विद्यार्थीका लागि करियर काउन्सिलिङ

गोरक्ष समाचारदाता
तुलसीपुर, ३ असार । गुरु जजुर नमुना माध्यमिक विद्यालय तुलसीपुर–४ रक्षाचौरले करियर काउन्सिलिङ कार्यक्रम सुरु गरेको छ । विद्यार्थीहरूलाई पेसागत मार्गदर्शनका लागि करियर काउन्सिलिङ कार्यक्रम सुरु गरिएको विद्यालयका प्रधानाध्यापक विष्णुकुमारी केसीले जानकारी दिइन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर खड्काको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका प्रमुख कार्यकारी अधिकृत केशवराज पार्धेको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि पार्धेले विद्यार्थीलाई सर्वप्रथम असल मानिस बन्नु पर्ने बताए ।

त्यसपछि मात्र कुन क्षेत्र आफ्नो रुचि छ सो क्षेत्र निर्धारण गर्नुपर्ने बताए । ‘पहिलो कुरा तपाईँहरू इमानदार र असल मानिस बन्छु भनेर अठोट लिनुस्, त्यसपछि अन्य पेसा व्यवसाय सञ्चालन गर्न लागनुहोस्’, पार्धेले भने । उनले निजामती सेवामै लाग्ने दबाब आफूमा नपारी इच्छा चाहना भएको क्षेत्रमा लाग्न विद्यार्थीलाई आग्रह गरे । ‘तपाईँहरूको यो उमेर जसले जे गरेको छ त्यही बन्छु भन्ने हो तर त्यो मात्र भएर पुग्दैन मैले के गर्न सक्छु, के गरेमा भविष्य सफल हुन्छ भन्नेतर्फ लाग्नुहोस्’, पार्धेले भने । पार्धेले धेरैले एउटाले जे ग¥यो त्यही गर्ने परिपाटी रहेको बताए ।

कार्यक्रममा प्रधानाध्यापक केसीले एसइई दिएपछि विद्याथीलाई के विषय बढ्ने भन्ने अन्योल्ता हुने भएकाले यो कार्यक्रम आयोजना गरेको बताइन् । उनले कक्षा १२ पास गरेर पछिल्लो समयमा विद्याथीहरू विभिन्न कारणले बिदेसिन बाध्य भएको बताउँदै नेपालमा पनि सम्भावना छन् भन्ने कुरा बुझाउन कार्यक्रम आयोजना गरिएको बताइन् । विद्यालयमा अध्ययनरत कक्षा ९, १० ११ र १२का विद्यार्थीलाई लोक सेवा, शिक्षा सेवा लगायत सेवा आयोगको तयारी कक्षासम्बन्धी विभिन्न क्षेत्रका विज्ञले प्रशिक्षण दिने कार्यक्रम रहेको केसीले जानकारी गराएकी थिइन् ।

कार्यक्रममा सहायक प्रधानाध्यापक प्रमोद न्यौपानेले पछिल्लो समयमा विद्यार्थी विभिन्न कारणले बिदेसिएको अवस्थमा नेपालमै बसेर पनि केही गर्न सकिन्छ भन्ने सकारामत्म सन्देश दिन कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने बताए । कार्यक्रममा रिपोट्र्स क्लब दाङका अध्यक्ष सरद रेग्मी, शिक्षक अभिभावक संघका अध्यक्ष लोमणि पन्थीलगायतले बोलेका थिए ।

कार्यक्रममा सरकारी सेवाको महत्वको विषयमा केशव पार्धे, लोकसेवा पाठ्क्रम, सूचना तथा प्रविधिको विषयमा तुलसीपुर उपमहानगरपालिका शिक्षा युवा तथा खेलुकुद महाशाखाका प्रमुख चक्र भण्डारी र शिक्षा सेवाको विषयमा शिक्षा अधिकृत मानबहादुर खड्काले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

बैङ्किङ सेवा, प्रहरी सेवा पाठ्यक्रम, आइक्यू, लोक सेवा प्रश्न मोडेल, विज्ञान प्रविधि र वातावरण, विश्वमा समसामयिक घटना, नेपालको संविधान, नेपालको इतिहास धर्म र संस्कृति, नेपाली सेना पाठ्यक्रम र प्रश्न मोडेलको विषयमा विभिन्न क्षेत्रका विज्ञले प्रशिक्षण दिनेछन् । कार्यक्रमको सहजीकरण गुरु जजुर माविका शिक्षक लेवेन्द्र केसीले गरेका थिए । कार्यक्रम ६ दिनसम्म सञ्चालन हुनेछ ।