दंगीशरण स्वस्थ गाउँपालिका मापदण्डको रूपमा छनोट

प्रमोद आचार्य
दंगीशरण, १३ असार । दंगीशरण गाउँपालिका लुम्बिनी प्रदेशमै स्वस्थ गाउँपालिका मापदण्डको रूपमा पहिलो स्थानीय तहको रूपमा छनोट भएको छ ।

नेपाल सरकार स्वास्थ तथा जनसङ्ख्या मन्त्रालय राष्ट्रिय शिक्षा, स्वास्थ्य, सूचना तथा सञ्चार केन्द्र काठमाडौंले लुम्बिनी प्रदेशको दाङ अन्तर्गत दंगीशरण गाउँपालिकालाई स्वस्थ गाउँपालिका मापदण्डको रूपमा छनोट गरेको हो ।

बिहिबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालायको आयोजना तथा दंगीशरण गाउँपालिकाको समन्वयमा स्वस्थ गाउँपालिका मापदण्डसम्बन्धी अभिमुखीकरण तथा छलफलसमेत गरिएको हो ।

अभिमुखीकरण कार्यक्रमको समापन गर्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले लुम्बिनी प्रदेशमै दंगीशरण गाउँपालिकालाई स्वस्थ गाउँपालिकाको रूपमा छनोट गरेकोमा खुसी व्यक्त गरे ।

स्वस्थ गाउँपालिका मापदण्डका धेरैजसो सूचकमध्ये आफूहरू धेरैजसो सूचक नजिक पुगेकाले मन्त्रालयको सहयोग भए लुम्बिनी प्रदेशमै पहिलो स्वस्थ गाउँपालिका घोषणाका लागि आफूहरू प्रतिबद्ध रहेको गिरीको भनाइ छ ।

अभिमुखीकरण गर्नुको उद्देश्य, स्वस्थ पालिका अवधारणाबारे जानकारी गराउन, स्वस्थ पालिका मापदण्डको मस्यौदामाथि छलफल गरी राय सुझाव सङ्कलन गर्न तथा स्वास्थ पालिका मापदण्डको समूह कार्य गर्नका लागि रहेको राष्ट्रिय शिक्षा, स्वास्थ्य, सूचना तथा सञ्चार केन्द्र काठमाडौंका शिक्षा प्रशासक अरुण ज्ञवालीले बताए ।

स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालालाई सशक्त बनाउन, स्थानीय सन्दर्भमा उपयुक्त स्रोत र साधनको उचित व्यवस्थापन गर्न, अन्तर क्षेत्रीय सहकार्यलाई बढावा दिन, तथ्यपरक निर्णय लिन सहयोग गर्न र समुदायको सहभागितालाई प्रोत्साहन गर्न स्वस्थ पालिका मापदण्डको औचित्य रहेको जानकारी दिए ।

स्वस्थ गाउँपालिका मापदण्डको रूपमा सातवटा सूचक रहेका छन् । जसमध्ये समग्र स्वास्थ्य शासन, पालिका स्वास्थ्यमा समता, स्वास्थ्यमैत्री पालिका योजना, स्वस्थ जीवनशैली र सार्वजनिक स्वास्थ्य प्रवर्धन, समुदाय र नागरिक सहभागिता, जलवायु परिवर्तन र स्वस्थ उत्थानशील र आपतकालीन स्वास्थ्य प्रतिकार्य गरी सातवटा सूचकमा रही स्वस्थ गाउँपालिका मापदण्ड हुने विभागका प्रशासक गणेश श्रीवास्तवले बताए ।

स्वस्थ गाउँपालिका मापदण्डसम्बन्धी अभिमुखीकरण तथा छलफल कार्यक्रममा स्वास्थ्यकर्मी जनप्रतिनिधि तथा सरोकारवालाको सहभागिता रहेको थियो । अभिमुखीकरण कार्यक्रम दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको अध्यक्षतामा भएको थियो ।