गोरक्ष समचारदाता
दाङ, ४ असार । विपन्न बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरिएको छ । समाजकल्याण केन्द्र नेपालले विपन्न तथा असहाय बालबालिकालाई सहयोग कार्यक्रम अन्तर्गत घोराही–१६ स्थित आधारभूत विद्यालय सानी अम्बापुरमा अध्ययनरत दुई जना जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको हो ।
सानी अम्बापुरमा अध्ययनरत कक्षा ३ की झरना मल्ल र कक्षा ४ का समीर नेपालीलाई कापी कलम, झोला, पोसाक सहयोग गरिएको हो । दुवै विद्यार्थीलाई कक्षा १२ सम्म निःशुल्क अध्ययन गराउने गरी समाजकल्याण केन्द्रले अभिभावकत्व लिएको छ । कार्यक्रममा अन्य बालबालिकालाई पनि कापी, कलम सहयोग गरिएको थियो ।
समाज कल्याण केन्द्रकी अध्यक्ष निर्मला गौतमले संस्थाले हालसम्म २० जना असहाय, विपन्न, जेहेनदार तथा अभिभावकविहीन विद्यार्थीलाई कक्षा १२ सम्म अध्ययन गराउने गरी अभिभावकत्व लिएको बताइन् । जसमध्ये २ जनाले कक्षा १२ सम्मको अध्ययन पूरा गरिसकेका छन् भने दुई जनाले हालै एसइईको परीक्षा दिएका छन् ।
‘मन्त्र जप्ने ओठ भन्दा सेवा गर्ने हात पवित्र हुन्छन्’ भन्ने मान्यताका साथ २०७३ सालदेखि संस्थाले बालबालिकाको शिक्षासँगै लागूऔषध दुव्र्यसनविरुद्ध सचेतनाका कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा वडाध्यक्ष ताराबहादुर डिसीले असहाय र अनाथ बालबालिकाको निःशुल्क शिक्षाका लागि खुत्रुके अभियानका माध्यमबाट समाजकल्याण केन्द्रले खेल्दै आएको भूमिकाका कारण धेरै बालबालिकाले शिक्षा पाउन सफल भएको बताए ।
आधारभूत विद्यालय सानी अम्बापुरका प्रधानाध्यापक गुरुप्रसाद डिसीले केन्द्रले विद्यार्थीको भविष्य बनाउने सङ्कल्पका साथ अभिभावकत्व लिएर १२ कक्षासम्म निःशुल्क पढाउने वातावरण बनाइदिएको भन्दै खुसी व्यक्त गरे । समुदायमा बढ्दो लागूऔषध दुव्र्यसन नियन्त्रणका लागि सचेतनाका कार्यक्रम सञ्चालन गरेर केन्द्रले अनुकरणीय काम गरिरहेको निर्णय पुनस्थापना केन्द्रका व्यवस्थापक विष्णु वलीले बताए । केन्द्रकी कोषाध्यक्ष सुमित्रा गौतमको विषय प्रवेश एवम् स्वागतबाट सुरु भएको कार्यक्रमको सहजीकरण सदस्य पूजा योगीले गरेकी थिइन् ।