एक जीवन, दुई सोच

रणबाहदुर खड्का
मानिसको जीवनको हरेक मोडमा सोचाइ बदलिँदो रहेछ। एक चरण त्यस्तो आउँछ, जहाँ मन केवल प्रेमको भोक हुन्छ। साथीको माया, न्यानो बोली, हात समाउने भाव—यी सबै कुराले जीवन रमाइलो बनाउँछ।
युवावस्थाको शुरुवाती दिनहरूमा हृदयले तर्क होइन, भावना बोल्छ। कसैको सम्झनामा रात कट्छ, उसको माया पाउँदा संसार जितेझैँ लाग्छ। त्यो उमेरमा हामीलाई लाग्छ– जीवन भनेको प्रेम हो, बाँकी सबै कुरा त्यसको वरिपरि घुम्ने माध्यम मात्रै।

तर समय सँगसँगै सोच बदलिन्छ। जब जीवनका जिम्मेवारीहरू बढ्न थाल्छन्, भविष्य र सफलता महत्त्वपूर्ण बन्छ। बिहानको निद्रा भुलेर पनि जागिरको सोच आउँछ, पढाइ वा व्यवसाय कसरी अघि बढाउने भन्ने चिन्ता सताउन थाल्छ। अब प्रेम मात्रै सबैथोक होइन भन्ने बुझिन्छ। जब घरपरिवार, समाज र प्रतिस्पर्धाले घेरिन्छ, तब प्राथमिकताहरू फेरिन्छन्। त्यो उमेरमा माया गर्न मन त हुन्छ, तर समयले छुट दिँदैन।

यसरी सोच्दा लाग्छ, मान्छेले दुई फरक जीवन बाँच्दो रहेछ। एक जीवन भावना र इच्छामा आधारित हुन्छ, जहाँ मुटु बोल्छ। अर्को जीवन दायित्व, लक्ष्य र उपलब्धिमा आधारित हुन्छ, जहाँ दिमाग चल्छ। प्रेमले भावनात्मक सन्तुष्टि दिन सक्छ, तर जीवनको हरेक आवश्यकता पुरा गर्न सक्दैन। त्यसैले समयको माग बुझ्न जान्नु, अनि प्राथमिकता निर्धारण गर्नु आवश्यक छ।

तर यसको मतलब प्रेमको अवमूल्यन गर्नु होइन। प्रेमले नै जीवनमा ऊर्जा दिन्छ, संघर्ष गर्न हिम्मत दिन्छ। यदि सही समयमा, सही तरिकाले प्रेम गर्न सकियो भने त्यो नै सफलताको सहयात्री बन्न सक्छ। तर समय र परिस्थितिलाई नबुझी गरिने प्रेमले दुःख दिन सक्छ। प्रेम र भविष्य एउटै ट्र्याकमा मिलाएर अघि बढ्न सके, जीवन सहज र सफल बन्न सक्छ।

युवावस्थाको शुरुवातमा धेरैले भविष्यभन्दा प्रेमलाई प्राथमिकता दिन्छन्। जुन स्वाभाविक पनि हो। किनकि त्यो उमेरमै पहिलो पटक मनमा मायाको चुलबुलाहट हुन्छ। कसैप्रति आकर्षण हुनु, प्रेम गर्न मन लाग्नु– यी सबै भावना स्वाभाविक हुन्। तर यही उमेरमा भविष्यको बारेमा पनि सोच्न सके, त्यसको फाइदा दीर्घकालीन रूपमा देखिन्छ।

अन्ततः, प्रेम पनि आवश्यक छ, र भविष्य पनि। एउटा मनको सन्तोष हो भने अर्को जीवनको आधार। दुवैलाई सँगै हिँडाउन सक्ने कला नै जीवनको सबैभन्दा ठूलो सीप हो। उमेरअनुसार सोच्ने होइन, विवेकअनुसार निर्णय गर्न सक्नुपर्छ। किनभने न प्रेम बिनाको भविष्य टिकाउ हुन्छ, न भविष्य बिनाको प्रेम स्थायी।

(लेखक अम्बिकेश्वरी क्याम्पस घोराही दाङका निवर्तमान स्ववियु सभापति हुन )