‘युवाको नेतृत्व र क्षमता विकासमा जेसीजको महत्वपूर्ण भूमिका’

गोरक्ष समाचारदाता
दाङ, ८ असार । लुम्बिनी प्रदेशका पूर्वस्वास्थ्य मन्त्री राजु खनालले जेसीजले युवाको नेतृत्व र क्षमता विकासका लागि महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

दाङ महिला जेसीजले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शनिवार धार्मिक पर्यटकीय स्थल घोराही–१८ अम्बिकेश्वरी मन्दिरमा आयोजना गरेको समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्यसमेत रहेका खनालले समाजमा सचेतना, विपद्मा सहयोग गर्नेदेखि युवाको नेतृत्व र क्षमता विकासका लागि खेलेको भूमिकाको प्रशंसा गरे । प्रमुख अतिथि खनालले जेसीजलाई आगामी दिनमा थप सशक्त बनाउँदै अघि बढाउन सुझाव दिएका थिए ।

पछिल्लो समय युवामा सकारात्मक सोचको आवश्यकता रहेकाले त्यसका लागि जेसीजले सचेतनाका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उनले बताए । सकारात्मक सोचका माध्यमबाट युवालाई सकारात्मक बाटोमा हिँडाउन आवश्यक रहेकाले त्यसका लागि जेसीजले नेतृत्वदायी भूमिका खेल्न सक्ने भन्दै कार्यक्रमका प्रमुख अतिथि खनालले युवालाई असल नेतृत्व प्रदान गर्न जेसीजले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।

यसैगरी संविधान सभा सदस्य तथा नेपाली कांग्रेसकी नेतृ अनिता देवकोटाले दाङ महिला जेसीजले सकारात्मक सोच लिएर समाज परिवर्तनमा लागेको भन्दै यो कार्यलाई निरन्तरता दिन अनुरोध गरिन् । उनले समाजका लागि आवश्यक विषय र नेतृत्व तयार गरेर अनुकरणीय कार्य गर्नतर्फ जेसीजको विशेष भूमिका रहने चर्चा गरिन् ।

देवकोटाले सामाजिक एकता कायम गर्नका लागि साहित्यिक महत्वपूर्ण क्षेत्र रहेको बताउँदै जेसीजले आफ्नो सप्ताहव्यापी कार्यक्रममा साहित्यलाई समेत महत्व दिएकोमा प्रशन्नता व्यक्त गरिन् । उनले छोटो अवधिमै कसरी राम्रो काम गर्न सकिन्छ भनेर जेसीजबाट सिक्न आवश्यक रहेको बताइन् ।

दाङ महिला जेसीजका अध्यक्ष अनिता ढकालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै विशिष्ट अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले सप्ताहव्यापी कार्यक्रमले दाङ महिला जेसीज समाजसँग भिज्न सकेको बताउँदै अहिलेको समाजले खोजे अनुरूपको जनशक्ति उत्पादन गर्नतर्फ ध्यान दिन जरुरी रहेको बताए ।

त्यसका लागि असल अभ्याससँगै क्षमता विकासका लागि कार्यक्रम सञ्चालन गरेर जोडिन सकिने बताएका थिए । अर्का वक्ता प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले राष्ट्र निर्माणका लागि दाङ महिला जेसीजले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै समाजमा सकारात्मक सन्देश दिने खालका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताए । युवालाई सकारात्मक सोचसँगै क्षमता अभिवृद्धिका माध्यमबाट नेतृत्व विकास गरेर अघि बढाउन आवश्यक रहेको र त्यसका लागि यस्ता कार्यक्रमले सहयोग पुग्ने बताएका थिए ।

साहित्यिक समारोहका साथ आयोजना गरिएको कार्यक्रममा साहित्यकाहरू डा.लोकराज पराजुली, दीपक समीर, सन्ध्या रेग्मी, शारदा शर्मा र बिना रोका क्षेत्रीले कविता, गजल, मुक्तक प्रस्तुत गरेका थिए । सप्ताहव्यापी कार्यक्रमको समापनमा दाङ महिला जेसीजका संस्थापक अध्यक्ष निर्मला गौतम, दाङ महिला जेसीजका पूर्वअध्यक्ष विणा बिसी, नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपाने, लमही जेसीजका अध्यक्ष रामधन चौधरीलगायतका व्यक्तित्वले मन्तव्य व्यक्त गरेका थिए ।

दाङ महिला जेसीजकी आराधनासिंह ठकुरीले स्वागत गरेको कार्यक्रमको सहजीकरण महासचिव भीमा डिसीले गरेकी थिइन् ।