जन्मदिनमा मृगौला पीडितलाई सहयोग

टेकबहादुर पुन
देउखुरी, १२ असार । लमही चेम्बर अफ कमर्सका अध्यक्ष शीतल भुसालले आफ्नो जन्मदिनमा मृगौला पीडितलाई सहयोग गरेका छन् । जन्मदिनलाई सामाजिक सेवामा समर्पित गर्दै मृगौला पीडितलाई खाद्यान्न सामग्री सहयोग गरेका हुन् ।

बुधवार अध्यक्ष भुसाल मृगौला पीडित करमलाल चौधरीको परिवारलाई सहयोग गर्न खाद्यान्न लिएर लमही–९ तेलिया पुगेका थिए । उनले खाद्यान्न सामग्री अन्तर्गत चामल, दाल, नुन, तेल उपलब्ध गराएका हुन् । अध्यक्ष भुसालले जन्मदिनमा खर्च हुने रकम समाज सेवामा लगाएर पीडितलाई राहत पु¥याउने बताए । समाजमा विभिन्न स्वास्थ्य समस्याबाट पीडित नागरिकको अवस्थालाई बुझेर सहयोग गर्ने संस्कृति विकसित हुनुपर्ने बताए ।

दुवै मृगौला प्रत्यारोपणका लागि १५ देखि २० लाख चाहिने भएपछि पैसा नहुँदा मृगौला प्रत्यारोपण गर्न नसकिएको पीडित चौधरीले बताए । चौधरीले तीन वर्षदेखि लमहीमा रहेको सामुदायिक डायलाइसिस सेन्टरमा उपचार गराइरहेका छन् ।