गोरक्ष समाचारदाता
तुलसीपुर, ८ असार । तुलसीपुर र बबई गाउँपालिकामा निःशुल्क आँखा जाँच कार्यक्रम शनिवार सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पतालको प्राविधिक सहयोग एनएबिपी नर्वेको आर्थिक सहयोगमा बबई–७ चरकमटिया र तुलसीपुरको नयाँ बसपार्कमा निःशुल्क आँखा जाँच कार्यक्रम सम्पन्न भएको हो ।
बबई–७ चरकमटिया भएको कार्यक्रममा दुई सय ४१ जनाको आँखा जाँच गरिएकोमा ३१ जनामा मोतियाविन्दु फेला परेको थियो । शल्यक्रिया गर्नुपर्ने बिरामीलाई राप्ती आँखा अस्पतालमा रिफर गरिएको दृष्टि विशेषज्ञ सुजन रिजालले जानकारी दिए ।
मोतियाविन्दुका बिरामीलाई असार ९ गते एनएबिपी नर्वेको आर्थिक सहयोगमा निःशुल्क शल्यक्रिया गरिनेछ । यसैगरी राप्ती आँखा अस्पतालको प्राविधिक सहयोगमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दाङको आयोजनामा निःशुल्क आँखा जाँच कार्यक्रम सम्पन्न भएको हो ।
एक सय १० जनाको आँखा जाँच गरिएको र ५० जनालाई नजिकको चस्मा निःशुल्क वितरण गरिएको बाह्य कार्यक्रम सहसंयोजक पूर्णबहादुर वलीले जानकारी दिए । नेत्रसहायक पवित्रा चौधरीको नेतृत्वमा गएको प्राविधिक टोलीले आँखा जाँच सेवा दिएको थियो ।