मूल्यवृद्धि रोक्न बजार अनुगमन

बालाराम खड्का
तुलसीपुर, २३ बैशाख । तुलसीपुर उपमहानगरपालिकाले मंगलवार बजार अनुगमन गरेको छ । लकडाउनको समयमा दैनिक उपभोग्य सामग्रीको अभाव हुन नदिन तथा मूल्यवृद्धिलाई रोक्न अनुगमन गरिएको तुलसीपुर उपमहानगरपालिका उपभोक्ता तथा हित संरक्षण शाखाले जनाएको छ । तुलसीपुर उपमहानगरपालिका उपभोक्ता तथा हित संरक्षण शाखा, तुलसीपुर उद्योग वाणिज्य संघ, प्रशासन, प्रहरी र जनप्रतिनिधिसहितको टोलीले तुलसीपुरका विभिन्न खाद्यान्न तथा डिपार्टमेन्ट स्टोरहरुमा अनुगमन गरेको हो ।

बिहानको समयमा तुलसीपुर क्षेत्रका विभिन्न ८ वटा पसलमा अनुगमन गरिएको तुलसीपुर उपमहानगरपालिका उपभोक्ता तथा हित संरक्षण शाखाका प्रमुख रेवा रावतले बताइन् । उनका अनुसार दैनिक उपभोग्य सामग्री अभाव नरहेको र मूल्यवृद्धिमा पनि खासै अन्तर देखिएको छैन । बजारका विभिन्न पसलहरुमा म्याद गुज्रेका सामग्रीहरु भने धेरै भेटिएको रावतले बताइन् । ‘लकडाउनको समयमा हुनसक्ने मूल्यवृद्धि र अभावलाई मध्यनजर गर्दै अनुगमन गरिएको हो, यसमा खासै फरक देखिएन्, म्याद गुज्रेका सामग्रीहरु भने धेरै स्थानमा भेटिएन’, रावतले भनिन् । अनुगमन टोलीले तुलसीपुर क्षेत्रका पसलहरुबाट विस्कुट, नमकिन, पेय पदार्थ, दालमोट, चाउचाउलगायतका म्याद गुजे्रका बस्तुहरु जफत गरेको छ । म्याद गुजे्रका सामग्रीहरु जफत गरी ल्याएको र सरोकारवालाहरुको रोहबरमा नष्ट गरिने बताएको छ । त्यस्तै पसलहरुले सामग्रीहरु बिक्री गर्दा विल भने उपभोक्ताहरुलाई नदिने र कतिपय पसलहरुले मूल्यसूचि नै नराखेको पाइएको छ । म्याद गुज्रेका सामग्रीहरु बिक्री गर्ने व्यवसायीहरुलाई पहिलोपटक सजक गराएको र फेरि पनि भेटिए कानुनबमोजिम कारबाही गर्ने रावतले बताइन् ।
यसैबीच उपभोक्ताहरुले भने बजारमा लकडाउनसँगै विभिन्न खाद्यान्नमा मूल्यवृद्धि भएको गुनासो गरेका छन् । उपभोक्ता झगु केसीले केही दिन अगाडि सोयाविन तेलको प्रति ५ लिटरको ग्यालिन ७५० मा लिए पनि हाल ९०० मा आफूले खरिद गरेको बताइन् । त्यस्तै सोना मन्सुली चाम ४ हजार १ सयबाट ४ हजार ८ सय पुगेको बताए । यसैबीच तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष मिनराज भण्डारीले अनावश्यक मूल्यवृद्धि गर्ने व्यवसायीहरुलाई कारबाही हुने बताए । उनले सामान किन्दा बिल अनिवार्य लिनुपर्ने भन्दै यस्तो पाइएमा तत्काल सम्बन्धित निकायहरुलाई सम्पर्क गर्न अनुरोध गरे । ‘खरिद मूल्य २–४ प्रतिशत नाफा खाएर बिक्री गर्नु स्वाभाविक हो, अनाधिकृत मूल्यवृद्धि गर्नु राम्रो होइन, त्यस्ता व्यवसायीहरुलाई कारबाही हुनेछ’, उनले भने । महामारीको यस परिस्थितिमा सबैले सबैलाई सहयोग गर्नुपर्ने उनको भनाइ छ । अनुगमनमा तुलसीपुर उपमहानगरपालिकाका सूचना अधिकारी बावुराम न्यौपाने, इलाका प्रशास कार्यालयका सूचना अधिकारी यादवप्रसाद भुसाल, जनप्रतिनिधि सुरेश श्रेष्ठ, तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष मिनराज भण्डारी, इलाका प्रहरी कार्यालय, पत्रकाहरुसहितको टोलीको सहभागिता थियो ।