Goraksha

National Daily

‘पार्टीलाई बलियो बनाउन जनतासँगै रहनु पर्दछ’

गोरक्ष समाचारदाता
दाङ, १ असार । नेपाली कांग्रेस घोराही उपमहानगरपालिका वडा नं १८ इकाई समितिको आयोजनामा मैत्री पूर्ण खेलकुद प्रतियोगिता तथा पिकनिक कार्यक्रम सम्पन्न भएको छ । आपसमा परिचयात्मक तथा भेटघाट गराउने उद्देश्यले खेलकुद तथा पिकनिक कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्ने वक्ताहरूले नेपाली कांग्रेसलाई बलियो बनाउन तल्लो तहबाट बलियो बनाएर अगाडि बढ्नु पर्ने बताएका थिए । आफ्नो व्यक्तिगत स्वार्थभन्दा पार्टीको लागि काम गर्नु पर्ने उनीहरूको भनाइ रहेको थियो । पार्टी बलियो बनाउन सधै जनताको साथमा रहनु पर्ने उनीहरूको भनाइ थियो । पार्टीलाई चलायमान गराउन यस प्रकारको कार्यले सहयोग पुग्ने बताएका थिए ।

उनीहरूले पार्टीभित्र एकता कायम गरेर अघि बढ्न सके निर्वाचनमा विजयी भइने भन्दै व्यक्तिगत इच्छा चाहना त्यागेर पार्टीको हितका लागि सबै लाग्नु पर्ने बताएका थिए । कार्यक्रम इकाई सभापती केशरबहादुर रावतको अध्यक्षतामा भएको थियो ।

कार्यक्रमको सहजीकरण इकाई सचिव धुव पौडेलले गरेका थिए । त्यस अवसरमा आयोजना गरिएको कुर्सी दौड प्रतियोगितामा शिवा पाण्डे विजयी भएकी थिइन् भने घैटाफोड प्रतियोगितामा ऋषिराम पाण्डे विजयी भएका थिए ।