गोरक्ष समाचारदाता
दाङ, ३ असार । आन्तरिक पर्यटकमार्फत् पर्यटन प्रवर्धन गर्ने उद्देश्यले पोखराका होटल व्यवसायी दाङ आएको छ । लुम्बिनी र गण्डकी प्रदेशको आन्तरिक पर्यटन प्रवर्धनको अभियान लिएर पोखराका होटल व्यवसायी कर्णाली पुगेका हुन् ।
‘जाउँ है पोखरा’ अभियान लिएर कर्णाली पुगेको टोलीले आन्तरिक पर्यटक नै दिगो पर्यटन विकास भन्ने मुल उद्देश्यले घुम्ने बानीको विकास गराउन अभियान लिएर पश्चिम नेपालको यात्रामा निस्किएको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । लुम्विनी र गण्डकी प्रदेशको पर्यटकीय सम्भावना केलाउँदै पर्यटकलाई अन्तरप्रदेश आवतजावतमा जोड्नका लागि अभियान गरिरहेका छौँ’, उनले भने, नेपालीको भ्रमण गर्ने सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।
विदेशी मात्र नभई स्वदेशी पनि पर्यटक हुन् भन्ने मान्यतालाई अनुसरण गर्दै पर्यटनका माध्यमबाट सातै प्रदेश जोड्ने हाम्रो उद्देश्य हो ।’ उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकीको प्रवर्धनमा जेठ २९ देखि आगामी असार २ गतेसम्म पश्चिम नेपालका बुटवल, नेपालगन्ज, सुर्खेत र दाङमा अभियान सञ्चालन गरिएकोे उनले बताए ।
गत वर्षको फागुनमा पूर्वी नेपालका विभिन्न सहरमा अभियान सम्पन्न गरिएको उनको भनाइ छ । यस क्षेत्रका पर्यटकलाई पोखरा भ्रमण गर्न निमन्त्रणा गर्ने, पोखराबाट पर्यटकलाई पश्चिम ल्याउने र पोखरा महानगरपालिकाले घोषणा गरेको पोखरा भ्रमण वर्ष २०२४ लाई सफल बनाउन यो अभियानले सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए । जिल्लामा आएको टोलीले घोराहीमा सरोकारवालासँग छलफल गरेको छ ।
कार्यक्रममा बोल्दै लुम्विनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानले पर्यटनको राम्रो सम्भावना रहेकाले यसको विकासमा लाग्नुपर्ने बताए । सरकारले पर्यटकीय क्षेत्रको विकास तथा पर्यटकलाई सहज आगमनका लागि सहज बनाउने प्रयास थालेको बताए । ‘विभिन्न नाममा पर्यटकलाई दुःख दिने गरिएको छ, यसलाई रोक्न हामी लागिपरेका छाँै’, मन्त्री न्यौपानेले भने ।
गण्डकी प्रदेश र लुम्बिनी प्रदेश सहकार्य गरेर अगाडि बढ्ने बताए । ‘पोखरा आएका पर्यटकलाई दाङसम्म आउने र दाङ आएका पर्यटकलाई पोखरासम्म पुग्ने वातावरण बनाउनु पर्दछ’, उनले भने । यसका लागि सहकार्य गरेर जानुपर्ने उनको भनाइ छ । पर्यटन क्षेत्रबाट आर्थिक विकास गर्न सकिने भएकाले यसको लागि निजी क्षेत्र र सरकार मिलेर जानु पर्ने उनले बताए ।
कार्यक्रममा बोल्ने वक्तले पर्यटन क्षेत्रको विकासमा सहकार्य गरिनुपर्ने बताएका थिए । पर्यटकीय क्षेत्रको रूपमा रहेका धार्मिक, सांस्कृति तथा प्राकृतिक सम्पदाकाबारे प्रचारप्रसार गर्नुपर्ने उनले बताए । कार्यक्रममा घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसी, दाङ जिल्ला उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नरेशकुमार श्रेष्ठ, दाङ देउखुरी होटेल व्यवसायी संघका अध्यक्ष दीपेन्द्र बुढा मगर, नेपाल पत्रकार महासंघ केन्द्रका निवर्तमान अध्यक्ष विपुल पोख्रेल, सचिव सविन प्रियासन, पर्यटक विज्ञ दीपेन्द्र पहारी, व्यवसायी किरण पोख्रेललगायतले भनाइ राखेका थिए । कार्यक्रमको सहजीकरण पार्वती पाण्डेले गरेकी थिइन् ।