एक हजार सेनेटरी प्याड हस्तान्तरण

गोरक्ष समाचारदाता
दाङ, ३ असार । लैङ्गिक हिंसा पुनःस्थापना केन्द्र घोराहीले उत्पादन गरेको सेनेटरी प्याड मेट लाइफ इन्स्योरेन्स कम्पनीलाई हस्तान्तरण गरिएको छ । नेपाल महिला सामुदायिक सेवा केन्द्रले प्रवर्धन गरेको लैङ्गिक हिंसा पुनःस्थापना केन्द्र घोराहीले उत्पादन गरेको एक हजार थान सेनेटरी प्याड मेट लाइफलाई हस्तान्तरण गरिएको हो ।

मेट लाईफसँगको सहकार्यमा केन्द्रले उत्पादन गरेको पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याडहरू एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको थियो । नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्षता एवम् मेट लाइफ इन्स्योरेन्सका सहायक कार्यकारी प्रमुख अरुण बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्नेतले किशोरीका प्रजनन् स्वास्थ्य सुधारमा सेनेटरी प्याडले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

उनले हिंसापीडित महिलाले उत्पादन गरेको सेनेटरी प्याड बजारीकरणमा सहज हुँदा उनीहरूको आम्दानीको स्रोत बलियो हुने र किशोरीको स्वास्थ्यमा सुधार हुने हुँदा दोहोरो रूपमा लाभदायक भएको बताए ।

‘हिंसापीडित महिलाले स्थापना गरेर सञ्चालन गरेको उद्योगले उत्पादन गरेको सेनेटरी प्याड उत्पादनका लागि मेटलाइफले सहकार्य गरेको हो’, उनले भने, ‘यसले उद्योगमा कार्यरत दिदीबहिनीलाई उर्जा मिल्नेछ भने किशोरीहरूलाई प्रदान गर्दा उनीहरूको प्रजनन् स्वास्थ्यमा पनि सहयोग पु¥याउनेछ । यो सहकार्य निरन्तर जारी रहने छ ।’

उनले देशका विभिन्न जिल्लाका ग्रामीण भेगका किशोरीहरूलाई प्याड वितरण गरिने बताए । कार्यक्रममा बोल्दै नेपाल महिला सामुदायिक सेवा केन्द्रका संस्थापक अध्यक्ष बिमला योगीले मेटलाइफसँगको सहकार्यले किशोरीहरूलाई स्वस्थ राख्ने अभियानमा सहयोग पुगेको बताइन् । संस्थाले प्रवर्धन गरेको हिंसा पुनःस्थापना केन्द्रले महिलालाई रोजगार सिर्जना गर्नुुका साथै केन्द्रले उत्पादन गरेको सेनेटरी प्याडले किशोरीको प्रजनन् स्वास्थ्य सुधारमा भूमिका निर्वाह गरिरहेको बताइन् ।

‘मेट लाइफको यो सहकार्यले हामीलाई थप उत्सहित बनाएको छ भने उद्योगमा आबद्ध बहिनीहरूलाई उर्जा थपेको छ ।’ कार्यक्रममा बैंका इन्सुरेन्स प्रमुख नविन मानन्धर, लुम्बिनी प्रदेश प्रमुख शशिधर पराजुली, बैंका इन्स्योरेन्स निराजन बुढाथोकीलगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण नमराज अधिकारीले गरेका थिए ।