दृष्टिविहीन, ज्येष्ठ नागरिक र बिरामीलाई निःशुल्क अटो सेवा

गोरक्ष समाचारदाता
दाङ, ४ असार । घोराहीका एक अटो सञ्चालकले दृष्टिविहीन, ज्येष्ठ नागरिक, असाहय तथा बिरामीलाई निःशुल्क अटो सेवा दिने गरेका छन् । घोराही उपमहानगरपालिका–३ भानपुर चोक निवासी रेसु घिमिरेले दृष्टिविहीन, ज्येष्ठ नागरिक तथा बिरामीलाई निःशुल्क अटो सेवा दिने गरेका छन् ।

केही महिनादेखि घिमिरेले दृष्टिविहीन, ज्येष्ठ नागरिक, असहाय तथा बिरामीलाई सेवा दिन थालेको भन्दै उनले बिहानको दुई घण्टाको समय छुट्याएर निःशुल्क सेवा दिने गरेको बताए । ‘बिहानको समय छुट्याएर निःशुल्क सेवा दिने गरेको छु’, उनले भने, ‘अन्य समयमा पनि सेवा दिँदै आएको छु ।’ दृष्टिविहीन, मृगौला, क्यान्सरका बिरामीलाई दिनभरी नै निःशुल्क अटो सेवा दिने गरेको उनी बताउँछन् । आफूले दिने निःशुल्क अटो सेवा लिन आग्रह गर्दै उनले भने, ‘सेवा दिन म तयार छु, तपाईँहरूले आवश्यक परेको समयमा सम्झन सक्नुहुन्छ ।’ कमाउनु मात्र नभई समाज सेवा पनि गर्नुपर्छ भन्ने उद्देश्यले आफूले निःशुल्क अटो सेवा सुरु गरेको घिमिरे बताउँछन् ।

‘मैले अटो चलाउँदासम्म निःशुल्क अटो सेवालाई निरन्तरता दिनेछु’, उनले भने । अटो चलाउँदा प्रायः दृष्टिविहीन, ज्येष्ठ नागरि, असहाय, बिरामी समस्यामा परेको देखेर उनीहरूका लागि निःशुल्क अटो सेवा थालेको उनले बताए । ‘कमाउनु मात्र ठुलो कुरा होइन, समाज सेवा मानव धर्म हो, कर्म आफ्नो ठाउँमा छँदैछ’, उनले भने, ‘मबाट कसैलाई थोरै भए पनि सहयोग पुग्छ भने मैले सहयोग गर्नुपर्छ भन्ने हो ।’

अहिले घोराही उपमहानगरपालिका– ३ र ४ वडामा सेवा दिइरहेका उनले सेवा विस्तार गर्ने बताएका छन् । यसलाइ विस्तार गरेर नारायणपुरसम्म पु¥याउने उनले बताए । सेवा गर्न चाहनेहरूसँग सहकार्य गर्न आफू तयार रहेको उनी बताउँछन् । करिब १३ वर्षे जागिर गरेका उनले आठ महिनादेखि अटो चलाउन सुरु गरेका हुन् । अरूभन्दा फरक हिसाबले सेवा दिने उनको उद्देश्य छ । ‘मैले पैसा कमाउने द्दद्देश्यले मात्र अटो चलाउन सुरु गरेको होइन्’, उनले भने । अहिले अटोबाट हुने आम्दानीले उनले ६ जना परिवारको चलाउने गरेका छन् ।