दाङ, ३२ जेठ । घोराही उपमहनगरपालिका–१६ मा निशुल्क स्वास्थ्य शिविर गरिएको छ । नेपाल विद्यार्थी संघ राप्ती इन्जिनियरिङ कलेज इकाइ समितिको आयोजनामा घोराही–१६ मा निःशुल्क स्वास्थ्य शिविर गरिएको हो ।
वडा कार्यालय परिसरमा आयोजना गरिएको शिविरमा स्थानीय एक सय ३० जनाले दन्त तथा छाला सम्बन्धी स्वास्थ्य सेवा प्राप्त गरेका छन् । नेविसंघ राप्ती इन्जिनियरिङ कलेजका इकाइ सभापति अमृत रावतको सभापतित्व एवं घोराही–१६ का वडा अध्यक्ष तारा डाँगीको प्रमुख आतिथ्यता एवं नेपाल विद्यार्थी संघ दाङका सभा पति कुलराज पोख्रेलको विशिष्ट आतिथ्यतामा शिविर भएको थियो ।

शिविरको उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले निशुल्क रुपमा आयोजना गरिएको शिविरले आर्थिकरुपमा विपन्न नागरिकहरुलाई महत्वपूर्ण स्वास्थ्य सेवा प्रदान गरेको भन्दै नेविसंघको प्रशंसा गरेका थिए । उद्घाटन कार्यक्रममा नेविसंघ घोराही नगर संयोजक विजय बिष्ट, डेन्टल सर्जन डा. रोजिना अधिकारीलगायतले मन्तव्य व्यक्त गर्दै समुदायमा स्वास्थ्य चेतना बढाउने र युवाको सामाजिक उत्तरदायित्व बनाउनका लागि आगामी दिनहरुमा समेत यस्ता कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । उपसभापति सविन्द्र शाहीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण अर्का उपसभापति दिलुनाथ योगीले गरेकी थिइन ।
निराशिज युथ फाउन्डेसनको सहकार्यमा भएको शिविरमा डेन्टल सर्जन डा. रोजिना अधिकारीको नेतृत्वको स्वास्थ्यकर्मीको टिमले स्थानीयलाई सेवा प्रदान गरेको थियो । शिविरमा नेविसंघ इकाइ उपसभापति आषिस लामिछाने, सदस्य मुस्कान गिरी, उपसभापति प्रशान्त श्रेष्ठ, सचिव सविन्द्र शाही, अम्बिकेश्वरी क्याम्पसका निवर्तमान स्ववियु सभापति रनबहादुर खड्का, ‘रुटिन अफ रुकुम’ का एडमिन नविन गौतमलगायतले सहभागीता रहेको थियो ।