विद्यालयलाई सिकाई किओस्क हस्तान्तरण

बर्दिया, १२ असार । शिक्षामा प्रविधिको पहुँच विस्तार गर्दै बालबालिकाको गुणस्तरीय सिकाइ सुनिश्चित गर्न राधाकृष्ण थारु जनसेवा केन्द्रको पहल तथा प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा श्री सरस्वती माध्यमिक विद्यालय, बारबर्दिया–१, जमुनियामा एक थान सिकाई किओस्क हस्तान्तरण गरिएको छ।

सशक्त बालिका परियोजनाअन्तर्गत प्रविधिमैत्री सिकाइ वातावरणको प्रवर्द्धन गर्दै, शिक्षामा पहुँच, गुणस्तर र विद्यार्थीको सिकाइमा रुचि अभिवृद्धि गर्ने उद्देश्यका साथ किओस्क हस्तान्तरण र औपचारिक समझदारी–पत्रमा हस्ताक्षर सम्पन्न गरिएको हो। कार्यक्रमको सञ्चालन परियोजना संयोजक मनोज पौडेलले गरेका थिए।

कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष खिमानन्द पाठकको अध्यक्षतामा सम्पन्न भएको हो भने प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई बर्दियाका प्रमुख सूर्यबहादुर खत्री रहेका थिए। कार्यक्रममा राधाकृष्ण थारु जनसेवा केन्द्रका सचिव युवराज श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक ममता पाठक, कार्यक्रम अधिकृत सीमा वली, प्लान इन्टरनेशनल नेपालकी प्राविधिक सल्लाहकार शान्ति थापा लगायतको उपस्थिति रहेको थियो।

सो अवसरमा प्रमुख अतिथि खत्रीले प्रविधिको प्रयोगले बालबालिकाको सिकाइ क्षमतामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै यस किसिमका नविनतम प्रविधिमा आधारित सहयोगले विद्यालय स्तरको सिकाइ गुणस्तरमा उल्लेखनीय सुधार ल्याउने बताएका थिए । उनले शिक्षक र विद्यालय प्रशासनको सक्रिय भूमिका आवश्यक रहेकोमा जोड दिए ।

प्रविधिमा आधारित शिक्षण सिकाइ प्रक्रियालाई सशक्त बनाउने उद्देश्यका साथ उक्त सिकाई किओस्क स्थापना गरिएको हो। उक्त किओस्क अन्तर्गत विद्यालयमा सुरक्षित कोठा व्यवस्थापन गरिनेछ, जहाँ विद्यार्थीहरूलाई लक्षित गरी सिकाइ सहजीकरण गरिनेछ। साथै, विद्यालयले इन्टरनेट सुविधासहित किओस्क सञ्चालन, नियमित मर्मत सम्भार, दिगोपन र मूल्याङ्कन व्यवस्थापन समेतको जिम्मेवारी लिनेछ। किओस्क हस्तान्तरणसँगै प्लान इन्टरनेशनल नेपालकी प्राविधिक सल्लाहकार शान्ति थापाले विद्यालयका शिक्षक र विद्यार्थीहरूलाई किओस्क प्रयोगसम्बन्धी आवश्यक अभिमुखीकरण तथा प्राविधिक प्रशिक्षणसमेत दिएका थिए।

कार्यक्रमको समापन चरणमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष खिमानन्द पाठकले मन्तव्य दिंदै विद्यालयमा प्रविधिमैत्री सिकाइ प्रक्रियाको सुदृढीकरणमा किओस्क एक महत्वपूर्ण स्रोत हुने विश्वास व्यक्त गरेका थिए। उनले विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको सहकार्यमा सिकाइ किओस्कको संरक्षण, दिगोपन र प्रभावकारी प्रयोग सुनिश्चित गरिने प्रतिवद्धता व्यक्त गरेका थिए।

राधाकृष्ण थारु जनसेवा केन्द्रका अनुसार, पछाडि पारिएका बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन ल्याउन शिक्षामा पहुँच, प्रविधिको प्रयोग, र सहभागितामूलक सिकाइ प्रणालीलाई प्राथमिकता दिँदै यस्ता पहलहरूलाई निरन्तरता दिइनेछ।