मानव अधिकार उल्लङ्घनका सय बढी घट्ना

अमरराज आचार्य
दाङ, ७ असार । दाङमा छ महिनाको अवधिमा एक सय बढी मानव अधिकार उल्लङ््घनका घटना घटेका छन् । सन् २०२५ जनवरीदेखि हालसम्मको अवधिमा एक सय १४ वटा मानव अधिकार उल्लङ्घनका घटना घटेका हुन् ।

इन्सेकले सङ्कलन गरेका तथ्याङ्क अनुसार जिल्लामा छ महिनाको अवधिमा एक सय १४ वटा मानव अधिकार उल्लङ्घनका घटना घटेका हुन् । यसरी भएका घटनामध्ये राज्य पक्षबाट सातवटा र गैरराज्य पक्षबाट एक सय पाँचवटा तथा अज्ञात पक्षबाट दुईवटा घटना भएका छन् ।

इन्सेकका जिल्ला प्रतिनिधि जेएन सागरका अनुसार छ महिनाको अवधिमा घटेका घटनाबाट एक सय १५ जना पीडित भएका छन् । जसमा ५६ महिला, २० जना पुरुष, ३ जना बालक र ३९ जना बालिका रहेका छन् भने एक सय २१ जना पिडक रहेका छन् ।

जिल्लामा यस अवधिमा सबैभन्दा धेरै घरेलु हिंसाका घटना भएका छन् । घरेलु हिंसाका ४३ वटा घट्ना भएकोमा ४३ जना महिला पीडित भएका छन् । यसरी घरेलु हिंसासम्वन्धी घटनामा एउटा सासुबाट बुहारी, छोराबाट आमा पीडित भएका तीन र ३६ वटा श्रीमान्बाट श्रीमती हिंसामा परेका घटना अभिलेख भएको इन्सेकका जिल्ला प्रतिनिधि सागरले जानकारी दिएका छन् ।

घरपरिवार तथा आफन्तबाटै घरेलु हिंसाका घटना बढी भएको देखिएको छ । बलात्कारसम्वन्धी ३३ घटना भएका छन् । जसमा २६ जना बालबालिका र सात जना महिला पीडित भएका छन् । बलात्कार प्रयासको घटना एउटा घटेको छ भने घटनामा एक महिला पीडित भएकी छिन् ।

यौन दुव्र्यवहारसम्बन्धी पाँचवटा घटना हुँदा पाँच बालिका पीडित भएका छन् । मानव बेचविखन तथा ओसारप्रसारसम्वन्धी घटना एउटा घटेको छ । जसमा एक महिला पीडित भएकी छिन् । हत्यासम्बन्धी आठवटा घटना भएका छन् । जसमा महिला एक, बालक दुई, पुरुष एक र तीन भु्रणहत्यामा बालिका रहेका छन् ।

कुठपिटसम्बन्धी सातवटा घटना भएका छन् । जसमा एक महिला, पाँच पुरुष, एक बालक र एक बालिका पीडित भएका छन् । यसैगरी दुव्र्यवहारसम्बन्धी पाँचवटा घटना भएका छन् । जसमा छ जना पुरुष पीडित भएका छन् ।

बन्दहडतालसम्बन्धी दुईवटा घटना भएका छन् । जसमा एक महिला, एक पुरुष पीडित भएका छन् । बालविवाहसम्बन्धी दुईवटा घटना भएका छन् । जसमा दुई बालिका पीडित भएका छन् । यसैगरी खाद्य अधिकारसम्बन्धी एउटा घटना भएको छ । जसमा दुईजना पीडित भएका छन् । तालाबन्दीसम्बन्धी एउटा, आत्महत्या दुरुत्साहनसम्बन्धी एउटा घटना भएको इन्सेकको छ महिनाको तथ्याङ्कले देखाएको छ ।

नेपाल मानव अधिकार वर्ष २०२६ का लागि दाङमा अभिलेख गरिएका घटनाहरू प्रकाशनपूर्व इन्सेकले अर्धवार्षिक समीक्षा कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम मानव अधिकार सञ्जालका सदस्य विनोद केसीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा बोल्दै उपप्रमुख डिसीले राज्यले अभिभाकत्व ग्रहण गर्न सक्नुपर्ने बताइन् । राज्यले बल नभई विवेक प्रयोग गरेर काम गर्नुपर्ने बताएकी थिइन् । सबैको सहयोगले र सहकार्यबाट कम गरिए सफल भइने भन्दै मानव अधिकार उल्लङ्घनका घटना न्यूनीकणका लागि सबै एकताबद्ध हुन आवश्यक रहेको बताइन् ।

यसैगरी २०८१ साउनदेखि २०८२ असार ५ गतेसम्म ५२२७.९५० मेट्रिक टन मल बिक्री भएको लेखापाल कृष्णशरण चौधरीले जानकारी दिए । ‘लक्ष्य अनुसार मल आएकै हो, आउने तयारी पनि छ, अभाव भन्ने हो भने छैन तर यो मल पर्याप्त होइन, माग बढी छ’, उनले भने, ‘आएको मल हामीले सहज र कोटा अनुसार वितरण गरिरहेका छौँ तर वितरण प्राणालीलाई सुधार गर्नु आवश्यक भने छ ।’

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक रामकुमार केसीले नेपाल प्रहरी मानव अधिकार कार्यान्वयन गराउन गम्भीर रहेको बताए । कानून अनुसार नेपाल प्रहरीले काम गर्ने उनको भनाइ थियो । कार्यक्रममा बोल्ने अन्य वक्ताले अझै पनि सबै घटना बाहिर नआउने गरेको बताएका थिए ।

मानव अधिकारसम्बन्धी घटना न्यूनस्करणका लागि सचेतना जगाउनु पर्ने बताएका थिए । कार्यक्रममा नेपाली कांग्रेस घोराही नगर सभापति तिलक रावत, राष्ट्रिय जनमोर्चाका मेघराज भट्टराई, नागरिक समाजका पूर्वअध्यक्षहरू केबी मसाल, चन्द्रराज पन्त, समाजका सचिव नारायणप्रसाद श्रेष्ठ, महिला अधिकारकर्मीहरू सुशीला पौडेल, अनिता पोख्रेल, खुमा खड्का मानवकल्याण तथा वातावरण संरक्षण केन्द्रका अध्यक्ष कमल गौतम, जुनु चौधरीलगायतले भनाइ राखेका थिए । कार्यक्रमको सहजीकरण इन्सेकका जिल्ला प्रतिनिधि जेएन सागरले गरेका थिए ।