होटललाई सुरक्षित र व्यवस्थित बनाउन आवश्यक

गोरक्ष समाचारदाता
दाङ, ४ असार । होटललाई सुरक्षित र व्यवस्थित गर्न आवश्यक रहेको एक कार्यक्रमका सहभागीले बताएका छन् । दाङ देउखुरी होटल व्यवसाय समितिको ३१ औँ स्थापना दिवसको अवसरमा मङ्गलवार भएको कार्यक्रममा बोल्ने वक्ताले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले होटल व्यवसाय नागरिकको दोस्रो घरका रूपमा रहेको भन्दै त्यसलाई सुरक्षित र व्यवस्थित बनाउन आवश्यक रहेको बताए । त्यसका लागि व्यवसायी जिम्मेवार बन्नुपर्ने र सुरक्षा निकायका तर्फबाट साथ रहने उनले बताए ।

प्रजिअ लम्सालले व्यवसायलाई रातिको समय थप गर्नुपर्ने व्यवसायीको मागलाई सम्बोधन गर्न प्रशासन तयार रहेको भन्दै त्यसका लागि व्यवसायीले सुरक्षाको मापदण्ड पालना गर्नुपर्ने बताए ।दाङ देउखुरी होटल व्यवसायी समितिका अध्यक्ष ईश्वर बुढाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीले होटल व्यवसायलाई पर्यटनसँग जोडर अगाडि बढाउनुपर्ने बताइन् ।

पर्यटकलाई आकर्षित गर्न होटल व्यवसायीको महत्वपूर्ण भूमिका रहने भन्दै उनले होटलको सरसफाइदेखि आतिथ्यतामा ध्यान दिनुपर्ने बताइन् । कार्यक्रममा चार जना व्यवासायी विष्णुप्रसाद पाण्डे, सेतुप्रसाद अधिकारी, अपाङ्गतातर्फ महेश चौधरी र महिलातर्फ दिलकुमारी बुढाथोकीलाई कदरपत्र प्रदान गरिएको थियो ।

संस्थाका पूर्वअध्यक्ष रुद्रबहादुर डाँगीको मृत्युपर्यन्त सम्मानपत्र उनकी श्रीमतीलाई प्रदान गरिएको थियो । समितिका उपाध्यक्ष खर्क पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव श्याम विकले गरेका थिए ।