तुफानबाबु श्रेष्ठ
धेरै समय अघिको कुरा हो, एउटा कक्षामा एकजना गुरुजीले आफ्ना सबै छात्रहरूलाई सम्झाउन चाहन्थे कि प्रकृतिले सबैलाई समान अवसर दिएको हुन्छ र त्यो अवसरलाई उपयोग गरेर उसले आफ्नो भाग्य आफ्नै तरिकाले बनाउन सक्छ। यही कुरालाई ठीक तरिकाले सम्झाउनको लागि उनले तीनवटा कचौरा लिए । पहिलो कचौरामा एउटा आलु राखे, दोस्रोमा अन्डा र तेस्रो कचौरामा चियाको पत्ती राखे ।
त्यसपछि तीनवटै कचौरामा पानी राखेर उनले आगोमा उमाल्नको लागि राखिदिए। सबैजना छात्र यो सबै दृष्य अचम्भित भएर हेरिरहेका थिए तर कसैले पनि ती गुरुजीले गर्न खोजेको कुरा सम्झिन सकिरहेका थिएनन ्। बीस मिनेट पछि जब तीनवटै कचौरामा राखेको चिज उम्लियो, तब ती गुरूजीले सबै कचौरालाई भुईमा राखे र आलु, अन्डा र चियालाई बाहिर निकाले ।
त्यसपछि उनले सबै छात्रलाई तीनवटै कचौरालाई विशेष ध्यान दिएर हेर्नको लागि भने । अझै कुनै पनि छात्रले उनले गर्न खोजेको यस्तो प्रयोगको बारेमा केही कुरा सम्झिन सकेनन् । अन्तमा गुरुजीले एकजना बच्चालाई तीनवटै चिज (आलु, अन्डा र चिया) लाई स्पर्श गर्नको लागि भने । जब त्यो छात्रले आलुलाई हात लगायो तब थाहा पायो कि जो आलु पहिला धेरै कठोर थियो र केही समय पानीमा उम्लेपछि धेरै नरम भएको थियो ।
जब छात्रले अन्डालाई उठायो तब देख्यो कि जो अन्डा पहिला धेरै नाजुक थियो पानीमा उम्लिसकेपछि त्यो कठोर भइसकेको थियो । अब पालो थियो चियाको कप उठाउने । जब छात्रले चियाको कप उठायो तब देख्यो कि चियाको पत्तीले तातो पानीसँग मिलेर आफ्नो रूप बदलिसकेको थियो र अब त्यो चिया बनिसकेको थियो ।
त्यसपछि गुरुजीले सम्झाए कि, हामीले तीन अलग–अलग चिजलाई समान अवस्थाबाट गुज्रिन दियौँ । अर्थात तीनै चिजलाई समान रूपले पानीमा उमाल्याँै तर बाहिर आइसकेपछि तीनै चिज एक जस्तो रहेनन् । आलु जो कठोर थियो त्यो नरम भएको थियो, अन्डा पहिलाभन्दा कठोर भएको थियो र चियाको पत्तीले पनि आफ्नो रूप बदलिसकेको थियो ।
त्यसैगरी यही कुरा मानिसमा पनि लागु हुन्छ । सबैलाई समान अवसर प्राप्त हुने गर्छ र मुश्किल परिस्थिति पनि आउने गर्छ तर यो सम्पूर्ण अवस्था उसै माथि निर्भर गर्छ कि उसले समस्याको सामना कसरी गर्छ र मुश्किल अवस्थालाई पार गरिसके पछि ऊ के बन्छ ।