गोरक्ष समाचारदाता
दाङ, ४ असार । नेपाली कांग्रेस दाङले कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री ढुण्डिराज शास्त्रीको निधनप्रति दुःख व्यक्त गरेको छ ।
नेपाली कांग्रेस दाङको बुधवार घोराहीमा बसेको बैठकले नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा, सरल र निष्ठावान राजनीतिज्ञ, समाजवादी चिन्तक शास्त्रीको निधनप्रति व्यक्त गरेको हो । नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको सभापतित्वमा बसेको बैठकले मृतक शास्त्रीप्रति श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको कांग्रेस दाङ सचिव अर्जुन योगीले जानकारी दिएका छन् ।
पूर्वमन्त्री शास्त्रीको काठमाडौं मेडिकल कलेज, सिनामंगलमा उपचारका क्रममा ८९ वर्षको उमेरमा सोमवार बिहान निधन भएको थियो । शास्त्रीले नेपाली कांग्रेसको राजनीतिमा जननायक वीपी कोइराला, लौहपुरुष गणेशमान सिंह, सन्त नेता कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालालगायतका शीर्ष नेतासँग निकटमा रहेर काम गरेका थिए । उनी आम निर्वाचन २०४८ र २०५१ मा अर्घाखाँची निर्वाचन क्षेत्र नं। २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।