शान्तिनगर गाउँपालिकाको भवन जुम्लेकुलामा बन्ने

गोरक्ष समाचारदाता
शान्तिनगर, २ असार । शान्तिनगर गाउँपालिकाको नयाँ प्रशासनिक भवन जुम्लेकुलामा बन्ने भएको छ । गाउँपालिकाको गाउँसभाले यसअघि नै चिराघाटबाट गाउँपालिकाको कार्यालय जुम्लेकुलामा सार्ने निर्णय गरे पनि केही स्थानीयले अदालतमा नसार्न मुद्दा दायर गरेपछि अदालतले पनि साविककै स्थानमा कार्यालय सञ्चालन गर्न आदेश दिएको थियो ।

गाउँपालिकाले पुनः यो विषयमा नेपाल सरकारको ध्यानाकर्षण गराएपछि जेठ २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले शान्तिनगर गाउँपालिकाको कार्यालय शान्तिनगर गाउँपालिका–४ चिराघाटबाट परिवर्तन गरी शान्तिनगर गाउँपालिका–४ जुम्लेकुला कायम गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को निर्णयसँगै शान्तिनगर गाउँपालिकालाई नयाँ प्रशासनिक भवन जुम्लेकुलामा निर्माण गर्ने बाटो खुलेको छ । मन्त्री परीषदको यो निर्णयपछि शान्तिनगरबासीले खुसी व्यक्त गरेका छन् । भौगोलिक रूपले पायक नपर्ने मात्र नभएर टेलिफोन सेवासमेत सहज नरहेको चिराघाटबाट कार्यालय सार्न स्थानीयबासीले धेरै अघिदेखि माग गर्दै आएका थिए । कार्यालय जुम्लेकुलामा सार्न पालिकाका सबै जनप्रतिनिधिको सहमतिसमेत थियो ।

हाल कायम भएको क्षेत्र पूरै गाउँपालिकाबासीलाई पायक पर्ने स्थान भएको पालिका अध्यक्ष प्रमोद बस्नेतले बताएका छन् । गाउँपालिकाले जुम्लेकुलामा पालिकाको प्रशासनिक भवन निर्माणका लागि अघिल्लै वर्ष जग्गा खरिदसमेत गरिसकेको छ । ‘अबको डेढ वर्षमा भवन निर्माण सम्पन्न गर्ने छौँ’, अध्यक्ष बस्नेतले भने ।

करिब तीन करोड रुपैयाँको लगानीमा नयाँ भवन निर्माण हुने बस्नेतले बताए । सो भवनमा पालिकाका सबै विषयगत शाखा रहने छन् । एउटै टेबुलबाट सबै सेवाग्राहीलाई सेवा दिइने अध्यक्ष बस्नेतले बताए । दुईतले भवन आधुनिक सूचना प्रविधिले उपयुक्त भवन हुनेछ ।