व्यापार व्यवसायलाई चलायमान बनाउन आवश्यक छ : अध्यक्ष केसी [अन्तर्वार्ता]
प्रजातान्त्रिक उद्यमी संघ दाङ प्रजातन्त्रप्रति आस्था राख्ने उद्योग व्यवसायीहरुको साँझा संस्था हो । व्यवसायिक हकहितसँगै प्रजातन्त्रप्रति आस्था राख्ने व्यवसायीलाई गोलबन्द गर्नेदेखि सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क स्वास्थ्य शिविरसँगै आर्थिक रुपमा विपन्न, असाहय नागरिक तथा विपद्को समयमा सहयोगीका रुपमा काम गर्दै आएको छ । दाङमा एक दशक अघि स्थापना भएको प्रजातान्त्रिक उद्यमी संघको नेतृत्वमा व्यवसायी मानु केसी रहेका छन् ।
संघको विधान मस्यौदा समितिमा समेत रहेर काम गरेका केसी दोस्रो अधिवेशनबाट सदस्य, तेस्रो अधिवेशनबाट उपाध्यक्ष र चौथो अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए । संस्थापक अध्यक्ष हुमाकान्त अधिकारीको नेतृत्वमा संघमा आवद्ध भएका केसीले मनोज बुढाथोकी, गुरुप्रसाद कँडेलको नेतृत्व हुँदै आफूले नेतृत्व गर्ने अवस्थामा आइपुग्दा संघलाई झोलाबाट कार्यालय स्थापना गर्ने अवस्थामा पु¥याएका छन् ।
करिब पाँच सयदेखि ६ सय उद्योग व्यवसायी आवद्ध संघ पाँचौ साधारणसभा तथा पाँचौ अधिवेशनको तयारीमा जुटेको छ । यसै सन्दर्भमा संघका अध्यक्ष मानु केसीसँग गोरक्षकर्मी लीलाधर वलीले संघले व्यवसायीको हकहितका लागि गरेका काम, सामना गर्नुपरेका चुनौती र गर्नुपर्ने कामका सन्दर्भमा केन्द्रीत रहेर गरिएको कुराकानीको सार सङ्क्षेप ।
प्रजातान्त्रिक उद्यमी संघ भनेको कस्तो संस्था हो, यसले के काम गर्छ ?
प्रजातन्त्रप्रति आस्था राख्ने उद्योगी व्यवसायीहरूको साझा संस्था हो, प्रजातान्त्रिक उद्यमी संघ । जिल्लामा २०६८ सालमा यो संस्था स्थापना भएको थियो । संघले स्थापना कालदेखि नै निरन्तर रूपमा व्यवसायीलाई सङ्गठित गर्दै व्यवसायिक हकहितका लागि आवाज उठाउँदै आएको छ ।
साथै विभिन्न समयमा सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य शिविर, विपद्को समय होस् वा अन्य समयमा सहयोगलगायतका काम समेत गर्दै आएको छ । साथै उद्योग वाणिज्य संघको निर्वाचनमा आफ्ना उम्मेदवारलाई विजयी बनाउनेदेखि संघमा व्यवसायीलाई एकताबद्ध गर्नेदेखि व्यवसायिक सुरक्षाका लागि काम गर्ने गर्दछ ।
दाङमा व्यापार व्यवसायको वर्तमान अवस्था कस्तो छ ?
अहिलेको अवस्थामा दाङको व्यापार व्यवसायको अवस्था सन्तोषजनक छैन । व्यवसायीहरू निराश हुुनुपर्ने अवस्था छ । व्यापार व्यवसाय राम्रोसँग चल्न सकेको छैन । अहिले पनि सटरमा ताला लाग्ने क्रम रोकिएको छैन । यो चिन्ताको विषय हो । व्यवसायलाई चलायमान बनाउनका लागि तीनै तहका सरकारले सहयोग गर्न आवश्यक छ ।
व्यवसायमैत्री वातावरणसँगै व्यवसायीलाई ऋणमा सहुलियत दिनुपर्छ । कतिपय व्यवसायी बंैकको महङ्गो व्याजदरका कारण ऋण तिर्न नसकेर समस्यामा पर्ने र व्यवसाय छोड्न बाध्य छन् । साना व्यवसायीमाथि उठ्न सक्ने अवस्था छैन, व्यवसायका क्षेत्रमा देखिएका समस्या अन्त्यका लागि तीनै तहका सरकारले व्यवसायमैत्री नीति बनाउन आवश्यक छ ।
व्यवसायिक क्षेत्रबाट लामो समय भयो निराशाका कुराहरू उठ्न थालेको, किन होला ? अहिलेसम्म समस्या समाधान हुन नसकेको ?
हो, कोरोना सङ्क्रमणको कालदेखि व्यापार व्यवसायमा असर परेको हो । व्यवसायिक क्षेत्र ओरालो लागेको हो । जसका कारण देशको आर्थिक अवस्था अझैसम्म ठाउँमा आउन सकेको छैन । व्यवसायीहरू मारमा परिरहेका छन् ।
व्यवसायीहरू पलायन भइरहेका छन् । सङ्कटको समयमा व्यवसायलाई कसरी बचाउने, नयाँ व्यवसायीलाई कसरी आकर्षण गर्नेलगायतका विषयमा सरकारले ध्यान दिनुपथ्र्यो । व्यवसायिक क्षेत्रमा परेको समस्या समाधानका लागि सरकारले ध्यान नदिँदा व्यवसायीहरू समस्यामा परेका छन् । जसले गर्दा व्यवसाय छोड्न बाध्य छन् । सङ्कटको समयमा व्यवसायीलाई बचाउनका लागि करमा छुट, सहुलियतमा ऋणको व्यवस्था सरकारले गर्नु पर्ने भए पनि गर्न सकेको छैन ।
युवालाई उद्यमशीलतामा आकर्षण गर्नेदेखि स्थानीय उत्पादनको बजारीकरण गर्नका के गर्नुपर्ने आवश्यकता छ ?
आर्थिक अवस्था कमजोर रहँदा सबै क्षेत्रमा निराशा छ । व्यवसायिक क्षेत्रमा झन धेरै निराशा छ । लामो समयदेखि व्यवसायमा संलग्न नै व्यवसाय छोड्ने अवस्थामा पुगेका छन् । जसका कारण मुख्य बजारमै अहिले पनि कतिपय सटरहरू खाली छन् । यो अवस्था राम्रो होइन, स्थानीयदेखि प्रदेश र संघ सरकारले यसतर्फ ध्यानदिनुपर्छ । नयाँ व्यवसायलाई उद्योग व्यवसायमा आकर्षण गर्नका लागि प्याकेज बनाएर सहुलियतामा ऋणको व्यवस्था गर्नुपर्छ ।
स्थानीय उत्पादनको बजारीकरणका लागि बाहिरबाट आउने सामग्री रोक्नुपर्छ । दाङमै तरकारी, माछा, केरा, दुधलगायतका कृषि उत्पादन राम्रो हुने गरेको छ । तर, बजारीकरणका लागि राज्यले किसानलाई सहयोग गर्न सकेका छैन । व्यवसायीले आफ्नै तरिकारले गरिरहेका छन्, व्यवसायीलाई जुनसुकै पेसामा लाग्न राज्यले प्रेरित गर्ने गरी नीति बनाउन आवश्यक छ । त्यही अनुसारको सेवा सुविधा दिन आवश्यक छ ।
नेतृत्वमा रहेर काम गर्दा के कस्ता चुनौतीहरूको आइ परे ?
कुनै पनि संघसंस्थाको नेतृत्वमा रहेर काम गर्दा पक्कै पनि चुनौतीहरू रहन्छन । चुनौतीलाई कसरी समाधान गर्ने त्यो आफूमा भर पर्ने कुरा हो । संस्थाको नेतृत्वमा रहेर काम गर्दा संस्थागत रूपमा अघि बढ्नुपर्छ । संस्थामा सबैसँग समन्वय गर्ने, सहकार्यबाटै संस्थाका काम गर्दा खासै चुनौती भोग्नु पर्दैन । प्रजातान्त्रिक उद्यमीसँग व्यवसायिक हकहितसँगै व्यवसायलाई एकजुट गराउने संस्था हो ।
व्यवसायीलाई एकतावद्ध गराउँदै संस्थालाई बलियो बनाउँदै अघि बढेका छाँै । झोलामा रहेको संस्थालाई सबैको समन्वयबाट कार्यालय स्थापना गरेर सञ्चालन गरेका छौँ । जग्गाको व्यवस्थापन गरेर कार्यालय स्थापना गर्नुपर्छ भन्ने सोच छ, अधिकांश व्यवसायी साथीहरूको चाहना पनि छ । त्यो चुनौतीको काम भए पनि अब आउने नेतृत्वले पूरा गर्ने छ भन्ने विश्वास छ ।
व्यवसायीक क्षेत्रमा देखिएका समस्या समाधानका लागि संघले पहल गरेको छ त ?
प्रजातान्त्रिक उद्यमी संघले छुट्टै आफ्नै अगुवाइमा व्यवसायीका मुद्दा उठाएर बोल्ने गरेको त छैन । तर, प्रजातान्त्रिक उद्यमी संघले व्यवसायीका हकहितसँगै जिल्लाको विकासका लागि पक्कै पनि पहल गर्दै आएको छ । प्रजातान्त्रिक उद्यमी संघ नेपाली कांग्रेसप्रति आस्था राख्ने उद्योगी व्यवसायीहरूको संघ हो ।
संघले एकल रूपमा अघि बढ्दा पार्टीगत आरोप लाग्ने भएकाले व्यवसायीक हकहितसँगै विकास निर्माणका सवालमा दाङ उद्योग वाणिज्य संघमार्फत् कुराहरू उठाउने गरेका छौँ ।
व्यवसायीले भोग्नु परेका समस्या मात्र होइन, दाङको उद्योग व्यवसायलाई चलायमान बनाउनका लागि दाङमा औद्योगिक ग्राम स्थापना, कोइलावास नाका सञ्चालन, दाङमा नापतौला कार्यालय स्थापनासँगै टरिगाउँ एयरपोट नियमित रूपमा सञ्चालन हुनुपर्छ भनेर आवाज उठाउँदै आएका छौँ ।
संघको नेतृत्वमा रहेर तपाईले तीन वर्ष काम गर्नुभयो, यो समयलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
संघमा करिब १२÷१३ वर्षदेखि आवद्ध रहेको र पछिल्लो तीन वर्षदेखि नेतृत्वमा रहेर काम गर्ने अवसर प्राप्त गरे । यो अवधिमा प्रजातन्त्रप्रति आस्था राख्ने व्यवसायीलाई एकजुट बनाउनेदेखि हकहितका लागि आवाज उठाउने काम संघले गरेको छ । संघलाई व्यवस्थित गर्ने काम भएको छ ।
घोराही–१४ मा भाडामा कार्यालय सञ्चालन गरेका छौँ । हाम्रै कार्यकालमा उद्योग वाणिज्य संघको चुनावमा संघले उठाएका उम्मेदवारलाई विजयी गराउने काम भएको छ । यी सँगै व्यवसायिक सुरक्षा, सचेतना र विपद्को समयमा सहयोगी भूमिका खेल्दै आएका छौँ । संघको कोषमा पैसा बचत गर्न पनि सफल भएका छौँ । यी सबै हिसाबले यो कार्यकाललाई मूल्याङ्कन गर्दा उत्कृष्ट भन्न सकिन्छ ।
अधिवेशन नजिकिएको छ, फेरि नेतृत्वमा दोहोरिने चाहना त, छैन ?
प्रजातान्त्रिक उद्यमी संघ दाङको ५औँ अधिवेशनको तयारीमा छौँ । यही असार ७ गते घोराहीमा संघको ५औँ वार्षिक साधारणसभा तथा ५आँै अधिवेशन हुँदैछ । अहिले अधिवेशनका लागि सदस्यता नवीकरण आर्थिक तथा साङ्गठनिक प्रतिवदेन तयार गर्नेदेखि अथितिहरूलाई निमन्त्रणाका लागि पत्राचार गर्नेलगायतको तयारीमा छौँ ।
जिम्मेवारी अनुसार सबै आ–आफ्नो तयारी लाग्नु भएको छ । तपाईले राख्नु भएको नेतृत्वमा दोहोरिने चाहना व्यक्तिगत रूपमा भन्ने हो भने छैन तर उद्योगी व्यवसायीको हकहित र संस्थालाई चलायमान बनाउनका लागि कतिपय साथीहरूले पुनः नेतृत्व गर्नुपर्छ भनिरहनुभएको छ । यसका लागि मैले साथीहरूसँग सल्लाह गरिरहेको छु, अहिले के गर्ने भनेर भन्न सक्ने अवस्था छैन तर सङ्गठनका लागि योग्य र संघलाई चलायमान बनाउन सक्ने नेतृत्वको आवश्यकता छ ।
झोलामा रहेको संघलाई हामीले अहिले कार्यालय स्थापना गरेर सञ्चालन गरिरहेका छौँ । अहिले मासिक करिब २५ हजार रुपैयाँ तिर्न पर्ने आवश्यककता छ । हाम्रो चाहना छ प्रजातान्त्रिक उद्यमी संघको आफ्नै कार्यालय बनोस् । आगामी नेतृत्व यसकै लागि पनि योग्य व्यक्ति नेतृत्वमा आउनु पर्छ भन्ने चाहना छ ।
अन्त्यमा केही भन्नु छ ?
धेरै कुरा भनिसकेको छु । अन्त्यमा प्रजातान्त्रिक उद्यमी संघले तीन वर्षको अवधिमा गरेका कामसँगै व्यक्तिगत रूपमा मेरो धारणा राख्ने अवसर दिनुभएकोमा धेरै धेरै धन्यवाद दिन चाहान्छु । साथै आगामी दिनमा पनि व्यवसायी हकहितका लागि सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
