प्रमोद आचार्य
दंगीशरण, १२ असार । दंगीशरणमा किसानलाई बाख्र वितरण गरिएको छ । आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम ‘भोकालाई एक छाक भोजन होइन, जिउने जुक्ति सिकाऔँ’ भन्ने मुल उद्देश्यले कृषि विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता विकास साझेदारी परियोजना अन्तर्गत किसानलाई बाख्रा वितरण गरिएको हो ।
पहिलो पुस्ता बाख्रा उपहार कार्यक्रम दंगीशरण गाउँपालिका–१ बाँकीमा वितरण गरिएको छ । दंगीशरण गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग एवम् नेपाल महिला सामुदायिक सेवा केन्द्र घोराहीको आयोजनामा बाख्रा वितरण गरिएको हो । साझेदारी परियोजनाको एक करोड ८० लाख र गाउँपालिकाको चार करोड २० लाख गरी छ करोडको त्रिपक्षीय सम्झौतामा गाउँपालिकामा कृषि र पशुको क्षेत्रमा काम भइरहेको गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताए ।
३५ सय घरधुरीका परिवारमा कृषि र पशुको क्षेत्रमा काम भइरहेको गाउँपालिका अध्यक्ष गिरीले बताए । गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले बाख्राको राम्रो पकेट क्षेत्र रहेको दंगीशरण १ र २ नं वडामा बाख्रा उपहार वितरणले पशु कृषि पालकलाई सहयोग पुग्ने बताइन् । आर्थिक सशक्तीकरणसँगै सीमित स्रोत साधनको अधिक्तम प्रयोग गर्न परियोजनाले काम गरिरहेको साझेदारी परियोजना हेफर प्रोजेक्ट नेपालका क्षेत्रीय कार्यक्रम प्रबन्धक प्रकाश केसीले बताएका थिए ।
वडा नं. १ मा गठित लगनशील महिला समूह र गुलाव महिला समूहका महिलाले परियोजनामार्फत् पाएका बाख्राबाट उत्पादन भएका पहिलो पुस्ता बाख्रालाई लालिगुराँस महिला समूह र हिमाल समूहका गरी २५÷२५ महिलालाई उपहार स्वरूप बाख्रा वितरण गरिएको हो । दंगीशरण गाउँपालिका, हेफर प्रोजेक्ट नेपाल र नेपाल महिला सामुदायिक सेवा केन्द्र घोराहीको त्रिपक्षीय साझेदारीमा सञ्चालित परियोजनाले गाउँपालिकामा ४६ महिनाका लागि काम गर्नेछ ।
पहिलो पुस्ता बाख्रा उपहार कार्यक्रम लगनशील महिला कृषक समूहका अध्यक्ष हिरा वलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपाली, दंगीशरण–१ का वडाध्यक्ष रमेश भण्डारी, वडा नं. ३ का वडाध्यक्ष सुकलाल चौधरीलगायतले मन्तव्य राखेका थिए । हिमाल समूहका अध्यक्ष हरिकला डाँगीको स्वागतबाट सुरु भएको कार्यक्रमको सहजीकरण साझेदारी परियोजना हेफर प्रोजेक्ट दंगीशरण संयोजक गोमा भट्टराईले गरेकी थिइन् ।