लघुकथा : राशिफल

यम रेग्मी

रामप्रसाद गाउँमा बस्छन् । उनलाई आफ्नै घरको भन्दा स्वर्ग र नर्कको बारेमा धेरै जानकारी छ । उनको एकमात्र इच्छा छ, मरेपछि स्वर्ग पुग्ने । यहीँ हेतुले सक्दो दान गर्छन् । दीन दुःखलाई सहयोग गर्छन् । हरेक वर्ष घरमा पूजा लगाउँछन् । तीर्थ जान्छन् । यसपालि कुम्भ मेलामा नुहाउन बडो हर्षका साथ प्रयागराज जादै छन् ।

सदाझैँ रामप्रसाद बिहानै उठे । नित्यकर्म गरे । लत्ता कपडा झोलामा ठिक पारे । श्रीमती पूजा सामग्री तयार पारिन् । हिँड्न तयार भए । उनी राशिफलमा धेरै विश्वास राख्दछन् । उनलाई सामान्य मान्छेभन्दा राशिफलको बारेमा धेरै जानकारी छ । यात्रामा निस्कनुभन्दा अगाडि राशिफल सुन्न टिभी अगाडि बस्छन् । टिभीमा राशिफल आउँछ र भन्न थाल्छ, ‘आर्थिक क्षेत्रमा फलदायी, स्वास्थ्यमा सुधार, व्यापारमा लाभ, मान्यजनसँग सुमधुर भेट, यात्रा असफल ।’

राशिफलले रामप्रसादको मन अमिलो बनाउँछन् । यात्रा रद्द गर्छन् र दोस्रो दिन सार्छन् । दोस्रो दिन पहिलो दिन झै तयारी गर्छन् । नित्यकर्म सकेर राशिफल हेर्न टिभी अगाडि बस्छन् । टिभीले उहीँ हिजोकै कुरा दोहो¥याउँछ । रामप्रसादको कोमल मन राशिफलले भारी हुन्छ । भारी मन लिएर यात्रा गर्न सक्दैनन् । दोस्रो दिन पनि यात्रा रद्द गर्छन् र तेस्रो दिन दिनको लागि सार्छन् ।

तेस्रो दिन पनि हिजो र अस्तिका झैँ तयारी गर्छन् र राशिफल सुन्न टिभीको अगाडि बस्छन् । टिभीले भन्न थाल्छ– ‘आर्थिक क्षेत्रमा हानी, स्वास्थ्यमा सामान्य असर, व्यापारमा नोक्सानी, यात्रा सफल ।’

राशिफलले रामप्रसादको मन प्रशन्न हुन्छ । उत्साहका साथ पत्नीसहित प्रयागराजको यात्रा प्रारम्भ गर्छन् । विडम्बना उनीहरु चढेको बस बाटोमै दुर्घटनामा पर्छ । दुबैजना गम्भीर घाइते हुन्छन् र अस्पतालमा भर्ना हुन्छन् ।