स्वास्थ्य विषय शिक्षकलाई प्राथमिक उपचार तालिम

गोरक्ष समाचारदाता
सिसहनिया, ११ असार । राप्ती गाउँपालिकाले पालिकाभित्रका सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयमा कार्यरत स्वास्थ्य विषयका शिक्षकलाई लक्षित गरी तीनदिने आधारभूत प्राथमिक उपचारसम्बन्धी तालिम दिइएको छ । राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा वडा नम्बर ५ स्थित राप्ती आधारभूत अस्पताल कालापानीमा सञ्चालन गरिएको हो ।

तालिममा प्राथमिक उपचारको परिचय, घाइतेको प्रारम्भिक जाँच, बेहोसी अवस्थाको उपचार, रक्तश्राव नियन्त्रण, टाउको र मेरुदण्डको चोट व्यवस्थापन, हार्ड भाँचिएको अवस्थामा अपनाउने उपाय, पट्टीको प्रयोग, विषालु जीवजनावरको टोकाइ, वातावरणीय स्वास्थ्य समस्या, घाइतेको सुरक्षित ओसारपसारलगायतका विषयमा जानकारी गराइएको थियो ।

बुधवार सम्पन्न उक्त तालिम समापन कार्यक्रममा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले शिक्षकहरू आपतकालीन अवस्थामा विद्यार्थीको सुरक्षाका लागि अग्रपङ्क्तिमा रहने व्यक्ति भएकाले प्राथमिक उपचारको ज्ञान अत्यन्तै महत्वपूर्ण रहेको बताए । उनले भने, ‘विद्यालयमा पढाउने मात्र होइन, आपतकालीन अवस्थामा विद्यार्थीको जीवन रक्षा गर्नसक्ने ज्ञान शिक्षकसँग हुनुपर्छ ।

हामीले प्राथमिक उपचार तालिमलाई विद्यालयको नियमित आवश्यकता मानेर आयोजना गरेका हौँ, यस्तो तालिमले विद्यालयमा सानातिना दुर्घटना, बेहोसी, चोटपटक जस्ता अवस्थामा तुरुन्त सहयोग गर्नसक्ने वातावरण तयार गर्छ । यस्तो सिप शिक्षकसँग हुनु भनेको विद्यालयमा सङ्कट व्यवस्थापनको क्षमता बढ्नु हो ।’

अध्यक्ष विष्टले गाउँपालिकाले सीमित स्रोत साधनका बाबजुद प्राथमिक उपचार जस्तो उपयोगी विषयमा तालिम प्रदान गरेको उल्लेख गरे । स्वास्थ्य शाखा प्रमुख नारायण राउतले विद्यालयस्तरमै यस्ता तालिम सञ्चालन गर्नु सकारात्मक पहल भएको उल्लेख गरे । उनले भने, ‘आकस्मिक अवस्थामा घाइते वा बिरामीलाई स्वास्थ्य संस्थामा पु¥याउनु अघि विद्यालयमै पूर्वप्राथमिक उपचार गर्न सकिने क्षमता विकास हुनु आवश्यक छ । यस्ता तालिमले त्यही पूर्वतयारीमा सहयोग पु¥याउँछ ।’

उनले बजेट अभावका कारण हाल तालिम माध्यमिक विद्यालयसम्म सीमित गरिए तापनि भविष्यमा आधारभूत तहका शिक्षकलाई समेट्ने गरी योजना बनाइएको जानकारी दिए । तालिममा राप्ती गाउँपालिकाका विभिन्न माध्यमिक विद्यालयका १७ जना स्वास्थ्य विषय शिक्षकको सहभागिता रहेको थियो ।

तालिमको प्रशिक्षकका रूपमा राप्ती आधारभूत अस्पताल कालापानीका मेडिकल सुपरिन्टेन्डेन्ट डा. शरण चौधरी, डा. शमशेर अली र डा. सुरेश घिमिरे रहेका थिए । सहभागी शिक्षकहरू गोविन्द शर्मा र निमा भट्टराईले तालिम अत्यन्त उपयोगी र व्यावहारिक भएको बताए ।

उनीहरूले विद्यालयमा हुने सामान्य स्वास्थ्य समस्यामा तुरुन्त उपचार गर्न सकिने सिप प्राप्त भएको र आगामी दिनमा यस्ता तालिम निरन्तर सञ्चालन हुनुपर्ने बताएका थिए । समापन कार्यक्रमको सहजीकरण राप्ती आधारभूत अस्पताल कालापानीका प्रशासन शाखा प्रमुख तथा जनस्वास्थ्य अधिकृत धनबहादुर खड्काले गेका थिए ।