‘वाइसिएल जनपक्षीय काममा लाग्छ’

गोरक्ष समाचारदाता
तुलसीपुर, ८ असार । प्रेस सेन्टर तुलसीपुर शाखाले नवनिर्वाचित वाइसिएलका केन्द्रीय अध्यक्षसहित पदाधिकारीलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ । वाइसिएल केन्द्रीय अध्यक्ष पुष्प वली तथा केन्द्र, प्रदेश, जिल्ला पदाधिकारीलाई तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरी बधाई ज्ञापन गरेको हो ।

प्रेस सेन्टर तुलसीपुरका अध्यक्ष टेकराज भण्डारीको अध्यक्षतामा तथा वाइसिएलका केन्द्रीय अध्यक्ष पुष्प वलीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अध्यक्ष वलीले वाइसिएलले जनताको मन जितेर सामाजिक कार्यमा लाग्ने बताए । उनले वाइसिएललाई हेर्ने नजर अहिले पनि परिवर्तन हुन नसकेको भन्दै वाइसिएल पनि यही समाजको भएको बताए ।

‘हामी अब जनताको मन जितेर जनताको काममा अग्रपङ्क्तिमा अभिने छौँ’, अध्यक्ष वलीले भने । उनले जनताको आपतविपत्मा सबै कुरा चिरेर वाइसियल पनि जनताको सारथी हो भन्ने गरी काम गर्ने बताए । ‘हामी सत्तामा हुँदा होस् वा विपक्षमा हुँदा होस् जनताको काम जनपक्षीय कुरामा लाग्ने छौँ, लागेका पनि छौँ’, वलीले भने । उनले उत्पीडित, निम्नवर्गलाई केन्द्रमा राखेर काम गर्ने बताए । वाइसियलले हिजोका दिनमा जनपक्षीय काम गरेको भन्दै आगामी दिनमा पनि राजनीतिक वैचारिक ढङ्गले जनताको मन जितेर अगाडि बढ्ने बताए ।

वाइसिएलको नीति विधिलाई नाघेर जान कसैलाई छुट नभएको बताउँदै वलीले वाइसिएल जनसेवामा लाग्ने र योजना बनाई विपत् व्यवथापनमा सामग्री र तालिमसहित उद्धारमा खटिने बताए । ‘हामी अरू संगठनभन्दा फरक हो, फरक हुन चाहन्छौँ, वाइसिएल अब उद्यमशिलताको विकास गर्नतर्फ लाग्नेछ’, वलीले भने ।

कार्यक्रममा नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का, प्रेस सेन्टर दाङका सचिव दीपक बोहरालगायले नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गरेका थिए ।