शिक्षण विधिमा नवीनता : बदलिँदो समयका सन्दर्भहरू

यादव गिरी

शिक्षा मानव विकास र सभ्यताको मूलआधार हो । विश्वभरिका परिवर्तनशील सामाजिक, सांस्कृतिक र प्रविधिजन्य घटनाक्रमका बिच शिक्षण विधिमा नवीनता ल्याउनु अपरिहार्य बनेको छ । कुनै बेला शिक्षण विधि कक्षाकोठामा शिक्षक केन्द्रित, रटन्ते र परीक्षा लक्षित हुँन्थ्यो तर वर्तमान परिवेशमा विद्यार्थी केन्द्रित, सिपमूलक र प्रयोगमूलक शिक्षण विधिको माग बढ्दै गएको छ ।

बदलिँदो समयमा शिक्षण विधिको स्वरुपसमेत बदल्नुपर्छ भन्ने अवधारणाले विश्वभरि स्थान लिइरहेको छ । सूचना प्रविधि, सहकार्य, संवाद, सिप र सिर्जनशिलतालाई समेट्ने शिक्षण विधि नै वर्तमानको आवश्यकता हो । विशेष गरी नेपाल जस्तो विकासशील मुलुकका लागि यो मुद्दा अझ सान्दर्भिक र गहन छ ।

शिक्षण विधिमा नवीनताको अर्थ केवल कक्षाकोठाभित्र भएका प्रक्रियाहरु परिवर्तन गर्नु मात्र नभई समग्र शैक्षिक सोच र नीति–निर्माणका आधारलाई समाहित गर्नु पनि हो । यो आलेखमार्फत् शिक्षण विधिको ऐतिहासिक पृष्ठभूमि, वर्तमान सन्दर्भ र भावी मार्गचित्रमाथि गहन विमर्श गर्ने प्रयास गरिएको छ ।

पुरानो र वर्तमान शिक्षण विधिबिचको तुलना

पुरानो शिक्षण विधि शिक्षकलाई केन्द्रमा राखेर विद्यार्थीलाई श्रोता र स्मरणकर्ता मात्र बनाउने प्रक्रियासँग सम्बद्ध थियो । नेपाली विद्यालयहरुका कक्षाहरु विगतमा ब्ल्याकबोर्ड, पुस्तक र शिक्षकका व्याख्यामा मात्रै केन्द्रित थिए । त्यस बेला परीक्षा अङ्कका आधारमा विद्यार्थीको सिप मूल्याङ्कन गर्ने गरिन्थ्यो । जसका कारण समग्र सिप र क्षमताहरुका विकासलाई बेवास्ता गरिन्थ्यो ।

तर वर्तमान शिक्षण विधिको मूलआधार विद्यार्थीलाई केन्द्रमा राखेर व्यक्तिगत र समूहगत सिप विकास गर्ने प्रक्रियासँग मेल खान्छ । कक्षाहरु संवादमूलक, सहकार्यपूर्ण र रचनात्मक सोचलाई प्रवर्धन गर्ने स्थान भएका छन् । आजका कक्षाहरुमा स्मार्टबोर्ड, मल्टिमिडिया, डिजिटल सामग्री, सिपमूलक क्रियाकलाप र प्रयोगात्मक विधिहरु प्रयोग भइरहेका छन् । विद्यार्थीहरु सिप र व्यवहारलाई आत्मसात गर्दै स्वतन्त्र सोच्न र समस्या समाधान गर्न सिकिरहेका छन् ।

बदलिँदो समयका सन्दर्भ र शिक्षण विधिका नयाँ आधार

शिक्षण विधिका नयाँ आधार आज शिक्षा क्षेत्रको सर्वाधिक चर्चित र महङ्खवपूर्ण पक्ष बनेका छन् । विश्वव्यापी परिवर्तनसँगै सूचना तथा प्रविधिको व्यापक उपयोगले शिक्षण प्रक्रियालाई कक्षाकोठाभन्दा बाहिर विस्तार गरेको छ । कम्प्युटर, स्मार्टफोन, इन्टरनेट तथा अन्य डिजिटल साधनहरुले विद्यार्थीलाई घरमै बसेर विश्वभरिका स्रोतसामग्रीसँग जोडिन सक्षम बनाइरहेका छन् ।

यसरी सूचना प्रविधिले सीमित स्रोतसाधन भएको परम्परागत शिक्षण परिवेशलाई विश्वव्यापी ज्ञानसँग आबद्ध गर्दै व्यापक, खुला तथा समावेशी वातावरण निर्माण गरेको छ ।

यसैगरी सहकार्यात्मक र अन्तरक्रियात्मक शिक्षण विधि वर्तमान युगको अपरिहार्य आवश्यकता हो । आज विद्यार्थीहरु केवल श्रोतामात्र नभई सक्रिय सहभागीका रुपमा समूहगत छलफल, परियोजना निर्माण र समस्या समाधानका प्रक्रियामार्फत् अघि बढिरहेका छन् । सहकार्यको यो अभ्यासले विद्यार्थीलाई एकअर्काको विचार र अनुभव साटासाट गर्न प्रेरित गर्छ भने उनीहरुको सिर्जनात्मक र समालोचनात्मक सोचलाई गहिरो तुल्याउँछ । यस्तो शिक्षण वातावरणले विद्यार्थीलाई सामाजिक जीवनका लागि अपरिहार्य संवाद, टोली भावना र जिम्मेवारी बोधका सिपहरुसँग सुसज्जित पार्दै जान्छ ।

यसैगरी बदलिँदो समयमा शिक्षण विधिमा सिपमूलक शिक्षणको अवधारणाले महङ्खवपूर्ण स्थान ओगटेको छ । केवल किताबी ज्ञान मात्र नभई व्यक्तिगत तथा सामाजिक सिप, संवादकला, सिर्जनशीलता र समस्या समाधान गर्ने क्षमताहरु आजको शिक्षणका आधारस्तम्भ बनेका छन् ।

शिक्षाको मुख्य उद्देश्य पनि परीक्षामा अङ्क ल्याउनुभन्दा बढी विद्यार्थीलाई भविष्यका विविध चुनौतीसँग मुकाबिला गर्न सक्षम र स्वावलम्बी बनाउनु हो । यसरी सिपमूलक शिक्षण विधिले विद्यार्थीहरुलाई आफूले हासिल गरेको ज्ञानलाई व्यवहारिक जीवनमा लागु गर्ने प्रेरणा तथा आत्मविश्वास प्रदान गर्छ ।

व्यक्तिगत आवश्यकता र रुचिका आधारमा शिक्षा दिने प्रवृत्ति आजका शिक्षण विधिहरुको केन्द्रीय पक्ष बनेको छ । प्रत्येक विद्यार्थीको सोच्ने शैली, क्षमता, गति र प्रतिभा फरक हुने भएकाले उनीहरुको व्यक्तिगत विशेषतालाई केन्द्रित गर्दै शिक्षा दिनु प्रभावकारी हुन्छ ।

यसरी व्यक्तिगत आवश्यकतालाई सम्बोधन गर्ने शिक्षण विधिले विद्यार्थीलाई आफ्नो अभिरुचि अनुसार अध्ययन गर्न मात्र होइन, जीवनभर काम लाग्ने व्यक्तिगत तथा व्यावसायिक सिपहरुको निर्माण गर्न मद्दत गर्छ । आजका परिवर्तित सन्दर्भहरुलाई मध्यनजर गर्दै तयार पारिएको यो विद्यार्थीकेन्द्रित र सिपमूलक शिक्षण अभ्यासले भविष्यको सशक्त, सक्षम र जिम्मेवार नागरिक तयार गर्ने मार्ग प्रशस्त गर्छ ।

नेपालका सन्दर्भमा नवीन शिक्षण विधिको आवश्यकता र प्रयोग

नेपालका सन्दर्भमा नवीन शिक्षण विधिको आवश्यकता र प्रयोगलाई गहिरो रुपमा हेर्दा ग्रामीण र सहरी क्षेत्रबिच गहिरो खाडल रहेको देखिन्छ । सहरी विद्यालयमा सूचना प्रविधि, प्रयोगात्मक शिक्षण सामग्री र नवीन शिक्षण प्रविधिको पहुँच तुलनात्मक रुपमा सहज भएको अवस्थामा ग्रामीण क्षेत्रका विद्यालय अझै स्रोतसाधन र दक्ष जनशक्तिको अभावसँग जुधिरहेका छन् ।
यस्तो असन्तुलनका कारण ग्रामीण विद्यार्थीहरु अझै परम्परागत र रटन्ते शिक्षण विधिमा सीमित छन् । जसले उनीहरुको सिर्जनात्मकता, सिप विकास र भविष्यका चुनौतीसँग जुझ्ने क्षमतालाई कमजोर बनाइरहेको छ । त्यसैले प्रत्येक बालबालिकाले शिक्षा पाउने संवैधानिक हकलाई व्यवहारमा उतार्ने हो भने स्रोतसाधन, प्रविधि र प्रशिक्षित शिक्षणकर्मीको पहुँच देशभर एकरुप र न्यायोचित रुपमा पु¥याउनु अपरिहार्य छ ।

यस सन्दर्भमा नेपाल सरकारले ल्याएका सिपमूलक शिक्षा नीति, सूचना प्रविधि नीति तथा समावेशी शिक्षा नीतिहरु आफैँमा प्रगतिशील र दूरदर्शी भए पनि ती नीति तथा कार्यक्रमहरु अझै कार्यान्वयनको तहसम्म प्रभावकारी रुपमा पुग्न सकेका छैनन् ।

नीति कार्यान्वयनको केन्द्रबिन्दु बनेका स्थानीय तहलाई आवश्यक स्रोतसाधन र क्षमताले सुसज्जित गर्नु, ग्रामीण विद्यालयलाई आधुनिक सूचना प्रविधि, सिपमूलक शिक्षण सामग्री तथा निरन्तर प्रशिक्षित र उत्प्रेरित शिक्षकमार्फत् शिक्षण सुधारका कार्यक्रमहरु सञ्चालन गर्नु आजको प्राथमिक आवश्यकता हो ।

यसरी शिक्षण विधिमा नवीनता ल्याएर सबै विद्यार्थीलाई समावेशी, गुणस्तरीय र भविष्यन्मुखी शिक्षा सुनिश्चित गरे मात्र नेपाललाई सामाजिक, आर्थिक र सांस्कृतिक विकासका नयाँ आयामतिर अग्रसर गराउन सकिन्छ ।

बदलिँदो शिक्षण विधिमा शिक्षकको भूमिका

शिक्षकको भूमिका आज एक साधारण सूचना प्रवाहकर्ताबाट व्यापक र गहिरो सहयात्रीको रुपमा रुपान्तरण भएको छ । अहिलेका शिक्षकले केबल पाठ्यक्रम पढाउने मात्र नभई विद्यार्थीको सोच, सिर्जनात्मकता, संवाद र सामाजिक उत्तरदायित्वको विकास गर्न अग्रसर हुनुपर्छ ।

त्यसैले क्षमतामूलक शिक्षणका लागि शिक्षकमाझ नयाँ युगका आवश्यक सिपहरु (प्रविधिको प्रयोग गर्ने दक्षता, संवाद र सहकार्य गर्ने क्षमता, समस्याको गहिरो विश्लेषण र समाधान निकाल्ने कुसलता, तथा सहानुभूतिपूर्ण सोच–गहिरोसँग विकसित हुनुपर्छ । विद्यार्थीलाई आत्मविश्वासी, जिम्मेवार र नवीन विचारका संवाहक बनाउन शिक्षक स्वयम् पनि त्यस्ता सिप र गुणले परिपूर्ण हुन जरुरी छ ।

यसका लागि सरकारले मात्र नभई निजी संघसंस्था र अन्य सरोकारवालाहरुको सहकार्य आवश्यक देखिएको छ । नियमित तालिम, कार्यशाला, अन्तरक्रिया कार्यक्रम तथा आधुनिक शिक्षण प्रविधिमा आधारित अभिमुखीकरणका माध्यमबाट शिक्षकको व्यावसायिक विकासलाई निरन्तर अघि बढाउनुपर्छ ।

जब शिक्षक आफैं सिपयुक्त, उत्प्रेरित र प्रविधिप्रति सक्षम हुन्छन्, तब कक्षाहरु स्वतः जीवन्त, प्रयोगमूलक र सबै विद्यार्थीको आवश्यकता पूरा गर्ने वातावरणमा बदलिन्छन् । यसरी प्रशिक्षित शिक्षकहरुले बदलिँदो शिक्षण विधिको मर्मलाई आत्मसात गर्दै विद्यार्थीलाई भविष्यका चुनौतीसँग मुकाबिला गर्न सक्षम, सिपयुक्त र जिम्मेवार नागरिकका रुपमा विकास गर्न सक्नेछन् ।

बदलिँदो शिक्षण विधिमा अभिभावक र समुदायको भूमिका

अभिभावक र समुदायको भूमिका केवल परम्परागत परामर्शदाताको सीमासम्म नभई सक्रिय सहयात्री र उत्प्रेरकको रुप धारण गरेको छ । विद्यार्थीको व्यक्तित्व विकास, नैतिक मूल्यहरुको स्थापना र सिपमूलक शिक्षा व्यवहारमा उतार्न अभिभावकको गहिरो सहभागिता र सतर्क निगरानी आवश्यक हुन्छ ।

अभिभावक र शिक्षकबिचको सुसम्बन्धित संवादले प्रत्येक बालबालिकाका रुचि, शक्ति र सुधारका क्षेत्रहरु उजागर गर्छ । जसले शिक्षण प्रक्रियालाई अझ प्रभावकारी र व्यक्तिगत आवश्यकता अनुरुप बनाउन मद्दत गर्छ । यसरी अभिभावक घरकै वातावरणलाई शिक्षणसँग जोड्दै, विद्यार्थीलाई जिम्मेवार, जिज्ञासु र स्वावलम्बी बन्ने प्रेरणा प्रदान गर्न सक्छन् ।

त्यस्तै शिक्षण प्रक्रियामा समुदायको सहभागिता र सहयोगले शिक्षा र जीवनलाई एकअर्कासँग गहिरो सम्बन्धित बनाउँछ । विद्यालयलाई सामाजिक, सांस्कृतिक र आर्थिक परिवेशसँग जोडी सिपमूलक परियोजनाहरु सञ्चालन गर्नु, सामुदायिक स्रोत साधनहरुको उपयोग गर्नु तथा स्थानीय व्यक्तित्व र विशेषज्ञलाई स्रोतव्यक्तिको रुपमा कक्षामा आमन्त्रित गर्नु समुदायको प्रभावकारी भूमिका हो । यसरी समुदायका विविध अनुभव र स्रोतलाई शिक्षणसँग संयोजन गर्दा विद्यार्थीहरु व्यावहारिक जीवनसँग जोडिन सक्ने हुन्छन् ।

साथै सामाजिक एकताको भावना पनि विकास हुन्छ । परिणाम स्वरुप, विद्यार्थीहरुमाझ सामूहिक जिम्मेवारीबोध, सामाजिक संवेदनशीलता र असल नागरिक बन्ने चाहना प्रबल बन्दै जान्छ । जसले शिक्षा प्रणालीलाई अझ समावेशी, गतिशील र अर्थपूर्ण बनाउँछ ।

वर्तमान चुनौतीहरू र समाधानका उपाय

वर्तमान चुनौतीहरु र समाधानका उपायहरुलाई गहिरो रुपमा हेर्दा नेपालजस्तो स्रोत र साधन सीमित मुलुकमा सिपमूलक तथा नवीन शिक्षण विधि अवलम्बन गर्नु आफैंमा एक जटिल कार्य हो । स्रोत साधनको अभाव, प्रशिक्षित तथा उत्प्रेरित शिक्षकहरुको कमी, सहरी र ग्रामीण क्षेत्रबिचको गहिरो खाडल तथा नीति–निर्माण र कार्यान्वयनबिचको दुरी प्रमुख चुनौतीका रुपमा देखिन्छन् ।

यो असन्तुलनले शिक्षणको गुणस्तर सुधार्न बाधा पु¥याउँछ भने विद्यार्थीलाई आफ्नो सिप र क्षमता अनुसार अघि बढ्ने अवसरहरु सङ्कुचित गरिदिन्छ । यस्तो अवस्थालाई बदल्न सरकार, विद्यालय, अभिभावक तथा समुदायबिच सामूहिक समझदारी र प्रभावकारी सहकार्यको आवश्यकता आज अझ प्रबल भएको छ ।

यस्ता चुनौतीलाई चिर्नका लागि सबै तहका निकायले एकसाथ अग्रसर हुनु जरुरी छ । सर्वप्रथम, सिपमूलक तथा क्षमतामुखी शिक्षक तालिमलाई प्राथमिकताका साथ विस्तार गर्दै हरेक शिक्षकलाई प्रविधिप्रति दक्ष र उत्प्रेरित बनाउनुपर्छ ।

सहरी तथा ग्रामीण विद्यालयबिच स्रोतसाधन र उत्कृष्ट अभ्यासहरु आदानप्रदान गर्ने, नीति निर्माण र कार्यान्वयनबिच प्रभावकारी समन्वय तथा नियमित अनुश्रवण गर्ने संयन्त्र स्थापना गर्ने, साथै अभिभावक र समुदायलाई शिक्षण प्रक्रियामा गहिरो संलग्न गराउने नीति तथा कार्यक्रमहरु अविलम्ब लागू गर्नुपर्छ ।

यसरी सबै पक्षको सहभागिता र सत्प्रयासद्वारा मात्र शिक्षा क्षेत्रमा विद्यमान चुनौतीहरुलाई अवसरमा बदल्दै सिपमूलक, समावेशी र अर्थपूर्ण शिक्षणको आधार निर्माण गर्न सकिन्छ ।

समय बदलिरहन्छ, त्यसका मागहरु बदलिरहन्छन् र शिक्षण विधि पनि त्यस अनुरुप विकसित हुनुपर्छ । घोकन्ते शिक्षणबाट सिपमूलक, संवादमूलक र प्रयोगमूलक शिक्षणतर्फको परिवर्तन आजको आवश्यकता मात्र नभई भावी पुस्ताका लागि अपरिहार्य आधारसमेत हो । समग्र रुपमा हेर्दा बदलिँदो समयका सन्दर्भहरुलाई समेट्न नीति, विधि, सिप, सोच र सहकार्यका आधारलाई सुदृढ बनाउनुपर्छ । तब मात्र शिक्षण विधिमा नवीनताको मूलमन्त्र साकार हुनेछ र समावेशी, सिपमूलक र प्रयोगमूलक शिक्षा नेपाली विद्यालयहरुको पहिचान बन्नेछ ।