गोरक्ष समाचारदाता
दाङ, १२ असार । दाङको बेलझुण्डीस्थित संस्कृत विश्वविद्यालयमा ‘ग्लोबल योग समिट नेपाल’ हुने भएको छ । आउँदो असोज २५ गतेदेखि तीन दिनसम्म सञ्चालन हुने उक्त योग समिटमा विश्वका ५० बढी देशका योग गुरु, योग साधकको सहभागिता रहने भएको छ ।
उद्घाटन कार्यक्रममा १० हजार बढी मानिसको सहभागिता गराउने योजना रहेको छ भने समापनमा पाँच हजारको सहभागिता रहनेछ । विभिन्न कार्यपत्र, योग साधनासम्बन्धी स्टल, जातीय खाना, जातीय पहिरण, झाँकीसहित ¥याली, स्टल, सांस्कृतक कार्यक्रमसहित योग महोत्सवकै रूपमा ‘ग्लोबल योग समिट नेपाल’ कार्यक्रमको आयोजना गरिने मुल आयोजक नेपाल संस्कृत विश्व विद्यालयले जनाएको छ ।
कार्यक्रम अन्तगर्त पोखरा, काठमाडौं, लुम्बिनीमा थप कार्यक्रमहरूको आयोजना गर्ने तयारी गरिएको छ । लुम्बिनी प्रदेशकै गौरवको कार्यक्रमका रूपमा हेरिएको योग समिटलाई भव्य एवम् व्यवस्थित बनाउन एक सर्वपक्षीय मुल आयोजक समिति गठन गरिएको छ ।
नेपाल संस्कृत विश्वविद्यालयको आयोजनामा हुन लागेको योग समिटलाई भव्य बनाउन नेपाल संस्कृत विश्व विद्यालय अनुसन्धान केन्द्रका प्राडा सुधनकुमार पौडेल संयोजक, पतञ्जली योग समिति लुम्बिनी प्रदेशका अध्यक्ष प्रेम शाह सहसंयोजक, डा. भोलानाथ योगी सहसंयोजक एवं वैश्विक समन्वयकर्ता, सचिवमा प्राध्यापक अरुण अर्याल, कोषाध्यक्षमा अडिटर सुवोध रेग्मी छन् ।
यसैगरी मुल समितिमा पत्रकार एवम् साहित्यकार सविन प्रियासन, ई अनन्त घिमिरे, विश्वविद्यालयबाट एक जना, पतञ्जली योग समितिबाट तीन जना, आचार्य गुरुकुलम दाङबाट एक जना, पतञ्जली योग समिति दाङबाट एक जना, महिला पतञ्जली योग समितिबाट एक जना, बयलडाँडा चौतारी क्लब, नमस्ते स्वास्थ्य अभियान, प्रातः परिभ्रमण, ओम शान्ति, सबै उद्योग वाणिज्य संघहरू, दशवटै पालिकाका प्रतिनिधि, नेपाल पत्रकार महासंघ दाङ, जिल्लाका स्थानीय सबै सञ्चारमाध्यम, प्याब्सन, एनप्याब्सन, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, जिल्लाका सबै क्याम्पसका प्राचार्य, जिल्लाका चर्चित सबै धार्मिक स्थल, राप्ती साहित्य परिषद्, नागरिक समाज दाङ, जेसीज, लायन्स, रोटरी क्लब, युवा समिति नेपाल, ज्येष्ठ नागरिक जिल्ला संघ दाङ, विश्व हिन्दू महासंघ दाङ, त्रिसिद्धेश्वरी यातायात प्रालि रहेका छन ।
होटल व्यवसायी समिति, बेलझुण्डी क्षेत्र व्यवस्थापन समिति, ओम जप ध्यान समिति, खेलकुद विकास समिति, विश्व हिन्दू परिषद्, पतञ्जली योग सांस्कृतिक समिति रहेका छन् । यसैगरी मुल समितिको राष्ट्रिय सल्लाहकारमा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा धनेश्वर नेपाल, संस्कृत विश्वविद्यालयकै शिक्षाध्यक्ष, संस्कृत विश्वविद्यालयका कुलसचिव प्रा माधव अधिकारी, पतञ्जली योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी लवदेव मिश्र, महिला पतञ्जली योग समिति नेपालका केन्द्रीय प्रभारी साध्वी देवादिति रहेका छन् ।
यसैबिच ‘ग्लोबल योग समिट नेपाल’लाई भव्यरूपमा आयोजना गर्न बुधवार विश्वविद्यालयमै आयोजित छलफल कार्यक्रममा बोल्ने वक्ताले नेपालकै सान हुने गरी कार्यक्रम आयोजना गरिनुपर्ने सुझाव दिएका थिए । सो अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशी, बयलडाँडा चौतारी क्लबका अध्यक्ष नारायण भुसाललगायतले योग समिटलाई भव्य बनाउन विभिन्न सुझाव दिएका थिए ।
मुल समितिका संयोजक प्राडा सुधनकुमार पौडेलको अध्यक्षतामा आयोजित छलफल कार्यक्रमले योग समिटलाई व्यवस्थित र भव्य बनाउन विभिन्न नौ वटा उपसमिति गठन गरिएको छ । छिट्टै नै समिति र उपसमितिको वैठक बसालेर व्यवस्थित कार्ययोजना बनाइने आवास व्यवस्थापन उपसमितिका संयोजक किशोरचन्द्र गौतमले जानकारी दिए ।