वर्ष यो साल त रासायनिक मलखादको अभाव हुने छैन भनेर फलाक्छ तर खेतीकोबेला सधैभरी मल खादको अभाव भएकै छ । सरकारले न त रासायनिक मलको कारखाना खोल्छ, न त खेतीको समयमा पर्याप्त मल बिउ उपलब्ध गराउन सक्छ । यस्तो सरकारको के कुरा गर्नु ।

सरकारमा बस्नेलाई लाजै छैन । एकत रोजगार दिन नसकेर सारा युवाशक्ति रोजगारका लागि विदेशी ने गरेका छन् । यहाँ बस्नेका लगि पनि उत्पादनमा सुधार ल्याउने कुरामा सरकार मुकदर्शक बनेको छ । जतिभने पनि यो सरकारले बहिराको अभिनय गर्न आफूलाई अग्रपंक्तिमा ल्याउने गरेको छ ।

भाइ रमेश, सत्तामा जाने सबै पार्टीले न्यायालयलाई क्षत विक्षत गराउने गरेका उदाहरण प्रशस्त देख्न र सुन्न पान्छन् । तीनै तहका अदालतले दोषी ठहर गरेका अपराधीलाई हाम्रा पार्टीका नेताहरुले सत्तामा पुगेका बेला निर्दोष भनेर उन्मुक्ति दिएका छन् । रेशम चौधरी र अब्दुल अलाम यसैका ज्वलन्त उदाहरण हुन् ।

भाइ रमेश, अब आउँदो निर्वाचनमा त्यहाँ अमेरिकामा बसेका तिमीहरु सबैजना नेपाल आइ अपराधी प्रवृत्तिका यी सबै नेताहरुलाई परास्त गर्नु पर्ने छ । नत्र भने यिनीहरुले देशलाई झनै क्षत विक्षत पार्ने कुरा निश्चित छ भाइ रमेश, यो छोटो पत्रमा यिनै कुराहरु राखेर बाँकी कुराहरु अर्को पत्रमा लेख्ने बाचा गर्दै यो पत्र यही टुंग्याउन चाहन्छु ।

तिम्रो भलो चिताउने दाजु
खगराज न्यौपाने