गोरक्ष समाचारदाता
दाङ, १३ असार । घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रहेको ग्रेट बुद्ध एकेडेमीले यस वर्षदेखि प्लसटु कक्षा सञ्चालन गर्ने भएको छ । २०६५ सालमा स्थापना भएर कक्षा १० सम्म कक्षा सञ्चालन गर्दै आएको एकेडेमीले यो वर्षदेखि प्लसटु सञ्चालन गर्न थालेको हो ।
एकेडेमीले बिहिबार स्कुलमै पत्रकार सम्मेलनको आयोजना गरेर प्लसटु कक्षा सञ्चालन गर्न थालेको जानकारी गराएको छ । कक्षा १२ सम्म सञ्चालन गर्ने अनुमति लिएको ग्रेटबुद्ध एकेडेमीले विज्ञान, व्यवस्थापन, शिक्षा र कानून गरी चार सङ्काय सञ्चालनको तयारीमा रहेको एकेडेमीका प्लसटु संयोजक नविन आचार्यले जानकारी दिएका छन् ।
संयोजक आचार्यका अनुसार एकेडेमीले पहिलो वर्ष विज्ञान र व्यवस्थापन सङ्कायमा ८०÷८० जना, शिक्षा र कानूनमा ४०÷४० जना विद्यार्थी गरेर दुई सय ४० जना विद्यार्थी भर्ना गर्ने लक्ष्य लिएको छ । विज्ञान र व्यवस्थापन सङ्कायमा दुई÷दुई र शिक्षा र कानूनमा एक÷एक सेक्सन चलाउने तयारी गरेको छ ।
समुदायिक विद्यालय अन्तर्गत नारायणपुरमा प्लसटु कक्षा सञ्चालन भए पनि निजी विद्यालयले सञ्चालन गर्न नसकिरहेको अवस्थामा एकेडेमीले विद्यार्थीको सहजताका लागि प्लसटु सञ्चालन गर्न थालेको विद्यालय बताएको छ ।
घोराही क्षेत्रमा रहेका संस्थागत विद्यालयले लिने शुल्कभन्दा कम शुल्कमै नारायणपुरमा गुणस्तरीय शिक्षा प्रदान गर्ने गरी एकैपटक चार वटा सङ्काय सञ्चालनको तयारीमा जुटेको एकेडेमीका प्रधानाध्यापक निमानन्द गैरेले जानकारी दिएका छन् ।
प्रधानाध्यापक गैरेका अनुसार नारायणपुरमा प्लसटुसम्म कक्षा सञ्चालन हुँदा विद्यार्थीलाई एसइईपछि अध्ययनका लागि घोराही र तुलसीपुर क्षेत्रसम्म जान नपर्ने, आर्थिक भार कमसँगै समयको समेत बचत हुने भएकाले विद्यार्थीका लागि उपयुक्त हुनेछ ।
उनले नारायणपुर क्षेत्रमा संस्थागत विद्यालयतर्फ प्लसटु नहुँदा घोराही उपमहानगरपालिका ७, ८, ९, १०, ११ र १२ वडाका विद्यार्थीलाई दैनिक दुई घण्टाको समय लगाएर घोराही र तुलसीपुरसम्म पढ्न जानुपर्ने बाध्यता रहेको भन्दै त्यसको अन्त्य गर्ने गरी आफूहरू लागेको बताए ।
उनले शिक्षालाई गुणस्तरीय र व्यावहारिक बनाउन विद्यार्थीलाई ६० प्रतिशत पढाइ र ४० प्रतिशत प्रयोगात्मक कार्यकलाब गराइ शिक्षण सिकाइ गरिने र त्यसका लागि स्तरीय कम्प्युटर ल्याब, लाइबे्ररी, इ–लाइबे्ररीसँगै विज्ञान प्रयोगशाला भएको जानकारी गराएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजयकुमार शाहको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले नारायणपुर क्षेत्रमा गुणस्तरीय शिक्षाका लागि प्लसटु कक्षा सञ्चालन गर्नु उपयुक्त भएको बताए ।
अध्ययनका लागि विद्यार्थीलाई घोराहीदेखि तुलसीपुरसम्म जानुपर्ने बाध्यता रहेकाले आफ्नै घरछेउमा गुणस्तरीय शिक्षा प्रदान गर्ने गरी सञ्चालन भएको एकेडेमीले विद्यार्थी र अभिभावकको मन जित्दै विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने गरी पढाइमा ध्यान दिनुपर्ने बताए ।
नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले विद्यार्थीको भावनालाई बुझेर प्रविधिमैत्री पढाइमा ध्यान दिनुपर्ने बताएका थिए ।
प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपाने नारायणपुर क्षेत्रका विद्यार्थीलाई गुणस्तरीय र भरपर्दाे शिक्षाका लागि प्लसटु पढाइ हुने विद्यालय चाहिएको भन्दै विद्यार्थी र अभिभावकको चाहना पूरा गर्ने गरी सञ्चालन हुन थालेकाले एकेडेमीलाई पढाइमा ध्यान दिँदै अब्बल विद्यालयका रूपमा स्थापित हुन शुभकामना दिएका थिए ।
कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक दीपकजंग घर्तीले गरेका थिए ।