दाङ महिला जेसीजद्वारा प्रजनन स्वास्थ्यबारे परामर्श

गोरक्ष समाचारदाता
दाङ, ४ असार । घोराही–५ धर्नास्थित फूलबारी टोलमा प्रजनन स्वास्थ्यबारे परामर्श कार्यक्रम गरिएको छ । दाङ महिला जेसीजको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत बुधवार पाँचौँ दिन फूलबारी टोलमा प्रजनन स्वास्थ्यबारे परामर्श गरिएको हो ।

दाङ महिला जेसीज अध्यक्ष अनिता ढकालको अध्यक्षता तथा घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महिला, किशोरीलाई प्रजनन स्वास्थ्यका बारेमा सचेतना प्रदान गर्दै प्रजनन स्वास्थ परामर्श गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि डिसीले पछिल्लो समय महिलाको प्रजनन स्वास्थ्यमा चुनौती थपिँदै गएको हुँदा यस प्रकारका कार्यक्रमले महिलाको स्वास्थ्यमा सुधार ल्याउन सघाउने बताइन् । उनले पालिकाले महिलाको पाठेघरको मुखको क्यान्सर न्यूनीकरणका लागि भिआईए स्क्रिनिङलाई प्राथमिकता दिएर काम गर्दा थुपै्रले समयमै उपचार सेवा पाउन सफल भएको बताइन् ।

गाउँघरमा अझै पनि यौन तथा प्रजनन स्वास्थ्यलाई लाजका रूपमा लिने र रोग लुकाएर बस्ने परिपाटीका कारण धेरैले अकालमा ज्यान गुमाउने गरेको भन्दै दाङ महिला जेसीजले प्रजनन स्वास्थ्य सचेतना अभियान गाउँसम्म पु¥याएर सराहनीय काम गरेको बताइन् ।

महेन्द्र मावि धर्नामा अध्ययनरत छात्रा, स्थानीय महिलाले प्रजनन स्वास्थ परामर्श लिए । एक सय ३० बढीलाई सचेतना प्रदान गरिँदा ३० जना बढीले प्रजनन स्वास्थ्यबारे परामर्श लिएका थिए । कार्यक्रममा परामर्शदाताका रूपमा विएस डाईग्नोष्टिक प्रालि घोराहीका स्त्री रोग विशेषज्ञ डा. मेलिना हमाल रहेकी थिइन् ।

प्रजनन स्वास्थ्य परामर्श कार्यक्रममा घोराही–५ का वडा सदस्य भुमबहादुर गिरी, सरिकोट सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हिरालाल डाँगी, विएस डाईग्नोष्टिक प्रालिका सञ्चालक शिशिर सुवेदीलगायत बोलेका थिए ।

दाङ महिला जेसीजकी सदस्य सरस्वती वली केसीको आस्थापाठबाट सुरु भएको कार्यक्रममा कार्यक्रम संयोजक माया चौधरीले स्वागत गरेकी थिइन् । सप्ताहव्यापी कार्यक्रमबारे मूल संयोजक लक्ष्मी चौधरीले जानकारी गराएको कार्यक्रममा धन्यवाद तालिम निर्देशक आराधना सिंह ठकुरीले व्यक्त गरेकी थिइन् । कार्यक्रमको सहजीकरण महासचिव भीमा डिसीले गरेकी थिइन् ।