एक सय २९ जनाको निःशुल्क शल्यक्रिया

गोरक्ष समाचारदाता
तुलसीपुर, ९ असार । रोल्पाको गंगादेब र माडी गाँउपालिकामा एक सय २९ जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ ।

नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जअन्तर्गत सञ्चालित लमही आँखा अस्पतालको प्राबिधिक सहयोग, एनएवीपी नर्वेको आर्थिक सहयोग गंगादेव गाँउपालिका रोल्पाको समन्वयमा गंगादेब गाँउपालिका रोल्पाको जिनावाङमा भएको दुई दिने शिविरमा ८३ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ ।

शिबिरमा ३ सय ८८ जनाले सेवा लिएको लमही आँखा अस्पतालका वाह्य कार्यक्रम संयोजक बिमल घिमिरेले जानकारी दिएका छन् । जसमध्ये ८३ जनाको मोतियाबिन्दुको शल्यक्रियापछि आँखाको पुनः नँया ज्योति पाएको गंगादेव गाँउपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ ।त्यसैगरी माडी गाउँपालिका रोल्पाको आयोजनामा घर्तीगाउँ स्वास्थ्य चौकी रोल्पामा भएको निःशुल्क आँखा शिबिरमा ४६ जनाको निःशुल्क मोतियाबिन्दु भएका बिरामीको शल्यक्रिया गरिएको छ ।

शिबिरमा एक सय ६० जना बिरामिले सेवा लिएका थिए । लमही आँखा अस्पतालका प्राध्यापक डाक्टर प्रदीप बास्तोलालगाएत प्राविधि टोलिले सेवा दिएको थियो । शल्यक्रिया पछि सेवाग्राही आँखाका बिरामीहरुले आफ्नो घरदैलोमै आएर आफुहरुलाई पुनः आँखा देख्ने बनाउनुका साथै नयाँ दृष्टि प्रदान गरेको भन्दै आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज लमही आँखा अस्पताल, चिकित्सकको टोली र स्थानीय सरकार गंगादेब गाँउपालिकालाई धन्यवाद समेत दिएका छन् ।

गंगादेव गाउँपालिका– ५ का वडा अध्यक्ष अमरबहादुर केसीको अध्यक्षताको कार्यक्रममा प्रमुख अतिथिमा गंगादेव गाउँपालिका अध्यक्ष हरिबहादुर पुन मगरले घर आगनमै जनतालाई सेवा दिने उद्देश्यले शिविर आयोजना गरेको बताए ।