मुसोटवासीलाई पानीको समस्या : धारो छ, पानी छैन

लिलाधर वली
दाङ, २३ बैशाख । घोराही–लमही सडकखण्डअन्तर्गत पर्ने मुसोटखोला पुलको उत्तरतर्फ सानो बस्ती छ । घोराही उपमहानगरपालिलका–३ अन्तर्गत पर्ने उक्त बस्तीमा ११ घर परिवार छन् । ११ घरमध्ये एउटा घर सपना घर्तीमगरको हो ।

सडकदेखि पश्चिमतर्फ रहेको उक्त घरको आँगनमा खानेपानीको धारा छ । तर त्यो धारामा पानी आउन छोडेको ४ बर्ष बढी भइसक्यो । धारा निर्माण भएको केही बर्षसम्म धारामा पानी आए पनि त्यसपछि नआएको स्थानीय बताउँछन् । धारामा पानी आउन छोडेपछि उक्त बस्तीका मानिसहरुले मुसोट खोलाको पानी खाने गरेका छन् । ‘खानेपानीको धारा त घरको आँगनमै छ तर यो धारा पानी खानलाई होइन हेर्नलाई जस्तै भएको छ’, उनले भनिन्–‘खानेपानीका लागि त मुसोटखोलामै झर्नुपर्छ ।’ उनका अनुसार स्थानीयले खोलाको छेउमै जरुवा बनाएर पानीको गर्जो टार्दै आएका छन् ।

खोलाको किरानामा बनाएको जरुवामा पानी खाँदै आएका उनलाई यो बर्ष पटक–पटक परिरहेको पानीका कारण खोलामा आउने भलले थप दुःख दिने गरेको मुसोट खोलाकै कल्पना बुढामगरले बताइन् । पानी परेपछि खोलामा आउने भलले जरुवा पुरिदिँदा थप समस्या भोग्दै आएको उनले बताइन् । ‘पानी नपर्दा त खोलामा जरुवा बनाएर पानी खाने गरेका छौं’, उनले भनिन्– ‘तर पानी प¥यो भने त खोलामा भल आउँछ, जरुवा नै पुरिदिन्छ ।’ ठूलो पानी प¥यो वा खोलामा पानी संलिएन भने त पानीका लागि ठूलो समस्या हुने गरेको उनी बताउँछन् । सानो बस्तीको आवाज नसुन्ने सरकारको प्रवृतिकै कारण आफूहरुले बर्षेनी भोग्दै आएको खानेपानीको समस्या समाधान हुन नसकेको स्थानीयको गुनासो छ ।

सडक र खोलाको छेउमै बस्ती भए पनि आफ्नो बस्तीले बर्षेनी पानीको समस्या भोग्दै आएको ५५ बर्षीय गोमला थापा बताउँछिन् । ‘सडक छेउकै बस्ती भएकाले यातायातको सुविधा छ’, उनले भनिन्– ‘तर यहाँको सबैभन्दा ठूलो समस्या खानेपानी हो ।’ पहाडमा बस्ती भएकाले इनार खन्न नसकिने र ट्यांकी निर्माण गरेर पानी ल्याउनका लागि बजेट नहुँदा समस्या भएको उनले बताइन् । ‘आजभोलि त खोलामा यताउता गरेर पानी मिल्छ तर असारदेखि भदौसम्म ठूलै समस्या हुने गर्छ’, उनले भनिन्– ‘त्यो बेलामा खोलामा जरुवा खन्न सम्भव हुँदैन, साइकल, मोटरसाइकललगायतका गाडीमा अर्काे गाउँमा गएर पानी ल्याउनुपर्छ ।’ वडा अध्यक्ष माधव चौधरीले भौगोलिक विकटता र सीमित बजेटका कारण उक्त बस्तीमा खानेपानीको समस्या समाधान गर्न नसकिएको बताए ।

मुसोटखोलासँगै सिमलतारा, जुरपानी, सार्कीतारा, रागोतारा, साँझखुटी, चिसापानीलगायत बस्तीहरुमा खानेपानी समस्या रहेको उनले बताए । ‘भौगोलिक विकटतासँगै पहाडी क्षेत्र भएका कारण वडा नं.३ का केही बस्तीहरुमा खानेपानी समस्या छ’, वडा अध्यक्ष चौधरीले भने– ‘बजेट विनियोजन गर्दा सानो बजेटले पुग्दैन, वडासँग ठूलो बजेट छैन ।’ उनले त्यस्ता बस्तीहरुमा खानेपानी समस्या समाधानका लागि घोराही उपमहानगरपालिकासँगै खानेपानी डिभिजन कार्यालयसँग पहल गरिरहेको समेत बताए ।