समीक्षा : बाको अनुहार

नारायणप्रसाद श्रेष्ठ

प्रजातान्त्रिक संस्कारभित्र खेल्दै हुर्कदै गरेका विपुल पोख्रेल, दाङ घोराही साविक ५ नं वडा हाल घोराही उ.प.म.हा न.पा. वडा नं १८ महदेवा (अम्बिकेश्वरी मन्दिर नजिक ) बसोवास गर्ने बाबु विनोद पोख्रेल र आमा कमला पोख्रेलको सुपुत्र हुनुहुन्छ । उहाँको जन्म २०३४ साल पौष ९ गते भएको हो ।

बालापनदेखि नै चञ्चल र केही गरु भनी हुटहुटी बोकेका विपुलको अध्ययनको समय बाहेक धेरैजसो समय पत्रकारिता क्षेत्रमा बितेको इतिहास छ । केही समय राजनैतिक क्षेत्रको प्रजातान्त्रिक धारमा रहे पनि समाजको लागि केही त गर्नैपर्छ भन्ने उहाँको दृढता, उहाँभित्रको प्रतिभालाई समय र उमेर े छेक्न सकेन ।

४० काटेर उमेरले ५ दशक पुग्नै लाग्दा पनि उहाँको बालापनको संस्कार नैतिक आचरण र संस्कृतिभित्र हुर्कदै गरेको उहाँको विचार, संस्कार, बाआमाप्रतिको उहाँको स्नेहले उहाँलाई साहित्य क्षेत्रमा पाइला चलाउन बाध्य बनायो । बाबु विनोद पोख्रेल स्वयम् सक्षम र साहित्यक क्षेत्रका अनुभवी व्यक्तित्व भएकाले पनि होला असल अभिभावकको असल पुत्र भएर उहाँलाई यस अवसरको प्रयोग गर्ने प्रेरणा प्राप्त भएको हुनुपर्छ ।

‘नेपाली कांग्रेसको यात्रा’ शिर्षक पछिको दोस्रो कृति साहित्य फाटको नौलो उपहार बनेर ‘बाको अनुहार’ करिुता संग्रह अन्तत २०८१ साल को अन्तिम घडी, २०८२ सालको पूर्व सन्ध्या २०८१÷१२÷३० मा सामाजिक दर्पणको रुपमा सार्वजनिक भएको छ । राजनैतिक क्षेत्रलाई सुधारात्मक गतिमा लैजान अघि बढेको उहाँको विचार ‘बाको अनुहार’ सामाजिक कोसेली भएर साहित्यक क्षेत्रमा उदाएको छ ।

विवेकशिल विचारका धनी विपुलसँग पत्रकारिताको लामो अनुभव छ । आवाज विहीनको आँखा बनेर समाजमा भए गरेका घटनालाई जस्ताको त्यस्तै जनजनको घर दैलोमा पु¥याउन अथक प्रयास गर्दै पत्रकार महासंघको छाता संगठन पत्रकार महासंघको गरिमामय अध्यक्ष (राष्ट्रले स्वीकारेको उच्च र सम्मानित पद ) पदमा रही अनुभव प्राप्त गरिसक्नु भएका विपुल, राष्ट्रिय सेवामा समर्पित, युवा जमात भित्रका आशा र विश्वासको केन्द्र पनि हुनुहुन्छ ।

वर्तमानमा तरंगिदै गएको राजनीतिप्रति चिन्तित हुँदै राजनीतिभन्दा साहित्य क्षेत्रमा पाइने आत्मसन्तुष्टितर्फ आकर्षित पोख्रेल राजनीति प्रष्ट र जनमुखी हुनुपर्छ, राजनीतिले जनताका आधारभूत परिपूर्ति गर्ने सदिच्छा राखेको हुनुपर्छ भनी मान्यता राख्नु हुन्छ । लेखक पोख्रेल कुशल र क्षमतावान (प्राप्त जिम्मेवारीलाई इमान्दारसँग निर्वाह गर्ने क्षमता) साहासी युवा पनि हुनुहुन्छ ।

नेतृत्व गर्ने क्षमता भएर पनि राजनीतिभन्दा पत्रकारिता, साहित्य क्षेत्र र सामाजिक सेवामा अभिरुची राख्ने विपुल युवा जमातका सुन्दर पौधा पनि हुन् । केन्द्रमा रहँदा बस्दा पत्रकारिता क्षेत्रमा उहाँले पु¥र्याउनु भएको योगदान उल्लेखनीय छ । पत्रकारको सेवा सुविधादेखि उनीहरुको सुरक्षा, हक अघिकार कायम गर्नतर्फ चिन्तन गर्ने पोख्रेलले सरकारलाई ब्युझाउने, कानुनका आधार तयार गर्न काम मा अहोरात्र खटेको देखिन्छ । यसरी सामाजिक क्षेत्रमा सेवा र सहयोग बढाउँदै निस्कलंकित भएर खटनु भएका पोख्रेल भविष्यको आशाको केन्द्र पनि हुन् ।

गोरक्ष राष्ट्रिय दैनिक पत्रिकाका सम्पादक तथा प्रकाशक सुलोचना गौतम (विपुल पोख्रेलको जीवन संगिनी) जो आफैमा सक्षम पत्रकार हुनुहुन्छ, उहाँको उदार र स्नेही मनले, उहाँको सक्रिय सहभागिताले प्रकाशन गरिएको यो कविता संग्रह २०८२ सालको सुरुसँगै बाहिर आएको छ ।

श्रीमती सुलोचना गौतम र बाआमाको सहयोग सद्भाव र उत्साहले साहित्य लेखन क्षेत्रको नौलो विषय (श्रद्धा आदर्श बोकेको अभिभावक प्रतिको न्यानो स्पर्श ) बाको अनुहार नौलो शिर्षक राखी सामाजिक क्षेत्रले सुन्न र रुचाउने विषय बनेर सार्वजनिक हुनु साच्चिकै समाजको लागि नयाँ विषय भएर आएको छ ।

सामाजिक जनजीवनमा डगमगाउँदै गएको संस्कार र संस्कृतिलाई पुनः जिवन्तता दिँदै, हाम्रो सामाजिक धरातलले सिकाएको नैतिकता र अनुशासित जीवन पद्धतिमा डोरिन सबैलाई यसले सन्देश दिएको छ । साहित्यक रचनाभित्र र पस्किएका कविताका विभिन्न शिर्षकलाई कोठाको एकान्त कुनामा रसस्वादन गरी पढने रस स्वादन गर्ने हो भने यसले मनलाई पुलकित मात्र बनाउँदैन जीवनलाई आनन्दको सागरमा डुबुल्की मारेको अनुभूति गराउँछ ।

तसर्थ सामाजिक दर्पण भएर आएको यो कविता संग्रह साच्चिकै सफल हुने हामीले आंकलन र विश्वास गरेका छौँ । कविता सरसती पढ्दा यसमा उल्लिखित विचारले हामी निकै प्रभावित हुन पुग्यौ ।

६४ पेजभित्र समेटिएको ‘आमाको सुर्तादेखि, माटोको गर्व, अक्षर निर्माण, बाको अनुहार, अस्पतालको बेडमा प्रेमिल आँखा, म पनि तिम्रो कित्तामा उभिन्छु ,मन्दिर र म, आर्यघाटसम्म, जम्मा ३० वटा कविताले सिंगारिएको ‘बाको अनुहार’ कविता पढ्दा र यसभित्र उदगार विचारलाई हेर्दा यो कविता संग्रह सामाजिक ऐना भएर बाहिर आएको अबस्था छ ।

जीवन सधै एकनासले गतिशिल हुँदैन कहिले उकाली, कहिले ओराली, दुःखसुख, अध्यारो उज्यालो, यो जीवन चक्र हिजो थियो, आज छ र भोलि पनि भइरहन्छ । चन्द्रमाको शीतलतासँगै सूर्यको रापिलो तेजले निखारिएको जीवन एक पटकको लागि उदाउने र अस्ताउने भइरहन्छ । यो जीवन चक्रको इतिहास हो ।

यसरी समयको गतिसँगै अघि बढेको हाम्रो जीवन बाल युवा र ज्येष्ठ नागरिक बन्दै समाप्त हुने सत्य चित्रण गर्दै साहित्यकार विपुलले आफ्ना भावनालाई सामाजिक धरातलको यथार्थ सत्यलाई उजागर गर्ने कोसिस गरी समाजको लागि साहित्यको नयाँ अध्याय सुरु गर्नुभएको छ । जन्ममरणको प्रक्रियाभित्र रहेर पनि आफूले निर्वाह गर्ने जिम्मेवारी सबैले निर्वाह गर्नैपर्छ ।

जन्मदाता र कर्मदाता प्रतिको जिम्मेवारीमा इमानदारी बन्नै पर्छ भनी सन्देश दिँदै जन्म पछि मर्नु निश्चित छ । यो सत्य कसैले टार्न सक्दैन, भन्दै म बाको छोरा, मेरो छोराको बा म, हुने हुँदा बा प्रतिको दायित्वलाई कसैले भुल्नु हँुदैन । अर्को कुरा जन्म दिने आमाको ममता, त्याग र बच्चाप्रति आमाको चिन्ता, सुर्ता जस्ता कुराले पार्ने प्रभावबारेमा कविताको प्रत्येक पानाभित्र समिक्षात्मक ढंगले विचार सम्प्रेशन गर्दै लेखकले समाजमा देखिएको पछौटेपन, सामन्ती चिन्तन, उठन र जागृत हुन नसकेको हाम्रो सामाजिक धरातल, स्वास्थ क्षेत्रमा देखिएको बेथिति, सरकारको गैरजिम्मेवारीको कारण विदेशी भूमिमा ४५ डिग्री गर्मीमा तड्पिनु परेको हाम्रो अवस्थाबारे लेखकले यस कविताको माध्यम चेतनाको लहर फैलाउन खोजेको देखिन्छ ।

स्वतन्त्र र सार्वभौम भएर पनि कानुनको दायराभित्र खुम्चिनु, नेताको झोले बन्न्, अब म लेख्दीन भन्दै लेखकले राजनीतिको हिलोले लतपतिएका विद्धानप्रति व्यंग गर्दै आमाको खुन चुस्ने प्रति बफादार बनी, हाम्रो, मेरो, उज्यालो दृष्टिकोण फैलाउन अब म लेख्दीन भनी लेखकले निकै पेचिलो किसिमले चोट पुग्ने गरी यहाँ विचार पस्किनु भएको छ ।

जस्तै दुःखकष्ट भएर पनि सडकले जसरी सबैलाई समान भाव देखाएको छ, बटवृक्षले जसरी शीतलता दिन्छ यसैगरी हाम्रो जीवनशैली किन नहुने भनी सचेतना जगाउँदै लेखकले सामाजिक बनोटमा सुधारको बाटो अपनाउन सबैलाई झकझक्याउँदै हिड्न प्रेरणा दिन खोज्नु भएको छ यस कवितामा ।

विश्वयुद्धको त्रासदी पूर्ण वातावरणसँगै हिंसात्मक युद्ध पनि सकियो, अहिले शान्तिको नारा पनि घन्काइँदै छ, तर पनि समाजमा सन्त्राशको बादल मडारिन छोडेको छैन, भनी भन्दै अब पनि नयाँ सोच चिन्तन र विचार उदाउन ढिला गर्नु भनेको आफूले आफैलाई असहज परिस्थितितर्फ धकेल्नु हो भन्दै कविता मार्फत् सबैलाई जागृत गर्न खोज्नु भएको छ ।

जिम्मेवारीको अभावमा समाजमा आउने विपत्ती, बाआमाको स्नेहले छटपटिएको मन को उदगार, कविताको माध्यम जनजागृत गर्दै ‘जीवन कविता हो, परिवेश र परिस्थिति कविताभित्रको यथार्थ हो’ भन्दै जन्मभूमि प्रतिको जिम्मेवारी महसुस गर्न, माटोको गर्व, शिर्षक राखी जन्मभूमि हाम्रो आमा हुन्, यिनको रक्षा अब हाम्रो जिम्मेवारी भन्दै कविता मार्फत् राष्ट्रिय जागरण ल्याउन खोज्नु भएको छ । कविता हाम्रो जीवन दर्शन हो ।

यसभित्र जे पनि हुनसक्छ, गर्न सकिन्छ । समाज सुधारका आवाज उठाउन सकिन्छ । यसभित्र रहेको मधुर रस स्वादन गर्दै, काँडाभित्रको गुलाफको फूल भएर हिड्न जान्नु पर्छ भनी सिकाउँदै मातृभूमि प्रतिको जिम्मेवारी बोध गर्न उत्प्रेरित गर्नु भएको छ ।

यस्तै–यस्तै कविताभित्रको भाव दर्शाउँदै कविले अस्पतालको बेडमा छटपटिएकी आमाको अवस्था र बाले निर्वाह गरेको जिम्मेवारी, बेडमा छटपटिँदै चाउरिएको गाला सुमसुम्याउँदै देखाइएको प्रेमभावबाट छचल्कीएको मोतिका दाना, सकि नसकी चम्चा हल्लाउँदै खाना खाइरहेको वृद्ध आमाको अवस्था, वृद्धवृद्धम बिचको स्नेह, त्यही स्नेह हेरी जीवनले भोग्नु पर्ने परिस्थितिप्रति सुसारे नर्समा परेको प्रभाव अवस्था, नर्समा पर्न गएको असर, यस कविता संग्रहभित्र प्रस्तुत भएका रोमान्चकदेखि दुःखसुख, आरोह अवरोहका अवस्था यहाँ निकै कौतुहलको विषय बनेर छचल्कीएको पाइन्छ ।

कविताको भावसँगै बाको अनुहारमा देखिएको संघर्ष, त्याग, पीडा, व्यथा, क्रान्ति, सिर्जनाका पोका पन्तरा, भविष्यको सुन्दर सपना, सन्तान प्रतिको जिम्मेवारी, जिम्नेवारीले थपेको बोझभित्रको आनन्द, गंगा समान सधै एकनाससँग बगिरहने स्नेह, र स्नेह भित्रको कर्तव्य, यस कवितामा आकर्षक र रोमान्चित ढंगले प्रस्तुत भएको पाइन्छ ।

चाउरिएको चेहराभित्रको बाको खाल्टो परेको आँखाभित्र लुकेको बाको विश्वास, अनुहारमा देखिएको चमक, बाको बच्चा प्रतिको चिन्ता विश्वास, भरोसा, भावी पिढीको भविष्यप्रति देखाइएको आदर्श यहाँ निकै मर्मस्पर्शी ढंगले सजाइएको छ ।

सुनसान जंगलको उकाली चढ्दा निस्कने पसिनाको बुंद, पसिनाले निथ्रुक्क भिजेको शरीरभित्रको चेतना, चैतारीमा विश्राम गर्दा चलेको सिरसिरे हावाको स्पर्श, स्वतन्त्र रुपले हावामा कावा खाइरहेका चराका सुन्दर जोडी, कोयलीको मिठो धुन, ढुकुर जोडीको प्रेमालाप, पसिना ओभाइ सकेपछिको जागर जोश, लाग्छ जीवनको सुखक्षण त्यहीभित्र लुकेको छ ।

यसरी कवि आफ्नो कविता मार्फत् सामाजिक सचेतनाका पुस्पगुच्छा बाटी रहनु भएको छ । उहाँ कविता भित्रको कवि मात्र नभएर उदाउँदो बिहानीको नौलो उपहार भएर उदाउनु भएको छ । कविताको अन्तिम क्षणमा आएर जीवनको उतारचढाब पछि सृष्टिको इतिहास स्वीकार्दै संसार छोड्नु पर्ने अवस्थातर्फ संकेत गर्दै कविताको माध्यम जीवनको गतिलाई सुखान्त र दुखान्तको वातावरण हुने सत्यलाई स्वीकार्दै कवि कविताको बिट मार्दै यो संग्रहलाई सामाजिक क्षेत्रमा प्रेरणाको स्रोत बनोस् भनि अन्तिम कविता ‘म आर्यघाट’ करिुता लेख्दै कविता संग्रहको अन्त्य गर्नुभएको छ ।

कविता सलल बगेको छ । कहीँ कतै नरोकी जीवनको हरेक पाइलामा देखा पर्ने सुखदुःख, अध्यारो, उज्यालो र जीवनले भोग्नुपर्ने सत्यलाई कविले स्वीकार गर्दै कवितालाई मूर्त रूप दिनुभएको छ । यसरी विपुलजीले आफूलाई कविता संग्रह मार्फत् आफ्ना भावना बिछ्याउदै समाजको रूपरेखालाई कोर्न सफल हुनुभएको छ ।

कविको कवित्वप्रति जुन किसिमको भाव हामीले यहाँ प्रस्तुत गर्न खोजेका छौँ, वास्तवमा कविता सरसर्ती पढ्दा हाम्रा मनमा उब्जेका भावना मात्र हुन् । हामी न त समीक्षक, टिप्पणीकर्ता, समालोचक हौ न त आलोचक नै । केवल मनमा उठेका भाव हामीले पस्किएका हौँ । कहीँ कतै हाम्रा विचारले कोही कसैलाई कुनै असर गरे क्षमा माग्दै आफ्ना भनाइलाई बिट मार्ने अनुमति माग्दछु । अन्तमा विपुल जीलाई धन्यवाद दिँदै उहाँको विचारलाई समाजमा ल्याइ पु¥याउन अथक प्रयास गर्ने गोरेक्ष राष्ट्रिय दैनिकका सम्पादक सुलोचना गौतमलाई हार्दिक नमन गर्दछु । जय साहित्य ।