डेढ सय बढीको निःशुल्क आँखा जाँच

गोरक्ष समाचारदाता
तुलसीपुर, ७ असार । तुलसीपुरमा ११ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा निःशुल्क आँखा जाँच गरिएको छ । पतञ्जली योग अरनीको साधना केन्द्रको आयोजना तथा राप्ती आँखा अस्पताल तुलसीपुर–४ रक्षाचौरको प्राविधिक सहयोगमा तुलसीपुरमा निःशुल्क आँखा जाँच कार्यक्रम समम्पन्न भएको हो ।

अरनीको साधना केन्द्रका अध्यक्ष लोकराज गिरीको अध्यक्षता तथा नेपाल नेत्रज्योति संघका केन्द्रीय सदस्य एवम् दाङका सभापति कृष्णकुमार गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख आतिथि गिरीले पछिल्लो समयमा आँखाको सम्पूर्ण उपचार नेपालमै हुने गरेको बताए । उनले उपचारका लागि कुनै नागरिक देश बाहिर जानुपर्ने अवस्था नरहेको बताए ।

‘नेपालमा अन्य देशका नागरिक आँखाको सेवा लिन नेपाल आउनुहुन्छ’, केन्द्रीय सदस्य गिरीले भने । प्रमुख अतिथि गिरीले विभिन्न दातृ निकायको थोरै सहयोग प्राप्त भएको र नेपाल सरकारले तत्कालीन समयमा आँखाको सेवा प्रवाहका लागि नेपाल नेत्रज्योति संघलाई जिम्मेवारी दिएसँगै विभिन्न अस्पताल र उपचार केन्द्रबाट सर्वसुलभ सेवा प्रवाह भइरहेको बताए ।

‘अहिले भारत, भुटान, बंगलादेशलगायतका देशबाट नेपालमा आँखाको उपचार सेवा लिन सेवाग्राही आउनुहुन्छ’, केन्द्रीय सदस्य गिरीले भने, ‘कोही पनि पैसाको अभावले अन्धोपनमा जीवन बिताउन नपरोस् भन्ने हो ।’

जिल्लामा आफूहरूले आँखा उपचार सेवा प्रवाह गरिरहेको बताए । उनले राप्ती आँखा अस्पतालमा विभिन्न सेवा प्रवाह भइरहेको बताए । ‘हामी अन्धोपन न्यूनीकरण गर्न निरन्तर लागिरहेका छौँ, त्यसमा सबैले साथ र सहयोग दिनुपर्छ र दिइरहनुभएको पनि छ’, उनले भने ।

कार्यक्रममा राप्ती आँखा अस्पतालका मेसु सहायक प्राडा रन्जीतकुमार साहले योग स्वस्थ जीवनको बलियो आधार भएको बताए । उनले राप्ती आँखा अस्पतालमा अहिले विभिन्न विशिष्टीकृत आँखा उपचार सेवाहरू प्रवाह भइरहेको भन्दै अस्पतालको विकास र विस्तारका लागि सबैले सहयोग गर्नुपर्ने बताए । जलविन्दु रोग विशेषज्ञसमेत रहेका डा. साहले आँखा मानिसको महत्वपूर्ण अङ्ग भएको भन्दै आँखाको हेरचाह र आँखाको सुरक्षाका लागि सबै सचेत हुनुपर्ने बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश सोसल मिडिया प्रभारी डा. अरुणकुमार श्रेष्ठ, दाङ जिल्लाका सहप्रभारी विनोद चौधरीले, राप्ती आँखा अस्पतालले विभिन्न सेवा प्रवाह गरेको भन्दै आँखा जाँच कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिए । उनस्हरूले मानसिक एवम् शारीरिक स्वास्थ्यका लागि योगलाई गाउँगाउँ र बस्ती बस्तीसम्म पु¥याउनु पर्ने बताए ।

नगर सचिव पूर्णप्रसाद धितालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण साधना केन्द्रका सचिव हरि कँडेलले गरेका थिए । निःशुल्क आँखा जाँच कार्यक्रममा एक सय ५५ जनाको आँखा जाँच गरिएको थियो । जसमा ७० जनालाई नजिकको चस्मा वितरण गरिएको बाह्य कार्यक्रम सहसंयोजक पूर्णबहादुर वलीले जानकारी दिए ।

आँखा जाँच गरिएकामध्ये १० जनामा मोतियाविन्दु देखिएकाले उनीहरूलाई शल्यक्रियाका लागि राप्ती आँखा अस्पतालमा रिफर गरिएको छ । दृष्टि विशेषज्ञ ओम यादव, नेत्र सहायक रमेश गिरीलगायतको प्राविधिक टोलीले आँखा जाँच सेवा दिएको थियो ।