प्रिया स्मृती गजमेर
देउखुरी, ३ असार । दिनहुँजसो ठाउँ–ठाउँमा भएका हिंसा र दुव्र्यवहारका घटना सुनेर आयुशालाई मनमा डर लाग्थ्यो । बाल जनता माध्यमिक विद्यालय वनगाउँ कक्षा ९ मा अध्ययनरत आयुशा चौधरी आफूमाथि, छरछिमेकमा यस्ता घटना भइहाले कसरी प्रतिकार गर्ने भन्ने अन्योलमा थिइन् । विद्यालयमा सञ्चालन भएको दुई दिने आत्मरक्षा तालिमले धेरै कुरा सिकएको बताइन् ।
सार्वजनिक सवारी साधनमा यात्रा गर्दा तथा एक्लै हिँडडुल गर्दा कसैले जबर्जस्ती गर्न खोजे त्यसबाट बच्ने तरिका सिक्न पाउँदा उनी खुसी छिन् । उनलाई अहिले भने त्यस्तो घटना आफूलाई प¥यो भने कसरी समाधान गर्ने भन्नेमा आत्मबल बढेको छ । विद्यालयमा प्रदान गरिएको आत्मरक्षा तालिमले उनलाई आत्मबल बढाएको बताइन् ।
‘सञ्चार माध्यममा दिनहुँ जस्तो किशोरीमाथि हुने विभिन्न दुव्र्यवहारका घटना सुन्ने गथ्र्यौँ, यस्ता घटना हाम्रो गाउँठाउँमा भयो भने के गर्ने, कसो गर्ने भन्ने अन्योलमा थियौँ’, चौधरीले भनिन्, ‘अहिले आत्मरक्षासम्बन्धी तालिम लिएसँगै समाधानका लागि के गर्ने भन्नेबारे जानकार भएका छौँ ।’
किशोरीमाथि हुने हिंसा, दुव्र्यवहार रोकथामका लागि किशोरीलाई आत्मरक्षा तालिम दिन थालेपछि आयुशाजस्तै अन्य किशोरीमा आत्मबल बढ्दै गएको छ । माध्यमिक विद्यालय फल्कापुरमा अध्ययनरत तमन्ना पौडेलले आफूमाथि दुव्र्यवहारको प्रतिकार तत्काल गर्नुपर्ने बताइन् । ‘पछाडिबाट कपाल तान्न खोजे, अगाडिबाट घाँटी समात्न खोजे, सार्वजनिक गाडीमा कसैले दुव्र्यवहार गर्न खोजे सबैले थाहा पाउने गरी बोलेर प्रतिकार गर्न सकिन्छ’, उनले भनिन्, ‘अरू ठाउँमा पनि त्यस्तो बेलामा अरू व्यक्तिको सहायता लिने, आफूलाई परेको समस्या सहयोग पाउने ठाउँमा अरूलाई भन्ने गर्दा धेरै समस्याबाट छुटकारा पाउन सकिन्छ ।’
बालजनता माध्यमिक विद्यालय वनगाउँ कक्षा ९ मा अध्ययनरत अर्की छात्रा उषा भण्डारीले पनि विद्यालयमा दुई दिनसम्म सञ्चालन भएको आत्मरक्षा तालिम लिइन् । आत्मरक्षाका उपाय सिक्न प्रतिकार गर्ने शैली जान्न प्रत्येक दिन बिहानै विद्यालयमा पुग्ने गरेको बताइन् ।
महिला तथा किशोरीमाथि अहिले पनि धेरै घटना हुने गरेकाले त्यसको अन्त्यका लागि तालिमले धेरै कुरा सिकाएको लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगीको भनाई छ । उनले भनिन्, ‘बालिका, किशोरीदेखि महिलामाथि हुने दुव्र्यवहारलाई अन्त्य गर्न आफूले सिकेर मात्र होइन् सिकेका कुरालाई अन्य साथीलाई सिकाउन सके राम्रो प्रभाव पर्छ ।’ किशोरीहरूमा आत्मरक्षाको सिप नहुँदा धेरै किशोरी र महिला विभिन्न लैङ्गिक हिंसामा पर्ने गरेकाले त्यसबाट जोगिन तालिमको आयोजना गरिएको बताइन् ।
विद्यालय उमेर समूहका किशोरीलाई सक्षम बनाउन तालिम सञ्चालन गरिएको लमही नगरपालिका–३ का वडाध्यक्ष मनोजकुमार चौधरीले बताए । महिला तथा किशोरीमाथि अझै पनि हाम्रो समाजमा धेरै घटना हुने गरेकाले त्यसको अन्त्यका लागि तालिमले धेरै कुरा सिकाएको माध्यमिक विद्यालय फल्कापुरकी शिक्षक विष्णुमाया बोहोरा र बाल जनता माध्यमिक विद्यालय वनगाउँकी शिक्षक रितु केसीको भनाइ छ ।
लमही नगरपालिकाको आर्थिक सहयोग र ग्लोबल मल्टी सेक्टर कन्सल्टेन्सीको प्राविधिक सहयोगमा किशोरीका लागि आत्मरक्षा तथा सचेतनामूलक कार्यक्रम आयोजना गरिएको हो । तालिमको प्रशिक्षकमा वसन्ती चौधरी र एलिशा खड्का रहेको ग्लोबल मल्टी सेक्टर कन्सल्टेन्सीका अध्यक्ष मनोज डिसीले बताए । किशोरीमाथि हुने हिंसा न्यूनीकरणका लागि लमही नगरपालिकाले १० वटा सामुदायिक विद्यालयमा किशोरी आत्मरक्षा तालिम सञ्चालन गरेको हो ।