प्रिया स्मृती गजमेर
देउखुरी, ८ असार । लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगीले महिलालाई सिप सिकेर आत्मनिर्भर बन्न सुझाव दिएकी छिने । लमही नगरपालिकाले आयोजना गरेको महिलालाई स्वरोजगारमुखी बनाउने उद्देश्यले सञ्चालन गरिएको सातदिने सिपमूलक तालिमको समापन गर्दै योगीले सिप सिकेर आत्मनिर्भर बन्नु सुझाएकी हुन् ।
उनले भनिन्, ‘सामाजिक र आर्थिक सशक्तीकरणका लागि महिलामा सिप र आत्मविश्वासको विकास जरुरी छ । यस्ता तालिमले महिलालाई स्वरोजगार बनाउँछन् ।’ स्थानीय सरकारको यस्तो पहलले महिलाको आयआर्जनका अवसर बढाउने मात्र नभई घरेलुस्तरमै उत्पादन प्रवर्धन गर्न र स्थानीय बजारमा प्रतिस्पर्धी बनाउनसमेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको उपप्रमुख योगीको भनाइ छ ।
तालिममा सिद्ध सचेतना महिला सहकारीमा आबद्ध भएका ३६ जना महिलाको सहभागिता रहेको थियो । तालिमबाट उत्साहित सहभागीले सिकेको सिपलाई प्रयोगमा ल्याएर घरमै साना उद्योग सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । तालिमका प्रशिक्षक मनसरा केसीले साबुन तथा सरसफाइ सामग्री घरेलु स्तरमै कसरी गुणस्तरीय उत्पादन गर्ने भन्ने कुरामा व्यावहारिक प्रशिक्षण दिएकी थिइन् ।
तालिममा सहभागी महिलालाई लुगा धुने सरफ, नुहाउने साबुन, भाँडा माझ्ने झोल साबुन, हर्पिक र फिनाइल बनाउने विधि सिकाइएको हो । लमही नगरपालिकाले आगामी दिनमा महिला सशक्तीकरणका लागि यस्ता तालिम निरन्तर सञ्चालन गर्ने जनाएको छ । स्थानीय सरकारको यस्तो पहलले महिलाको आयआर्जनका अवसर बढाउने मात्र नभई स्थानीय उत्पादन प्रवर्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।
समापन कार्यक्रममा लमही नगरपालिका कार्यपालिका सदस्य देवा परियार, वडा नम्बर ७ की वडा सदस्य उर्मिला चौधरीको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख मेनका खड्काले गरेकी थिइन् ।