बालाराम खड्का
तुलसीपुर, ७ असार । नेपाल कृषिप्रधान देश हो । कृषिबाटै समृद्धि हासिल गर्ने भनेर सरकारले कृषिलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम ल्याउने गरेको छ तर बजेट विनियोजन गर्नेदेखि कृषिका लागि अत्यावश्यक मल उपलब्ध गराउने गरी नलाग्दा किसानलाई खेतीको समयमा बर्सेनि मलको समस्या हुने गरेको छ ।
खेतीको समयमा बर्सेनि किसानले रासायनिक मलको अभावबाट हैरानी खेप्नुपरेको छ । धान खेतीका लागि अहिले किसान व्याड राखेर खेत खनजोतमा व्यस्त छन् तर खेतीका लागि आवश्यक पर्ने मल भने पाउन नसकेको किसानले गुनासो गरेका छन् । जिल्लामा रासायनिक मल कृषि सामग्री कम्पनी र लिमिटेड सालट्रेडिङले सहकारीमार्फत् वितरण गर्दै आएका छन् । किसानले भने पर्याप्त मल सहज रूपमा पाउन सकेको छैनन् ।
मल आपूर्तिका लागि जिम्मेवारी पाएका निकायमा लक्ष्य अनुसार मल प्राप्त भएको बताएका छन् । वार्षिक लक्ष्य अनुसार मल यो वर्ष पर्यााप्त भएको देखिए पनि किसानले आफूहरूलाई मल पाउनै समस्या हुने गरेको बताउँछन् । रासायनिक मल, भरपर्दो सिँचाई र उन्नत जातका बिउको सहज उपलब्धता नहुँदा कृषि पेसामा समस्या भएको तुलसीपुर निवासी किसान प्रेम केसी बताउँछन् ।
‘एकातिर सरकारले कृषिको उत्पादन र उत्पादकत्वलाई प्राथमिकता दिएका छौँ भन्छ भने अर्कोतर्फ किसानले चाहिने जति मल समयमै पाउन सकेका छेनन्’, उनले भने, ‘जसले गर्दा खेतीको समयमा किसानलाई मल खोज्नकै लागि कुद्नुपर्ने बाध्यता छ ।’ सरकारले कृषिको समृद्धिका लागि नीति बनाए पनि नीति कार्यान्वयनमा ध्यान नदिँदा किसान समस्यामा परेको उनी बताउँछन् ।
उनको जस्तै अनुभव छ, तुलसीपुर–१८ निवासी किसान राकेश बस्नेतको पनि । किसानका लागि सरकारले अनुदानको रासायनिक मल दिने गरेको सुन्ने गरे पनि आफूले पाउन नसकेको बताउँछन् । ‘खेती गर्ने समय आयो तर अनुदानको रासायनिक मल पाउनै सकिएको छैन’, किसान बस्नेतले भने, ‘खेतीको समयमा किसानले नपाउने मल कहाँ गइरहेको छ ?
त्यसको अनुगमन पनि हुन सकेको छैन ।’ धान खेतीका लागि असारमा रासायनिक मलको खोजी गर्नुपर्ने अवस्था रहेको भन्दै उनले सहज रूपमा किसानले भनेकै समयमा मल पाउन सक्ने अवस्था नहुँदासम्म कृषिको समृद्धि हुन नसक्ने बताउँछन् ।
अनुदानको रासायनिक मल सहज रूपले आवश्यक मात्रामा उपलब्ध नहुँदा खेतीको समयमा बर्सेनि समस्या हुने गरेको किसान मोहवीर केसी बताउँछन् । उनले गाउँमा आफूजस्तै धेरै किसान मलको खोजीमा दैनिक सहकारीको कार्यालयसम्म जाने गरेको बताउँछन् ।
एक पटक रासायनिक मल प्रयोग गरिसकेको खेतमा अर्को पटक रासायनिक मल प्रयोग नगर्दा धान राम्रो उत्पादन नहुने भएकाले खेतीका लागि मल अनिवार्य आवश्यकता भएको उनी बताउँछन् । ‘खेती गर्ने समय भएको छ, सहकारीमा मल आएको छैन भन्नुहुन्छ, मलको खोजीमा हामी छौँ’, उनले भने ।
दंगीशरण गाउँपालिका–७ निवासी ओखर चौधरीले पनि खेतीका लागि मल नपाएको बताए । कोटा अनुसार मल सहकारीलाई उपलब्ध भए पनि किसानलाई त्यो मल पर्याप्त मात्रामा दिन नसकिएको गुनासो छ । मणि कृषि सहकारी संस्थामा आफूहरूले मल लगेर किसानलाई वितरण गरे पनि सबैलाई आवश्यक मात्रामा पु¥याउन नसकिएको बताउँछन् ।
‘कृषि सामग्रीबाट आवश्यक मल कोटामा लगेर वितरण गरिरहेका छौँ’, उनले भने, ‘सबैलाई पुग्दैन, किसनाले देख्लास र पखलास भन्नुहुन्छ, मल पु¥याउनै समस्या छ ।’ यसैगरी अनुदानको रासायनिक मलको वितरण प्रणाली उपयुक्त नभएको किसान बताउँछन् । रासायनिक मल पहुँच हुनेले धेरै लैजाने र नहुनेले थोरै पाउने अवस्था रहेको किसानले गुनासो गरेका छन् ।
‘कसैको घरमा अर्र्को वर्षलाई पनि होला तर नहुनेले पाँच किलो पनि पाउन सकेका छैनन्’, उनले भने । जिल्लामा खेतीका लागि रासायनिक मल कति आवश्यक छ र को किसानलाई कति आवश्यक पर्छ, कुन किसानले कति पायो भन्ने यकिन तथ्याङ्क नहुनाले सधैँ मलको अभाव हुने गरेको छ ।
मलको अभाव छैन तर यो पर्याप्त होइन : कृषि सामग्री कम्पनी
तुलसीपुर क्षेत्रमा एक सय २५ वटा कृषि सहकारी संस्थामार्फत् सरकारी अनुदानकोे रासायनिक मल कृषकलाई बिक्री वितरण गरिँदै आइएको छ । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय तुलसीपुरले तुलसीपुरका ६७, दंगीशरणका १२, शान्तिनगरका १८, बबईका नौ र सल्यानका १९ वटा सहकारीलाई कोटा सिस्टमबाट मल वितरण गर्ने गरेको छ ।
कृषि सामग्री कम्पनीले वार्षिक लक्ष्य अनुसार मल आपूर्ति भइरहेको बताएको छ । यस आर्थिक वर्षमा युरिया, डिएपी, पोटास र कृषि चुन पाँच हजार पाँच सय २१ मेट्रिकटन वितरण गर्ने कम्पनीको वार्षिक लक्ष्य रहेकोमा पाँच हजार दुई सय ८८ मेट्रिकटन मल प्राप्त भएको कार्यालयका निमित्त प्रमुख कृष्णप्रसाद खनालले बताए । सोही लक्ष्य अनुसार मल आइरहेको भन्दै निमित्त प्रमुख खनालले युरिया ३५ सय मेट्रिकटन, डिएपी १८ सय मेट्रिकटन, पोटास दुई सय मेट्रिकटन र कृषि चुना २१ मेट्रिकटन वितरण गर्ने लक्ष्य रहेको बताए ।
जसअन्तर्गत हालसम्म तीन हजार दुई सय नौ मेट्रिकटन युरिया, एक हजार नौ सय ७१ मेट्रिकटन डिएपी र एक सय सात मेट्रिकटन पोटास प्राप्त भएको उनले बताए । हाल गोदाममा असार ५ गतेसम्म युरिया मलको मौज्दात १३२ दशमलव ८०० मेट्रिकटन, डिएपी १९८ दशमलव ३०० मेट्रिक टन, पोटास १५ दशमलव ९०० मेट्रिक टन मौज्दात छ ।