गोरक्ष समाचारदाता
दाङ, १० असार । घोराहीमा १० किलोमिटर रोड रेस प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद परिषद् लुम्बिनीको आयोजनामा असार १४ गते बिहान ७ बजे घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा ‘लुम्बिनी राष्ट्रिय खुल्ला पुरुष–महिला १० किलोमिटर रोड रेस प्रतियोगिता’ हुने भएको हो ।
प्रतियोगितामा भाग लिन असार १३ गतेसम्म नाम दर्ता गर्न आयोजकले सूचनामार्फत् जानकारी गराएको प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य कैलाश रोकाले जानकारी दिएका छन् । उनका अनुसार नाम दर्ता गर्न खेलाडीको पहिचान खुल्ने कुनै पनि सरकारी कागजात अनिवार्य गरिएको बताए ।
खेलकुद विकाससँगै खेलाडी पहिचान गर्दै प्रदेशमा दक्ष खेलाडी उत्पादन गर्न यस प्रकारको प्रतियोगिता आयोजना गरिएको प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव तिरणदाज गौतमले बताएका छन् । गत वर्ष राप्ती उपत्यका देउखुरीमा यस प्रकारको प्रतियोगिता आयोजना गरिएको थियो । उनका अनुसार लुम्बिनी राष्ट्रिय खुल्ला पुरुष तथा महिला १० किलोमिटर रोड रेस प्रतियोगितामा प्रथम हुने पुरुष महिला दुवैलाई जनही ५०–५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
दोस्रो हुनेले जनही ३०–३० हजार, तेस्रो हुनेले जनही २०–२० हजार, चौथो हुनेले जनही १५–१५ हजार र पाँचौँ हुनेले जनही १०–१० हजार रुपैयाँ पुरस्कार पाउने प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव गौतमले बताएका छन् । प्रतियोगितामा सहभागी भएका पुरुष महिला खेलाडीमध्ये छैठौँ, सातौँ, आठौँ, नवौँ र दशौँ हुनेलाई पनि समान ५–५ हजार रुपैयाँ हौसला स्वरूप प्रदान गरिने छ ।