दाङ, १३ असार । नेपाल तरुण दलका केन्द्रीय सदस्य सरोज शाहले दाङ जिल्लामा पार्टीको केन्द्रीय निर्देशन विपरीत पूर्णकालीन सदस्यता वितरण कार्य गरिएको भन्दै आपत्ति जनाएका छन्।
केन्द्रिय सदस्य शाहका अनुसार नेपाल तरुण दलको पाँचौँ महाधिवेशनको सन्दर्भमा २०८१ चैत २० गतेका दिन पार्टी केन्द्रीय कार्यालयले सबै जिल्ला कार्यसमितिलाई वडा, पालिका, प्रदेशसभा क्षेत्र, संघ निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन सम्पन्न गर्न आवश्यक तयारीसहित पूर्णकालीन सदस्यता वितरण गर्न निर्देशन दिएको थियो। सोही निर्देशनको पालना गर्दै २०८१ फागुन २ गते दाङ जिल्ला कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यहरुको समन्वयमा सदस्यता वितरणको कार्यतालिका तयार गरी प्रतिनिधिहरु खटाउने निर्णय समेत गरिएको थियो।
तर, उक्त निर्णय र केन्द्रीय निर्देशनको अवज्ञा गर्दै जिल्ला कार्यसमितिले स्थानीय तहका सम्बन्धित निकायहरुलाई कुनै जानकारी नदिई सामाजिक सञ्जालमार्फत मात्र सदस्यता वितरण बन्द गरिएको जनाइएकोमा केन्द्रीय सदस्य शाहले आपत्ति जनाएका हुन्।
“जिल्ला अध्यक्षले आफ्नो अधिकारभन्दा बाहिर गई केन्द्रीय निर्देशनको उल्लंघन गरेका छन्। यसले अनुशासनहीनता देखाएको छ,” उनले भने। शाहले नेपाल तरुण दलका केन्द्रीय अध्यक्षसमक्ष तत्काल ध्यानाकर्षण गराउँदै सम्बन्धित व्यक्तिलाई कर्तव्यबोध गराउन आग्रह गरेका छन्। उनले पार्टीमा अनुशासन र प्रक्रिया पालना गर्नुपर्नेमा जोड दिएका छन्।