गोरक्ष समाचारदाता
दाङ, ८ असार । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर पुनले प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा सन्तुष्ट हुने अवस्था नरहेको बताएका छन् । प्रजातान्त्रिक उद्यमी संघ घोराही दाङको पाँचौँ वार्षिक साधारणसभा तथा अधिवेशनलाई शनिवार घोराहीमा सम्बोधन गर्दै सभापतिले प्रदेश सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।
समान रूपमा प्रदेशको आवश्यकता अनुसार सबै क्षेत्रलाई समेट्दै बहुवर्षीय योजनालाई निरन्तरता दिने गरी बजेट ल्याउनु पर्ने भए पनि वर्तमान सरकारले पहुँचका आधारमा बजेट विनियोजन गर्दा महत्वपूर्ण योजना नै छुटेको बताए । ‘बजेट विनियोजन गर्दा सबै क्षेत्रलाई मूल्याङ्कन गरेर समान रूपमा समेट्नुपर्छ तर प्रदेश सरकारले ल्याएको बजेटमा त्यस्तो देखिएन’, कार्यक्रमका प्रमुख अतिथि सभापति पुनले भने, ‘बजेट निर्माणमा सरकार गम्भीर नहुँदा वहुर्षीय योजना नै छुट्न पुगेका छन् ।’
उनले जनताका समस्या नजिकबाट पहिचान गर्दै विकास गर्न प्रदेश सरकार बनेको भन्दै प्रदेश सरकारलाई जनताको भावना र आवश्यकता बुझेर योजना निर्माणसँगै काम गर्नुपर्ने बताए । सङ्घीयताको मर्म र भावना अनुसार नचल्ने हो भने सङ्घीयता ल्याएको जनताले अनुभूति गर्न नसक्ने बताए ।
यसैगरी प्रदेश सभापति पुनले प्रजातन्त्रप्रति आस्था राख्ने व्यवसायीलाई एकजुट बनाउँदै व्यावसायिक एकता र पार्टीलाई बलियो बनाउने गरी लाग्न आग्रह गरेका थिए । कांग्रेसलाई बलियो संगठनका रूपमा विकास गर्न भ्रातृ संघसंगठनसँगै शुभेच्छुक संघसंस्थाहरूको महत्वपूर्ण भूमिका हुने भन्दै उनले व्यवसायीलाई एकताबद्ध बनाउँदै पार्टी र व्यवसायीलाई जोड्नका लागि प्रजातान्त्रिक उद्यमी संघको भूमिका महत्वपूर्ण हुने बताएका थिए ।
प्रजातान्त्रिक उद्यमी संघका अध्यक्ष कालीबहादुर खत्री ‘मानु’ को अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका लुम्बिनी प्रदेश उपसभापति एवम् पूर्वमन्त्री राजु खनालले व्यवसायीलाई एकताबद्ध बनाउँदै कांग्रेसलाई बलियो बनाउन प्रजातान्त्रिक उद्यमी संघको भूमिका महत्वपूर्ण हुने बताए । व्यावसायिक रूपमा संगठन नहुँदा उद्योग वाणिज्य संघको निर्वाचनमा प्रजातान्त्रिक उम्मेदवारहरू पराजित भइरहेको अवस्थामा गठन भएको प्रजातान्त्रिक उद्यमी संघले व्यवसायीलाई जोड्दै व्यावसायिक हकहित र सामाजिक क्षेत्रमा सकारात्मक काम गर्न सफल भएको भन्दै आगामी दिनमा संगठनलाई थप सशक्त बनाएर लाग्न सुझाव दिए ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री खगराज पाण्डेयले प्रजाान्त्रिक विचारलाई मजबुत बनाउँदै संगठनलाई सशक्त बनाउन लाग्नुपर्ने बताए । संगठन निर्माणका क्रममा ससाना समस्या आउने भन्दै समस्याको समाधान खोजेर एकताबद्ध भई अघि बढ्न सके मात्र उद्देश्य पूरा हुने भन्दै उनले सबैलाई एकताबद्ध भएर लाग्न आग्रह गरेका थिए ।
संविधान सभा सदस्य अनिता देवकोटाले व्यावसायिक हकहितसँगै राष्ट्रिय राजनीतिमा कांग्रेसलाई प्रमुख शक्तिका रूपमा स्थापित गर्नतर्फ लाग्नुपर्ने बताइन् । उनले बदलिँदो समयानुकूल चल्ने व्यवसायमा जोड दिन आग्रह गरेकी थिइन् । लोकतन्त्रप्रति आस्था राख्ने उद्योग व्यवसायीलाई एकताबद्ध गर्दै कांग्रेसलाई बलियो बनाउन प्रजातन्त्र उद्यमी संघको महत्वपूर्ण भूमिका रहने भएकाले व्यावसायिक र पार्टीबिच समन्वय र सहकार्यका माध्यमबाट अघि बढ्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा बोल्ले अन्य वक्ताले व्यावसायिक हकहितका लागि लाग्नुपर्नेमा जोड दिएका थिए । कोरोना सङ्क्रमणबाट आक्रान्त बनेको उद्योग व्यवसायलाई माथि उठाउन लाग्नुपर्ने बताएका थिए । प्रजातन्त्रप्रति आस्था राख्ने व्यवसायीलाई एकताबद्ध बनाउँदै संस्थालाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै आगामी दिनमा अझ सशक्त भएर लाग्नुपर्ने बताएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य भुपबहादुर डाँगी, नेपाली कांग्रेस दाङ उपसभापति गिरिराज सुवेदी, नेपाली कांग्रेस दाङ क्षेत्र नं २ का सभापति भीमप्रकाश खड्का, नेविसंघका पूर्वमहामन्त्री युवराज पाण्डेय, प्रजातान्त्रिक उद्यमी संघका सल्लाहकार श्याम सुवेदी, नेपाली कांग्रेस दाङका सदस्य तथा उद्योग विभागका प्रमुख टंकसिंह बुढाथोकी, नेपाली कांग्रेस दाङ क्षेत्र नं २ (१) का कार्यवाहक सभापति लक्ष्मण बुढाथोकी, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशी, चेम्बर अफ कमर्स घोराहीका अध्यक्ष दुर्लभ केसीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
साधारणसभामा कोषाध्यक्ष ऋषि पोख्रेलले आर्थिक तथा सचिव श्रीधर धितालले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उपाध्यक्ष विश्व पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण मचिव श्रीधर धितालले गरेका थिए । यसैबिच बन्दसत्रमा विवाद भएपछि अर्को सूचना नहुँदासम्मका लागि अधिवेशन तत्कालका लागि स्थगित गरिएको छ ।
संघको आर्थिक प्रतिवेदनमाथि उठेको विवादले अधिवेशन प्रभावित बनेको हो । आर्थिक विवरण स्पष्ट नभएको भन्दै केही सदस्यले विरोध जनाएपछि अधिवेशन तत्कालको लागि स्थगित गरिएको संघले जनाएको छ ।