विनोदकुमार पोख्रेल
नेपाल कृषि प्रदान देश हो र राष्ट्रलाई संवृद्ध बनाउन आधुनिक कृषि र सोको व्यवसायीकरण अपरिहार्य छ । आधुनिक कृषिबाट उत्पादन वृद्धि मात्र होइन कृषि पर्यटनको समेत विकास गर्न सकिन्छ । नेपालको सन्दर्भमा विकासको लागि कृषि क्षेत्र पछि पर्यटन क्षेत्र नै सम्भावना बोकेको महत्त्वपूर्ण क्षेत्र हो ।
सांस्कृतिक धरोहरहरु र प्राकृतिक सुन्दरता नै नेपालको पर्यटन क्षेत्रको आधार हुन् । प्राकृतिक पर्यटन क्षेत्र कृषि क्षेत्रसँग पनि जोडिएको छ । परम्परागत खेतीमा आधारित हाम्रो कृषि व्यवसाय अहिले आधुनिकतासँग जोडिँदै गएको छ । यही आधुनिक कृषि फार्महरु हेर्न देशभित्र बाहिरबाट तमाम पर्यटकहरु आउने र प्राकृतिक सौन्दर्यसँग रमाउने गरेको देखिन्छ ।
नेपाल सरकारले समेत कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको देखिन्छ । आव २०८२÷८३ को बजेटमा यो वर्ष लुम्बिनी प्रदेशलाई अग्र्यानिक प्रदेश घोषणा गरेको स्वागत योग्य छ । सरकारले बर्सेनि अर्बौँ रकम कृषिमा अनुदान समेत दिने गरेको देखिन्छ । यस्ता अनुदानहरु लक्षित वर्गभन्दा टाठा बाठाहरुको पहुँचमा रहेको हुन्छ जुन कुरा वास्तविक कृषकको लागि दुर्भाग्यपूर्ण हो । यसरी लगानी गरिएको अनुदान रकमको अनुगमन र यसबाट कृषक तथा राज्यलाई प्राप्त गरेको प्रतिफलको मूल्याङ्कन गर्ने गरेको पनि देखिँदैन ।
एउटा सर्वेक्षण अनुसार नेपालमा बनेका वेयर हाउस, कोल्ड स्टोरहरुमा राज्यले ठुलो लगानी गरेको देखिन्छ तर ती मध्ये करिब ८० प्रतिशत उपयोग विहीन न्यून क्षमतामा सञ्चालन रहेका छन् । त्यस्तै राज्यले लगानी गरेको ठुला ठुला कृषि सम्बन्धी योजनाहरु सन्तोषजनक रुपमा सञ्चालन गरेको कहीँ देखिँदैन ।
वास्तविक किसानहरु जसले कृ्षी उत्पादनको आयातलाई प्रतिस्थापन गर्ने उद्देश्यले कृषि फार्महरु सञ्चालन गरी रहेका छन् उनीहरुको चाहना राज्यको प्रत्यक्ष आर्थिक सहयोग भन्दा उत्पादन गर्नको लागी आवश्यक मल बिउ, औजार उपकरणहरुको सहजता र सहुलियत रहेको छ भने प्राविधिक सहयोग समेत उनीहरुको चासोको विषय रहेको छ । त्यसै गरी प्रारम्भिक चरणमा बजारीकरणको सहजता तथा व्यवस्थापन राज्यले सहयोग गरेस् भन्ने उनीहरुको चाहना समेत देखिन्छ ।
यसै सन्दर्भमा हामीले घोराही उपमहानगर पालिका वडा नं. १६ तेह्रौटेमा घोराही क्षेत्रका समाज सेवी, बुद्धिजीवी तथा व्यवसाय क्षेत्रमा सफलता हासिल गरेका स्वर्गीय खगराज लोहनीका नातिहरु तथा प्रेमराज लोहनीका सुपुत्रद्वय प्रणवराज लोहनी तथा प्रतिकराज लोहनी सानै उमेरमा अमेरिका गए । र, त्यहीबाट आफ्नो इन्जिनियरिङ शिक्षा हासिल गरी त्यही राम्रो आयआर्जन गर्दा गर्दै आफ्नो मातृभूमिमै केही गर्नुपर्छ भन्ने भावना जागृत भई आफ्नै पुख्र्यौली थलो दाङको सदर मुकाम घोराही उपमहानगरपालिका तेह्रौटेमा व्यावसायिक रुपमा आधुनिक कृषि खेती गरिरहेको भन्ने केही समय अघि नै सुनेको थिए र एक पटक हेर्न जाने चाहना हुँदा हुँदै समय अनुकूल परेको थिएन ।
केही दिन अघि समय निकालेर उक्त कृषि फार्म हेर्ने अवसर मिलेको थियो । घोराही बजारदेखि पश्चिम दक्षिण करिब २ किलो मिटर टाढा तेह्रौटे पर्दछ । त्यहाँ करिब ४ बिगाहामा १५५० बोट कागती खेती गरिएको छ भने अझै २.५ बिगाहा थप विस्तार गरेर ६.५ बिगाहामा खेती पु¥याउने लक्ष्य रहेको छ । कागती खेती गरिएका करिब ३ वर्ष भएको र यसै वर्षदेखि व्यावसायिक उत्पादन समेत हुने यसका लगानी कर्ता प्रतिक राज लेहनीले बताउनु भयो । बिरुवाहरु वयस्क भए एउटा बोटबाट वार्षिक औसत ५० किलो र सम्पूर्ण खेतीबाट ४०–५० टन कागती उत्पादन हुन सक्ने जानकारी हामीले पायौ ।
त्यसै गरी उहाँकै दाजु प्रणवराज लोहनीले करिब नौ कट्ठामा तिन साडे तिन करोडको लागतमा ग्रिनहाउस निर्माण गरेको र सोमा ९ हजार बोट क्याप्सिकम (भेडे खुर्सानी) खेती गरेका देखियो । उक्त क्याप्सिकम खेतीको व्यवसायी उत्पादन समेत भइसकेको रहेछ ।
यो भेडेखुर्सानी कै प्रजातीमा पर्ने भए पनि आधुनिक प्रयोगबाट उत्पादन गरिएको हँुदा ग्रिन सलादको रुपमा प्रयोग गरिने स्वास्थ्यको लागि सारै उपयोगी मानिन्छ । त्यस फार्ममा रातो, पहेलो, सुनौलो र हरियो गरी चार रंगको क्याप्सिकम उत्पादन भइरहेको हामीले देख्यौ ।
बिरुवा लगाएको ३–४ महिना पछि उत्पादन दिने र करिब ८–९ महिना उत्पादन हुने रहेछ । अहिले थप नौ कट्ठामा अर्को ग्रिन हाउस सञ्चालनको तयारी भइरहेको हामीले देख्यौ । यसको मूल्य प्रति केजी ४–५ सय पर्ने हुँदा बिक्री वितरण स्थानीय स्तरमाभन्दा भाटभटेनीलगायत ठुला ठुला डिपार्टमेन्ट स्टोरमार्फत् बिक्री वितरण भइरहेको हामीले जानकारी पायौँ । केहीबेर कागती तथा क्याप्सिकमको खेतीबारे जानकारी लिई प्रतिक बाबुको जोडीको मिठो आथित्य पश्चात हामी फर्केका थियौँ ।
जे होस् दाङ जिल्ला तरकारी खेतीको हब बन्दै गरेको देखिन्छ । घोराहीको तेह्रौटे, मसिना, नारायणपुर, हलवार, लामिदमार, देउखुरी क्षेत्रलगायत दाङका धेरै ग्रामीण क्षेत्रमा अहिले आधुनिक तरकारी तथा फलफूल खेती गरेको देखिन्छ । राज्यले दिनु पर्ने सुविधा तथा सिचाइको सहज व्यवस्थापन र बजारीकरणको प्रवर्धन गरी दिए थप कृषकहरु यसतर्फ आकर्षण हुने निश्चित छ । घोराही तुल्सिपुर बजार क्षेत्रमा बिक्री हुने धेरै जसो तरकारीहरु स्थानीय स्तरमा उत्पादन हुने गरेको कुरा त्यहाँ का कृषकहरुको भनाई रहेको छ ।