लकडाउनको समयमा पनि रोकिएनन् महिला हिंसा

देवी भण्डारी
हापुरे, २३ बैशाख । देशभर लकडाउन छ । नागरिकहरु घरभित्र बसिरहेका छन् । यो बेला महिला हिंसाको घटना पनि त्यतिकै छन् । बबई गाउँपालिकामा लकडाउन भएयता ४ वटा महिला हिंसाका उजुरी आएका छन् । महिला हिंंसाका सबै उजुरी परिवार र श्रीमानबाट नै भएका छन् ।

लकडाउन यता बबईमा सामान्य झै–झगडादेखि ज्यान मार्नेसम्मका घटना भएको बबई गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक सावित्रा विश्वकर्माले बताइन् ।

लकडाउनकै समयमा बबई गाउँपालिका वडा नं. ४ मा श्रीमानले श्रीमतीको ज्यान मार्न चिर्पट प्रहार गरेका थिए । श्रीमानबाट प्रहार भएको चिर्पट छोराले रोक्दा गम्भीर घाइते भएका छन् । छोराको हात भाँचिएको र नेपालगञ्ज उपचारको लागि लगिएको छ । त्यस्तै बबई गाउँपालिका वडा नं. ६ मा परिवारबाट पीडित एक महिलालाई ३ दिनसम्म आफ्नो घरमै राखेर मिलापत्र गरेर गरेको पठाएको उपाध्यक्ष विकले बताइन् । परिवारका सदस्य सासुआमा, नन्द अमाजुबाट पीडित ती महिलालाई छिमेकीहरुले सुरक्षा दिन सक्दैनौं भनेपछि आफ्नो घरमा ल्याएर राखेको विश्वकर्माले बताइन् ।

महिला हिंसाका घटना बढिरहँदा मेलमिलाप घरमै पुगेर गर्ने गरेको र केहीलाई पालिकामै सीमित व्यक्ति राखेर मिलापत्र गर्ने गरेको बताइन् । आफ्नो घरमा राखेर न्यान दिन अफ्ठेरो भएकै कारण बबई गाउँपालिकाले बैशाखकै अन्तिममा हिंसा पीडित महिलाहरुको लागि सेभ हाउस सञ्चालन गर्ने तयारी गरेको छ । सेव हाउस सञ्चालन भएसँगै समस्यामा परेका महिला दिदीबहिनीहरुलाई न्याय दिन सजिलो हुने विश्वकर्माले बताइन् ।

बबईमा मात्र होइन लकडाउनको समयमा महिला हिंसाका घटना देशभर बढिरहेका छन् । कोरोना संक्रमणलाई रोक्न गरिएको लकडाउनका अवधिमा देशका १८ जिल्लामा १ सय ७६ महिला तथा बालबालिका हिंसामा परेका छन् । महिला पुनःस्थापना केन्द्र ओरेकका अनुसार आफैले सञ्चालन गरेको हटलाईन, मनोविमर्शकर्ता, महिला मानवअधिकार रक्षक, साझेदार महिला सामुदायिक संघसंस्थाहरुले उक्त घटनाको अभिलेख राखेका हुन् । १ सय ३ वटा घरेलु हिंसा, १५ सामाजिक हिंसा, २६ वटा बलात्कार, ५ वटा बलात्कार प्रयास, एउटा हत्या, ७ वटा यौन दुव्र्यबहार, ११ वटा आत्महत्याका घटनाहरु रहेका छन् । महिला हिंसा रोक्नकै लागि सरकारी तथा गैर सरकारी संघसंस्थाहरुले सचेतनालगायत परामर्श गरिराखेका छन् तर पनि महिला हिंसामा कुनै कमी भने आउन सकेको छैन ।