झुट लुक्दैन, सत्य छिप्दैन

नारायणप्रसाद श्रेष्ठ

बोली वचन र भाषामा शिष्टता र नम्रता, कर्ममा लगनशीलता, मानव जीवनको महत्वपूर्ण र उत्कृष्ट कार्य हुन् । साँचो र सत्य वचन मानव जीवनलाई सफल बनाउने मुख्य आधार पनि हुन् । जीवनको गतिशिलता र हरेक क्षणमा यी कुराहरु मानव जीवनको सफलता र असफलतासँग गाँसिएको हुन्छ ।

मानव जीवनलाई रशयुक्त वा निरश बनाउने वा नबनाउने मानव आचरणले निर्वाह गर्ने यिनै कुरामा निर्भर रहेका हुन्छन् । बोलीमा नम्रता र शिष्टता छ एक अर्कामा सहयोग र सद्भाव बाढ्ने अभिप्रायः पनि देखिन्छ तर पनि यदि वचन कर्म र व्यवहारमा सत्यता छैन भने त्यो जीवन साच्चिकै बोझ बन्न सक्छ । यसले आफूलाई मात्र होइन समाज र सामाजिक परिवेश पनि धमिलो बनाउन सक्छ ।

प्रकृति र पर्यावरण समेत दुषित हुने अवस्था रहन्छ । यतिमात्र होइन यसले प्रत्यक्षतः चरित्रमाथि पनि प्रश्न चिन्ह खडा गर्न सक्छ । हुन त मानव सोच र चिन्तनमा आएको नकारात्मक प्रवृतिको कारण एउटा असत्यले के नै होला भनेर क्षणिक स्वार्थको कारण मानिसले झुटको सहारा लिएको पाइन्छ ।

त्यहीँ झुटको कारण मानिसले भौतिक विलासीमा आफूलाई चुर्लुम्म डुबाएको अवस्था पनि देखिन्छ, झुटको सहाराले क्षणिक सुखानुभूति गरेको पनि देखिन्छ तर जब सत्य कुरा बाहिर आउँछ उसका प्रत्येक कर्मबाट निस्किएका सबै कर्महरु स्वार्थमा रुपान्तर भएको देखिन्छ । उ स्वयम् पतित र आचरणहिन देखिन पुग्दछ । जसको कारण उसको नैतिक धरातल भासिन पुगी उ स्वयम्ले आफूले आफैलाई हिनताबोध भएको महसुस गर्न थाल्दछ ।
तसर्थ सत्य सधै सत्य रहने र झुट लुक्दैन सत्य छुप्दैन भन्ने मान्यतालाई सिरोधार्थ गरी सधै सत्य बोल्ने प्रयास गर्नुपर्दछ तब जीवनले सहि गन्तव्य पकड्न सक्छ । मानिसले सधै सन्तुष्टि रहने अवस्था हुन्छ ।

बोल्नु बडो अनमोल हो, बोल्नुभन्दा पहिले शब्दलाई हृदयको तराजुमा तौलेर सत्य वचन बोल्नु पर्दछ । कहिले काही अपवादको रुपमा देखिने केही क्षण जुन क्षणले सत्य कुरा ओकल्दा मानव जीवन नै धराप पर्ने अवस्था हुन्छ । त्यसबेला गभ्भीर भएर नरोःवा कुन्जरोः अस्वथमा हतोहतः भने झैँ घुमाउरो पारामा सत्य ओकल्नु पर्ने अवस्था आउन पनि सक्छ । तर पनि झुटको सहारा कहिलै लिनु हुँदैन ।

क्षणिक झुटको कारण मानिसले प्राप्त गरेको बर्षौको त्याग र समर्पण तासको घर झै ढल्न सक्ने अवस्था रहन्छ । जीवन निराश बन्न पुग्दछ । त्यहीँ झुटको कारण उसले चाहेर पनि पूर्व सम्मान र प्रतिष्ठा जोगाउन सक्दैन । उसले न त आफन्त र समाजको विश्वास पात्र बन्न सक्छ न त सामाजिक उत्प्रेरक बन्ने अवस्था हुन्छ ।

जसको कारण उसले एउटा झुटले अनेक झुटको सहारा लिँदै उ स्वयम् त्यहीँ भुमरीमा डुब्ने अवस्था हुन पुग्दछ । एक स्थान विशेषमा मात्र होइन सहर्ष अस्थानमा उसको इमेज खराब हुँदै जाने हुन्छ । देख्दामा उ मानव शरीरधारी जीवात्मा त देखिन्छ तर उसप्रतिको भरोसा र विश्वास टुटिसकेको हुन्छ ।

तसर्थ जीवनलाई निराश वा रसयुक्त बनाउने यो मानव जीवनले स्वयम् बुझ्न सक्नुपर्दछ । जीवनलाई सफल वा असफल के बनाउने व्यक्ति स्वयम् जिम्मेवार हुने हुँदा मानिसले आफूले आफैलाई आफ्नो मनको पवित्रतालाई साक्षी राखी सत्यताको पालन गर्ने गराउने वातावरण बनाउन सक्नु पर्दछ ।

जीवनको सुरु र अन्त्य विश्वास र सत्यमा अडेको कारण समाज निर्माण भई सामाजिक परिवेशभित्र हुनुपर्ने आत्मियता बढेको हुन्छ, नैतिक धरातल स्वच्छ र पवित्र भएर उज्यालो भविष्य निर्माण हुँदै गएको हुन्छ । आपसी विश्वास र भाइचाराको नाता यहि सत्यबाट नै परिमार्जित हुँदै समाज आदर्श गति उन्मुख हुने र समाजको यहि आदर्शता नयाँ पिढिको लागि असल मार्ग निर्देशन बन्ने हुँदा वचनमा सत्यता कर्ममा निस्वार्थ भाव जागृत गराइरहनु पर्दछ ।

त्यसैले सत्यताभित्र जीवनको प्रत्येक क्षण गतिशिल रहने हुँदा एक अर्काबिच आत्मियता र सम्बन्धमा न्यानोपन बनाइ रहनुपर्दछ । यहि आत्मियता, अनुशासित र मर्यादित जीवनशैली सृष्टिको गतिशिलतामा पवित्र र सत्य सावित भई चलायमान भइरहने हुन्छ । त्यसैले मानव आचरणभित्र रहेको यो मूल तत्वलाई प्रत्येकले सधै सचेत भएर अंगीकार गरिरहनु पर्दछ ।

सूर्यलाई हत्केलाले छोप्छु भनी सामाजिक संरचनाको प्राकृतिक सत्यलाई नै चुनौती दिनु भनेको आफूले आफूलाई अन्धकारमा धकेल्नु हो किनकि हत्केलाले केवल आफूलाई मात्र छेक्न सक्छ अरुलाई होइन । भूमण्डलीय प्राकृतिक सत्यभित्रको सूर्यको सर्वव्यापकतालाई हत्केलाले छेक्नु भनी अहंकार गर्नु आफैलाई समाजबाट बहिस्कृत गराइ अध्यारोमा धकेल्नु हो ।

औशीको रातमा उज्यालो खोज्दै भौतारिनु हो । काटिएको चंगा झै जीवनको गतिशीलतालाई गन्तव्यहिन क्षेत्रतिर डगमग–डगगम गर्दै दिसाहिन भएर भौतारिनु हो । त्यसैले मानव जीवनलाई आचरणयुक्त नैतिक धरातलभित्र रही उज्यालो भविष्यको गन्तव्यतिर लैजान वचन र व्यवहारमा सत्यता प्रर्दशन गर्न सक्नुपर्दछ । त्यसको लागि आध्यात्मिक सत्सँगको माध्यमबाट सामाजिक कुरीतिले पार्ने प्रभावलाई निर्मल गरी आत्मसत्यको पहिचान गर्ने संकल्प गर्नुपर्दछ ।

सत्यलाई आँसुरी शक्तिले पर्दा लगाउन खोजेको वास्तविकता बुझ्नु सक्नुपर्दछ । चर्मदृष्टिले देख्ने र सुन्दर मान्ने भौतिक जगतको चकाचौध र कृतिम बस्तु जसले क्षणिक र असत्यको भाव झल्काउँछ । त्यो तत्वलाई जान्नु सक्नुपर्दछ । तसर्थ ज्ञानको दैलो उघारी मानव चरित्रमा उत्तम मार्ग देखाउन सक्ने बुद्धको शान्ति र सत्यलाई बुझ्नुपर्दछ । यही चिन्तनले मानिसले आफूलाई सफलताको चोटीमा पु¥याउन सक्छ ।

त्यसैले स्वस्थ मनस्थितिको विजारोपन गरी सत्यको माध्यमबाट मानव चरित्रलाई भौतिक युगको क्षणिक विलासीबाट टाढा राख्न सक्नुपर्दछ । त्याग र समर्पणमा आधारित कर्म र वचनबाट नै मानव जीवन सफल हुनसक्छ भन्ने आधार बुझि भौतिक सत्यभित्र देखा पर्ने विलासी र क्षणिक ऐश आरामलाई जान्नुपर्दछ । एक अर्कामा विश्वासको वातावरण तयार गरी सत्यता नै जीवनको उद्देश्य हो र जीवनको सफलता र असफलता यसैमा अडेको सत्य बुझ्नुपर्दछ ।

हुन त भौतिक विलासीले डुबेको वर्तमानलाई हेर्ने हो र झुट फरेवको माध्यम मानिसले गरेको भौतिक विलासी प्रवृतिले सत्य कुरालाई कति आत्मसात गर्न सक्ला भनी प्रश्न उठ्न सक्छ ? आध्यात्मिक गोरेटो र सत्यभित्रको अदृश्य शक्तिलाई ढोङ्गको सज्ञा दिई भौतिक विलासीको क्षणिक आनन्दलाई जीवनको उद्देश्यसँग गासिएर हेर्ने प्रवृतिको बोलवाला हुनसक्ला ?

कहाँ आध्यात्मिक कहाँ भौतिक युग भनी भौतिक युगले ल्याएको सम्पर्क, संसारलाई साँगुरो घेराभित्र राखेको यथार्थलाई प्रष्ट्याउन खोजिएला तर भौतिक उन्नतिले ल्याएको परिवर्तनसँगै मानव जीवन नै संकटमा पार्ने र जीवनको अस्तित्व मेटाउने विकासको चोटीले ल्याएको यथार्थ के मानव जीवनको उद्देश्य हो र ?

यो पनि प्रश्न नउठ्ला भन्न सकिन्न तर यथार्थ त्यस्तो होइन सत्य सत्य नै हो भौतिक युगको नयाँपन विनासको कारक हो यो सबैले स्वीकार्न जरुरी छ । भौतिक युगले पनि यो कुरा स्वीकारेको अवस्था छ । देख्ने बस्तु सबै सुन्दर हुँदैनन् र सुन्दर बस्तु सधै सत्य पनि हँुदैनन् तर पनि त्यहीँ बस्तुलाई आफ्नो प्राप्तिको लक्ष्य बनाइ जसरी वर्तमानमा मानव सोच बढेको छ त्यसैको फलस्वरुप काम क्रोध लोभ–मोह र अंहकारको जन्म भई मानिस पतिततर्फ धकेलिरहेका छन् । उज्यालोबाट अध्यारोतर्फ दौडधुप गरिरहेको अवस्था छ ।

सुख र आनन्दको खोलभित्र गुम्सिनु नै जीवन हो भन्ने जुन गलत चिन्तन बढिरहेको छ यसले स्वार्थ र अहंकारको विजारोपण गरी समाज विकृति उन्मुख भइरहेको छ । त्यसैले सत्य के हो असत्य के हो यसको गहिरो चिन्तन गरी सोच र संकल्पमा निखार ल्याएर सत्यले देखाएको गोरेटोमा समर्पित हुने संकल्प गरौँ ।

सत्यताबाट नै जीवनले उज्यालो भविष्यको निर्माण गर्न सक्छ भन्ने मान्यता राखी सत्य बोलौँ सत्यमा आधारित जीवन चरित्र बनाऔँ यही नै जीवनको सफलता र आदर्शता हो । किनकि झुट लुक्दैन, सत्य छिप्दैन ।