तुलसीपुर, ३ असार । तुलसीपुरमा थाकलको व्याग टोपी र चटकी बनाउने १५ दिने सीप विकास तालिम सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा वन उद्यम कार्यक्रम अन्तर्गत सामुदायिक वनका महिला पदाधिकारीहरुलाई १५ दिने सीप विकास तालिम दिएको हो ।
‘सिप सिकौ आत्मनिर्भन बनौं’ भन्ने मुल नाराका साथ स्थानीय वनमा सडेगलेर खेर जाने बस्तुको उपयोग गरि महिलाहरुको आयआर्जनमा टेवा पु¥याउने उद्देश्यले वन उद्यम शिलताको विकासका लागि तालिमको आयोजना गरिएको हो ।
तालिम समापनमा बोल्दै तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टिकाराम खड्काले सीपलाई आर्थिक उत्पादनसँग जोडन आग्रह गरेका थिए । उनले बाँच्न र बचाउनका लागि उद्यमसँग जोडिनुको विकल्प नभएको बताउदै सिकेको सीपलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । ‘धेरैले सीप सिक्छन् तर घरमा गएर बिसाउँछन् , सीप सिकेपछि परिवर्तन हुने काम गर्नुपर्छ’, खड्काले भने । सीप मात्रै सिक्ने कुराको अन्त्य गरेर परिवर्तनमुखी गर्नुपर्ने नगरप्रमुख खडकाको भनाई थियो ।
सो अवसरमा तुलसीपुर उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष देव बहादुर केसीले आर्थिक उत्पादन बिना समृद्ध तुलसीपुरको परिकल्पना गर्न नसकिने बताउँदै उत्पादित सामानको बजारीकरणका लागि वाणिज्य संघ सहयोग गर्न तयार रहेको बताए । वन वातावरण तथा विपत व्यवस्थापन समितिका संयोजक दुजमान भण्डारी वर्षातको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका –३ का वडा अध्यक्ष विरबहादुर बिक, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत, रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मी लगायतले बोलेका थिए ।
महिलाहरूलाई वन उद्यमसँग जोडेर आर्थिक रूपले सशक्तीकरण गर्ने उद्देश्यले १५ दिने तालिमको आयोजना गरिएको वन वातावरण तथा विपत व्यवस्थापन शाखा प्रमुख रमा खड्काले बताइन् । तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा भएको तालिममा ४० जना सामुदायिक वनका महिला पदाधिकारीहरूको सहभागिता रहेको थियो । तालिमको प्रशिक्षकमा कृष्ण चौधरी रहेकी थिइन् । तालिमका समापन कार्यक्रमको सहजिकरण तुलसीपुर उपमहानगरपालिका वन वातावरण तथा हरियाली प्रवद्र्धन शाखाका प्रमुख रमा खड्काले गरेकी थिइन् ।