प्रिया स्मृती गजमेर
देउखुरी, १३ असार । लमही नगरपालिका–१ स्थित सुनडबरीमा सञ्चालन गरिएको कटाइ सिलाइ तथा गुडिया बनाउने सिपमूलक तालिमको समापन गरिएको छ ।
कार्यक्रममा लमही नगरपालिका प्रमुख जोगराज चौधरीले सिपको महत्वलाई जोड दिँदै मानिसलाई जीविकोपार्जनमा टेवा पु¥याउने प्रमुख माध्यम सिप भएको बताए ।
‘सिप केवल काम गर्न जान्ने क्षमता मात्र होइन, यो मानिसको आत्मनिर्भरता र जिउने आधार पनि हो’, प्रमुख चौधरीले भने, ‘नगरपालिकाले यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेको छ र आगामी दिनमा प्रभावकारी बनाउँदै लैजाने छ ।’
कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष दामोदर पौडेलले तालिमले स्थानीय महिलामा आत्मविश्वास जागृत गराउने विश्वास व्यक्त गरे । ‘सिप विकासको आधार हो । महिलाले घरमै बसेर आम्दानी गर्न सक्ने खालका तालिम सञ्चालन गर्नुपर्छ’, अध्यक्ष पौडेलले भने ।
यसैगरी लमही नगरपालिका प्रशासकीय अधिकृत महेश थापाले यस्ता खालका तालिम महिलाको आर्थिक सशक्तीकरणतर्फको सशक्त कदम भएको बताए ।
उनले तालिम सकिएको आधारमा प्राप्त सिपलाई व्यवहारमा उतार्न र आत्मनिर्भर बन्न सहभागीलाई आग्रह गरे । एक महिना १५ दिनसम्म चलेको तालिममा स्थानीय महिलालाई कटाइ सिलाइ र गुडिया बनाउने सिप प्रदान गरिएको थियो । सहभागी महिलाले तालिम उपयोगी र प्रेरणादायी भएको प्रतिक्रिया दिएका छन ।
तालिमको प्रशिक्षकमा रुपा रोका, गंगा पुन थापा, वसन्ता थापा रहेका थिए । करिब डेढ महिनासम्म सञ्चालन भएको तालिममा ६८ जना महिलाको सहभागिता रहेको थियो । समापन कार्यक्रममा सहभागी महिलाले बनाएका सामग्री प्रदर्शनीमा राखिएको थियो ।
वडा नं. १ का वडाध्यक्ष दामोदर पौडेलको अध्यक्षता तथा लमही नगरपालिका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यपालिका सदस्य किरण चौधरीले स्वागत गरेका थिए भने वडा सचिव बिन्तिराम चौधरीले सहजीकरण गरेका थिए ।